डा. जीवन राना एक सक्षम महिला हुन्। राना थारु समुदायबाट उनी पहिलो पिएडी गर्ने महिला पनि हुन्। त्यतिमात्र नभएर उनी रेडियो नेपालका माध्यमबाट राना थारु भाषाला्ई देशव्यापी बनाउने पहिलो महिला हुन्। यसका साथै हाल उनी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य छिन्। हाल उनी सक्रिय राजनीतिमा छिन्। कांग्रेसबाट केन्द्रीय सदस्य बन्न सफल पनि उनी पहिलो व्यक्ति नै हुन्। उनको सफलता र संघर्षमा केन्द्रित रहेर चैतन्य खबरका लागि यज्ञराज जोशीले संवाद गरेका छन्।
जीवन राना आफ्नो समुदायबाट पहिलो पिएचडी गर्ने व्यक्ति, त्यो संघर्ष र सफलतालाई कसरी सम्झिनु हुन्छ?
मेरो पारिवारिक माहौल पहिलेदेखि नै शैक्षिक थियो। मेरा काका धनगढी उच्च माविमा शिक्षक हुनुहुन्थ्यो। घरमा पढ्नुपर्छ भन्ने चेतना थियो। राना समुदायका मानिसहरू कमै स्कुल जाने भए पनि मेरो ठूलो बुवाका छोरा-छोरीहरू स्कुल जानुहुन्थ्यो। तर, एसएलसी पास गर्न सक्नु भएको थिएन। म सानैदेखि दाजु-दिदीहरूको हात समातेर स्कुल जान्थे। आमा बुवाले पनि मलाई औधी माया गर्नुहुन्थ्यो। दिदीहरूसँग आमा पनि मलाई स्कुल पुगाउन जानुहुन्थ्यो। म सानैदेखि विद्यालय जाने भएकाले टिफिन टाइममा स्तन पानका लागि जानुहुन्थ्यो। मलाई त्यति धेरै माया गर्नुहुन्थ्यो आमाले। राना समुदायबाट नियमित एसएलसी पास गर्ने म पहिलो महिला हो। एसएलसी पास गरिसकेपछि मलाई नर्सिङ अध्ययन गर्न मन थियो। तर, सुदूरपश्चिममा कतै नर्सिङ कलेज थिएनन्। मैले काठमाडौं आउनु पर्ने भयो। मेरा बाआमाले काठमाडौं देख्नु भएको थिएन। तर, मेरो खुसीका खातिर उहाँहरूले मलाई काठमाडौं पठाउने निधो गर्नु भयो। उहाँहरूको ममाथि ठूलो विश्वास थियो।
नर्सिङ माघको महिनामात्र खुल्थ्यो। अरू विषय श्रावण महिनाबाट सुरु हुन्थ्यो। मैले साउनमा ल क्याम्पस, पद्मकन्या क्याम्पस, शिक्षा क्याम्पसमा इन्ट्रान्स दिए। तीनै ठाउँमा मेरो नाम निस्कियो। पिकेमा मानविकी संकायबाट अंग्रेजी विषय रोजेर अध्ययन गरे। म स्याङ्जाको एक जना दिदीसँग रुम पार्टनरका रूपमा बस्थे। उहाँले ल पढिराख्नु भएको थियो। उहाँले त्यत्रो १३ विषय पढ्नुपर्छ। त्यसैले भोली नर्सिङ पढ्ने मानिसले किन यति मिहिनेत गर्नुहुन्छ भनेपछि पिकेमा अंग्रेजी विषय लिएर अध्ययन गर्नुपर्यो भनेर मैले पद्मकन्या रोजेकी हुँ। पिकेमा पढ्दै गर्दा बिहे भयो। पिकेबाट प्रवीणता प्रमाणपत्र तह पास गरे। त्यसपछि पढ्न पाइन। छोराछोरी भए। श्रीमान् र आमाबुवाको एकदम धेरै सपोर्ट थियो। त्यसपछि म जागिर खान रेडियो नेपाल सुर्खेतमा पुगे। त्यहाँ जागिरसँगै स्नातक तहमा भर्ना भएँ र त्यहीबाट पास भएँ। द्वन्द्व कालमा निजी विद्यालय बन्द भए। बच्चाहरूको पढाइ बिग्रिने भयो भनेर जागिरबाट राजीनामा दिएर म कैलाली आएँ। मावि लेबलमा धनगढी उच्च माविमा पढाउने अवसर पाएँ। पछि प्लस्टुमा पनि पढाएँ। त्यही क्रममा मैले एजुकेसन प्लानिङ म्यानेजमेन्टमा मास्टर्स गरे। त्यसपछि पनि मेरो पढ्ने रहर पुगेन। मैले पिएचडी गर्दा मेरो समुदायका लागि प्रेरणाको स्रोत हुन्छु भन्ने लाग्यो। यता घरधन्दा थियो। विद्यालयमा अध्यापन गराउनु पनि थियो। छोराछोरीको रेखदेख थियो। यी कुराको व्यवस्थापन गर्दै मैले सोसियो कल्चर अफ राना थारु भनेर पिएचडी गरेँ।
त्यसपछि तपाईंको समुदाय तपाईंबाट कसरी प्रेरित भयो र त्यो सन्तुष्टिले तपाईंलाई कसरी पुलकित गरिरहेको छ?
