काठमाडौं- “नेपालका प्रथम वनस्पतिशास्त्री तथा वन सचिव प्रयागराज पाण्डे स्मृति कार्यक्रम” एक समारोहवीच सम्पन्न भएको छ।
वनस्पति विभाग र नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउण्डेशनद्वारा वनस्पति विभागमा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रमको वनस्पति विभागका निर्देशक डा. राजेन्द्र के.सी. र नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउण्डेशनका चार्टर पे्रसिडेण्ट तथा वनस्पति विभागका पूर्व महानिर्देशक मधुसुदन बिष्टले संयुक्त रुपमा स्व. पाण्डेको तस्वीरमा माल्यार्पण तथा पानसमा दियो वाली उद्घाटन गरेका थिए।
नेपालका विभिन्न क्षेत्रमा कार्यरत वनस्पतिविद्हरुले नेपालको वनस्पति क्षेत्रमा स्व. पाण्डेले पुर्याउनुभएको अमूल्य योगदानका वारे मुग्धकण्ठले प्रशंसा तथा स्मरण समेत गरे। सो कार्यक्रममा वनस्पति विभाग स्थापना भएदेखि हालसम्म सो विभागमा कार्यरत पूर्व महानिर्देशकहरुलाई सम्मान गरिनुका साथै उहांहरुबाट वनस्पतिविद् स्व. पाण्डेप्रति श्रद्धासुमन अर्पण गरिएको थियो।
कार्यक्रमका मुख्य अतिथि वन तथा वातावरण मन्त्रालयका सचिव डा. दिपक कुमार खरेलले नेपालको वानस्पतिक क्षेत्रको विकासमा स्व. पाण्डेले कोर्नुभएको मार्ग, खाका र प्रयोगहरुलाई अध्ययन र विश्लेषण गर्ने हो भनी उनलाई एक भविष्यद्रष्टा एवं मार्गदर्शकको रुपमा हामीले मात्र होइन, भविष्यका पिढींहरुका लागि समेत उहां वानस्पतिक प्रेरणाका स्रोतका रुपमा सवैको मानसपटलमा रहिरहने बताए।
समारोहमा सभापतिका आसनबाट वनस्पति विभागका महानिर्देशक डा. राजेन्द्र के.सी.ले नेपालको वानस्पतिक क्षेत्रको समष्टिगत विकासका लागि विभाग वानस्पतिक क्षेत्रमा काम गरिरहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्न तयार रहेको स्पष्ट पारे।
नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउण्डेशनका चार्टर पेसिडेण्ट तथा वनस्पति विभागका पूर्व निर्देशक मधुसुदन बिष्टले वि.स. २००२ मा नेपाल सरकारको वनस्पति फांटबाट सेवा प्रवेश गरी वि.सं. २०१६ मा वनस्पति विभागको स्थापना गरी सिनियर बोटानिष्ट नियुक्त हुनुभई नेपाल सरकारको प्रथम वन सचिवको पदभार ग्रहण गर्नुभएको बताए। स्व. पाण्डेकै पहलमा नेपालमा वनस्पति विभाग र वन मन्त्रालय समेत स्थापना भएको स्मरण गर्दै प्रयागराज पाण्डेको मुग्धकण्ठले जति प्रशंसा गरे पनि नपुग्ने तर केही वर्ष यता भने वनस्पति क्षेत्रको विकासलाई सरकारले कम प्राथमिकतामा राखेको समेत उहांको गुनासो थियो।
वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्टले प्रयागराज पाण्डे नेपालका प्रथम वनस्पतिविद् मात्र नरहेर वानस्पतिक ज्ञानको भण्डार हुनुहुन्थ्यो भन्ने कुरा वर्तमान पुस्तालाई चिनाउन सक्नु नै स्व. पाण्डेप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ भने।
सो कार्यक्रममा वनस्पति विभागका उपमहानिर्देशक मोहन देव जोशीले डेभलपमेण्ट अफ प्लाण्ट्स रिसोर्सेज : प्लान्ट्स फर प्रोस्पेरेटी विषयक कार्यपत्र र वनस्पति विभागका सुभाष खत्रीले प्रोग्रेस एण्ड अपडेट अफ फ्लोरा अफ नेपाल विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रयागराज पाण्डे फाउण्डेशनका वर्तमान अध्यक्ष तथा वनस्पति विभागका पूर्व निर्देशक हरिकृष्ण सैंजूले फाउण्डेशनको सात वर्षे कार्यनीति वारे चर्चा गरे।
कार्यक्रममा वनस्पति विभागका अधिकतम पूर्व महानिर्देशकहरुको उपस्थितिलाई दृष्टिगत गरी विभागले पूर्व महानिर्देशकहरुबाट वानस्पतिक क्षेत्रको विकासका लागि विभिन्न राय, सुझावहरु संकलन गरी कार्यान्वयनमा लैजाने उद्घोष समेत गरेको थियो।