टी–ट्वेन्टी क्रिकेटमा नेपालले बनायो विभिन्न कीर्तिमान - Chaitanya News
  • 2026-06-07
  • 03:38:58
  • शनिबार,जेठ २३, २०८३
  • टी–ट्वेन्टी क्रिकेटमा नेपालले बनायो विभिन्न कीर्तिमान

    टी–ट्वेन्टी क्रिकेटमा नेपालले बनायो विभिन्न कीर्तिमान

    चीनको हान्जाउमा जारी एशियाली खेलकुद प्रतियोगितामा नेपालले क्रिकेटमा आफ्नो पहिलो खेल निकै सम्झन लायकको बनाएको छ। विभिन्न विश्वकीर्तिमान बनाउँदै नेपालले प्रारम्भिक चरणको खेलबाट महत्त्वपूर्ण अङ्क बटुलेको छ।

    नेपालले बनाएका कीर्तिमान कस्ता?
    क्रिकेटमा निकै पुछारमा रहेको मङ्गोलियाविरुद्धको खेलमा नेपाली टोलीले तीन विकेट गुमाएर ३१४ रनको कीर्तिमान बनायो। एशियाली खेलकुदमा टी–ट्वेन्टी अर्थात् २० ओभर ढाँचाको क्रिकेट पनि समाविष्ट छ। बुधवारको खेलमा मङ्गोलियाले टस जितेर पहिले फील्डिङ रोजेको थियो। मैदानमा गएका नेपाली ब्याटरहरूले २० ओभरमा ३१४ रन बनाए। उक्त रन टी–ट्वेन्टी खेलमा नयाँ विश्वकीर्तिमान हो। ईएसपीएन क्रिकइन्फोका अनुसार यसअघि सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध अनि चेक रिपब्लिकले टर्कीविरुद्ध बनाएको समान २७८ रनको कीर्तिमान यसपालि नेपालले भङ्ग गरेको हो। नेपालले बनाएको सर्वाधिक रनको योगफल प्रतिओभर औसत १५.७० को रनरेटमा बनेको हो।

    ब्याटिङमा पनि कीर्तिमान
    नेपालका ब्याटर कुशल मल्लले अर्को विश्वकीर्तिमान बनाएका छन्। उनले ३४ बल खेलेर बनाएको शतक आफैँमा विश्वकीर्तिमान बनेको छ। ईएसपीएन क्रिकइन्फोका अनुसार यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रम शेखरले टी–२० अन्तर्राष्ट्रिय खेलमा ३५ बलमा शतक बनाएका थिए। पाँचौ ओभरमा ओपनर आशिफ शेख आउट भएपछि कुशल मल्ललाई तेस्रो नम्बरमा पठाइएको थियो।

    हान्झाउको जीज्याङ युनिभर्सिटी अफ टेक्नोलोजीमा मल्लले मैदान प्रवेश गरेसँगै आफ्नो आक्रामक शैली प्रदर्शन गरेका थिए। नेपालका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिङ्गापुर विरुद्ध ४९ बलमा अर्धशतक बनाएका थिए। टी–२० को कुनै पनि खेलमा सर्वाधिक छरितो शतक बनाउने कीर्तिमान दक्षिण अफ्रिकाका क्रिस गेलको नाममा छ। उनले आइपिएलको सन् २०१३ को संस्करणमा बेंगलोरबाट खेल्दै पुणे वारियर्स लाई ३० बलमै शतक प्रहार गरेका थिए। एकदिवसीय अन्तर्राष्ट्रियमा भने दक्षिण अफ्रिकाका एबी डि भिलियर्सले ३१ बलमा शतक बनाएर कीर्तिमान राखेका छन्। मल्लले कुल ५० बल खेलेर अविजित १३७ रन बनाए।

    छक्काको वर्षा
    मल्लको शतकपछि दीपेन्द्र सिंह ऐरीले टी–२० आईमा छरितो अर्धशतक बनाउने कीर्तिमान रचेर जीज्याङ युनिभर्सिटीको माहोललाई थप रोचक बनाएका हुन्। मल्लले विपक्षी बलरहरूलाई मजाले प्रहार गरिरहेका बेला अन्तिम समयमा मैदानमा आएका उनले छक्काको वर्षा नै गरिदिएका थिए। रोहित पौडेल (६१ रन) बनाएर आउट भएपछि मैदानमा आएका उनले मात्र १० बल खेल्ने मौका पाएका थिए। जसमा उनले ९ बलमा ८ छक्का र एउटा चौका ठोकेका हुन्। यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा थियो, जसले सन् २००७ मा इङ्ग्ल्यान्ड विरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए।

    ओडिआईमा सन् २०१५ मा दक्षिण अफ्रिकाका एबी डि भिलियर्सले वेस्टइन्डिज विरुद्ध १६ बलमा अर्धशतक हानेका थिए। यसअघि नेपालका ज्ञानेन्द्र मल्लले सन् २०१२ मा साउदी अरेविया विरुद्ध एसिसी इलिट ट्रफीमा १८ बलमा अर्धशतक प्रहार गरेका थिए।

    नेपाल विशाल अन्तरले विजयी
    विशाल लक्ष्य पाएर ब्याटिङ गर्न आएको मङ्गोलिया ४१ रनमै अलआउट भयो। त्यो भनेको नेपालले २७३ रनको अन्तरले खेल जितेको छ। मङ्गोलियाका केवल एक ब्याटरले मात्र दोहोरो अङ्कमा अर्थात् १० रन बनाउन सके। पाँच जना शून्यमा आउट भए भने तीन जना एक रनमा आउट भएका थिए।

    करन केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले २÷२ विकेट लिएका छन् भने सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको नाममा १÷१ विकेट रह्यो।

    एशियाली प्रतियोगितामा नेपाल कहाँ?
    पुरुष क्रिकेटतर्फ नेपाल, मङ्गोलिया र माल्दिभ्स समूह एमा छन्। समूह बीमा क्याम्बोडिया, हङ्कङ र जापान छन् भने समूह सीमा मलेशिया, सिङ्गापुर र थाईल्यान्ड छन्। विश्ववरीयतामा अग्रपङ्क्तिमा रहेका कारण भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान सोझै क्वार्टरफाइनल पुगेका छन्।

    नेपाल महिला क्रिकेटमा भने सहभागी छैन।