पिएचडी गरिसकेपछि मलाई बेग्लै महसुस भइरहेको छ। किनकि शैक्षिक क्षेत्रका थुप्रै व्यक्ति, विज्ञहरू, नेपाल सरकारका विज्ञहरूले निकै प्रोत्साहन गर्नु भएको छ। जीवन राना सक्षम महिला हो भनेर सबैले हेरिरहनु भएको छ। आफ्नै समाजले पनि सम्मान गरेको छ। केही समय पहिले मधेस प्रदेशको इतिहास लेखनमा तपाईंयो योगदान हुनसक्छ भनेर उहाँहरूले पनि बोलाउनु भयो। मैले पेपर प्रजेन्ट गरे। एकदमै खुसी अनुभव भएको छ। राजनीति गर्न पनि सजिलो हुँदो रहेछ भन्ने लागेको छ। पढ्दा गाह्रो भए पनि पढिसकेपछि त्यसले दिने प्रतिफल एकदमै मिठो हुँदो रहेछ।
यहाँले रेडियो नेपालमा रानाथारु भाषाको समाचार पढ्नु भयो, लामो समय शिक्षण पेसामा पनि आबद्ध हुनुभयो, त्यसरी सक्रिय जीवन बिताइरहेकी जीवन रानामा राजनीति गर्नुपर्छ भन्ने भावना कसरी जागृत भयो?
मेरो परिवार डेमोक्र्याट हो। म कांग्रेसी पृष्ठभूमि भएको परिवारमा जन्मिएकी हुँ। सानैदेखि कांग्रेसको झण्डा, रुख चुनाव चिन्ह देखेकाले त्यसले मलाई प्रेरित गर्यो। गाउँमा कांग्रेसको कार्यक्रम हुँदा पनि मेरो घरमा खाना पाक्ने, खुवाउने गरिन्थ्यो। सानोमा हामी रुखको व्याज लगाउँथ्यौं। आमाहरूले कांग्रेसले दिएको रुखकै टिकुली लगाउनु हुन्थ्यो। म कक्षा ८ मा पढ्दा नै नेपाल विद्यार्थी संघको इकाई सचिव भएकी थिए। त्यसैले सानैदेखि कांग्रेसप्रति मेरो लगाव थियो।
आफ्ना अन्य कर्म छोडेर पार्टीको सक्रिय राजनीतिमा आबद्ध भएको कति भयो?
मैले २०६४ सालमा रेडियो नेपालको जागिर छोडेँ। त्यसपछि शिक्षण पेसामा आबद्ध भएँ। मैले रेडियो नेपालमा काम गर्दा २०५८ सालमा नेपाल प्रेस युनियनको सदस्यता लिएकी थिएँ। त्यसपछि २०६१/०६२ बाट शिक्षक संघमा आबद्ध भए। २०६४ सालदेखि त म प्रत्यक्ष चुनावका लागि टिकटको दाबी गर्दै आएकी छु। २०७३/०७४ बाट त कतै आबद्ध नभएर म पूर्णकालीन समय कांग्रेस राजनीतिमा नै बिताइरहेकी छु।
राना थारु समुदायबाट संघर्ष गर्दै प्रेरणादायी सफलता हासिल गरेको तपाईंको सफलतालाई पार्टीले कसरी महसुस गरेको छ?
