लिबियाको बाढीमा नेपाली शान्ति सेनाको अवस्था कस्तो छ ? - Chaitanya News
  • 2026-11-21
  • 16:25:11
  • शनिबार,मंसिर ०६, २०८३
  • लिबियाको बाढीमा नेपाली शान्ति सेनाको अवस्था कस्तो छ ?

    लिबियाको बाढीमा नेपाली शान्ति सेनाको अवस्था कस्तो छ ?

     

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै २३५ नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

    घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब ११३ किलोमिटरको दूरीमा रहेकाले कुनै क्षति नभएको र सबै सुरक्षित रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार बाढीबाट हजारौँ बेपत्ता भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

    भारी वर्षापछि दुईवटा बाँध फुटेकाले तटीय शहर देर्नाको एक चौथाइ क्षेत्र बाढीले बगाएको छ । नेपाली जनता र सेनाका तर्फबाट बाढीपीडित जनतालाई सहयोगका लागि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकले केही औषधि र चिकित्सा सामग्री पठाएको छ । ती सामग्री संयुक्त राष्ट्रसङ्घ महासचिवका विशेष प्रतिनिधि र सहायक महासचिवमार्फत हस्तान्तरण गरिने छ ।

    बाढीबाट सडक सम्पर्कसमेत विच्छेद भएकाले हवाई अनुगमनबाट लिबियाको पूर्वी क्षेत्रमा भएको क्षतिको प्रारम्भिक अनुमान लिइएको हो । डानिएल नामक आँधीका कारण भएको वर्षापछि बाँध फुटेको र देर्नालगायत नजिकका सहरमा ठूलो क्षति भएको छ ।