हुम्ला– जिल्लाका दक्षिणी क्षेत्रका बाढीपहिरोपीडितलाई हेलिकोप्टरमार्फत राहत पुयाइएको छ। कर्णाली प्रदेश सरकारको सहयोगमा बाढीपीडितलाई वितरण गर्न सम्बन्धित गाउँपालिकामा राहत सामग्री पुयाइएको हो। ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले पहिरोपीडितलाई वितरण गर्न राहत सामग्री हेलिकोप्टरमार्फत ल्याइएको जानकारी दिए।
ताँजाकोट गाउँपालिकाले पहिरोले घर भत्किएकालाई स्थानीय स्तरमा त्रिपाल दिएर सहयोग गरेको छ। राहत सामग्रीमा त्रिपाल, भाँडाकुडा, खाद्यान्न र लत्ताकपडा रहेको जनाइएको छ। चङ्खेली र सर्केगार्ड गाउँपालिका–१ को नात्ता र ८ को राहदेव गाउँका पहिरोपीडितलाई वितरण गर्न हेलिकोप्टरबाटै राहत सामग्री ढुवानी गरिएको जनाइएको छ। पहिरोमा परी हुुम्लामा छ जनाको मृत्युु भएको थियो।