राना थारु समुदायबाट अहिलेसम्म कांग्रेसको केन्द्रीय सदस्य कोही पनि हुनु भएको छैन। म पहिलो व्यक्ति हो, राना थारु समुदायबाट कांग्रेसको केन्द्रीय सदस्य भएकी छु। यो मेरो र मेरो कम्युनिटीका लागि ठूलो कुरा हो। त्यसैले म कांग्रेस पार्टीप्रति आभार व्यक्त गर्दछु। हाम्रो मिहिनेत,लगन र हामीले गरेको संघर्षको मूल्याङ्कन भएको छ। मलाई पार्टी २०७४ सालमा प्रदेश सभाको टिकट पनि दिएको हो। विविध कारणवस् थोरै मतले म पराजित भएँ। मलाई पार्टीले के दियो भन्नु भन्दा पनि मैले संगठन विस्तार गर्ने हो। मेरो लगन र इफोर्ट पार्टीमा निरन्तर लगाइरहेकी छु। पार्टीले दिएको जिम्मेवारी मैले कुशलतापूर्वक निर्वाह गरिरहेकी छु। मैले अहिलेसम्म पार्टीबाट कुनै लाभको पद लिएकी छैन। पार्टीले मूल्याङ्कन गर्नेमा म विश्वस्त छु।
नयाँ पार्टीको उदय र क्षेत्रीयता बोकेका राजनीतिक दल ठूला पार्टीका चुनौती बनेका छन्, यस्तो समयमा आफ्नो समुदायका मानिसलाई पार्टीमा कसरी आकर्षित गरिरहनु भएको छ?
जातीय र क्षेत्रीय पार्टी हिजो पनि खुलेका हुन्। यस्ता पार्टी परिस्थिति र समस्याले जन्माउँछ। डेमोक्रेसी सबैलाई चाहिने कुरा हो। लड्दै भिड्दै कांग्रेसले प्रजातन्त्र ल्याएको हो। परिस्थिति जन्य पार्टी र कांग्रेसमा फरक छ। युवाहरूले त्यो कुरा बुझ्नुपर्छ। प्रजातन्त्र ल्याउने, गणतन्त्र ल्याउने, शान्तिप्रक्रियामा देशलाई ल्याउने, द्वन्द्वलाई निरुत्साहित गर्ने काम कांग्रेसले गरेको हो। हामीले केही समस्या परिस्थितिका कारण सम्बोधन गर्न नसकेका हौसला। सबै समस्या एकै पटक समाधान हुँदैनन्। क्रमिक रूपमा कांग्रेसले सबै समस्याको हल गर्दै आएको छ। नयाँ पार्टी वा कुनै स्वार्थका लागि खुलेका पार्टीसँग के भिजन छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ।
कांग्रेसमा शुद्धिकरणमा कुरा उठ्ने गरेको सुनिन्छ, पार्टीमा कस्तो अशुद्धिकरण छ?
पार्टीभित्रका समस्याको शुद्धिकरण विधि र विधानले गर्ने हो। व्यक्तिले शुद्धिकरण गर्ने भनेर त हुँदैन। जस्तो युवाहरूको भावना पार्टीमा सम्बोधन भएको छैन भने त्यो सम्बोधन गर्नुपर्यो। विधानमा कहाँ-कहाँ निर महिलाको अधिकार, मुस्लिम, जनजाति, दलितको अधिकार हन्न भएको छ? ती विषयमा छलफल हुनुपर्छ। ती समस्या समाधान गर्न नीति अधिवेशन हुनुपर्छ। शुद्धिकरण भनेको नीतिमा परिवर्तन हो। हाम्रो विधानमा परिवर्तन हो। त्यसका लागि नीति अधिवेशन कुर्नुपर्छ। नीति अधिवेशन मंसिरको ११, १२ र १३ गते तय भएको छ। नीति अधिवेशन गर्दा देशभरका महासमिति सदस्यले दफावार छलफल गर्नुहुन्छ। नीतिमा शुद्धिकरण नहुँदासम्म समस्याको समाधान हुँदैन।