काठमाडौँ– एसिया कप क्रिकेटको आइतबार हुने भारतविरुद्धको खेलमा पाकिस्तानले टस जितेको छ भारतलाई ब्याटिङको निम्तो दिएको छ। पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको हो। पाकिस्तानको उक्त निर्णयपछि अब भारतले पहिले ब्याटिङ गर्ने।
खेल श्रीलंकाको राजधानी कोलम्बोस्थित आर। प्रेमादासा रंगशालामा खेलिने छ। खेल नेपाली समयअनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ। भारत र पाकिस्तानबीचको समूहगत चरणको खेल भने वर्षाका कारण रद्द भएको थियो।
आइतबारको खेलमा पनि वर्षाको सम्भावना ९० प्रतिशत रहेको बताइएको छ। तर, वर्षा सुरु भएको छैन। आइतबारको खेल वर्षाका कारण बिथोलिए एसियाली क्रिकेट काउन्सिलले उक्त खेल सोमबार पुनः खेलाइने बताएको छ।
हालसम्म भारत र पाकिस्तानबीच एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ। त्यसमध्ये ७३ खेलमा पाकिस्तानले भारतलाई हराएको छ। ५५ खेलमा भारत विजयी भएको छ। यी दुई राष्ट्रबीच खेलिएको पाँच खेल भने अनिणर्त रूपमा सकिएको छ।
घरेलु मैदानमा पाकिस्तानले १४ र भारतले ११ खेल जितेका छन्। यसैगरी भारतीय भूमिमा पाकिस्तानले १९ खेल जितेको छ भने पाकिस्तानी भूमिमा भारतले ११ खेल जितेको छ। यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा पाकिस्तानले ४० खेल जितेको छ भने भारतले ३३ खेलमा सफलता हात पारेको छ।