काठमाडौं– नेपालमा डेंगी संक्रमितको संख्या २९ हजारनजिक पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता हालसम्म २८ हजार ८०३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
डेंगीका कारण जुलाईयता १५ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै कोसी प्रदेशमा २१ हजार ५१७ जना संक्रमित भएका छन्।
यस्तै, वाग्मती प्रदेशमा चार हजार ३१५, मधेसमा ५६४, गण्डकीमा ९७५, लुम्बिनीमा ४८१, कर्णालीमा ७५ र सुदूरपश्चिम प्रदेशमा ८७६ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा ९५१ जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ।