माल्दिभ्सविरुद्ध पनि नेपालको विशाल जित - Chaitanya News
  • 2026-06-07
  • 05:12:06
  • शनिबार,जेठ २३, २०८३
  • माल्दिभ्सविरुद्ध पनि नेपालको विशाल जित

    माल्दिभ्सविरुद्ध पनि नेपालको विशाल जित

    चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेट खेलको आफ्नो दोस्रो खेलमा पनि नेपालले विशाल जित निकालेको छ । नेपालले माल्दिभ्सलाई १ सय ३८ रनको फराकिलो हार चखाएको हो । योसँगै नेपाल एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रन बनाएर अलआउट भयो ।

    खेलमा नेपालका अभिनाश बोहोरा हिरो बने । उनले ६ विकेट लिए । अविनाशले ३.४ ओभरमा मात्र ११ रन खर्चे ।यसैगरी गुल्सन झा, सोममाल कामी, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक÷एक विकेट लिए । नेपालका बलरले १० ओभर नसकिँदै माल्दिभ्सका ६ खेलाडीलाई पेभेलियन फर्काएका थिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ३ चौका र ३ छक्काको मद्दतले ५२ रन बनाए ।

    हार्डहिटर कुशल मल्लले आज पनि शानदार ब्याटिङ गरे । मात्र २० बलमा ४७ रन जोडेका उनी अर्धशतक जोड्न चुकेर नटआउट रहे । गुल्सन झाले २१ बलमा ३५ र कुशल भुर्तेलले १८ बलमा ३५ रन जोडेर टिमलाई सम्हाले ।

    विनोद भण्डारीले १५ बलमा १३ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । पहिलो बलमा छक्का हिर्काएका दीपेन्द्र दोस्रो बलमा आउट भएका थिए ।

    माल्दिभ्सका नाजवान इस्माइलले सर्वाधिक तीन विकेट लिए । नसीर नैल इस्माइल, मोहम्मद मिउवान र थोलाल मोहम्मद रायले समान एक÷एक विकेट लिए । पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनको विशाल अन्तरले हराउँदै कीर्तिमानी जित निकालेको थियो ।