काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले क्रिकेटको पूर्वाधारमा लगानी गर्नुपर्ने बताएका छन। आज (बुधवार )त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
एसिया कप क्रिकेट खेलेर स्वदेश फर्किएपछि कप्तान पौडेलले अब हाई टाइम भइसकेकाले सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएका हुन्। उनले एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन नसकिने पनि बताए। भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको र नेपाली खेलाडीले धेरै कुरा सिकेको उनको भनाइ छ।
उनले भने, ‘भारत र पाकिस्तानसँग खेल्ने रहर पूरा भएको छ । सबैले राम्रो महसुस गरिरहेका छन्। यो वर्ष हाम्रा लागि राम्रो भयो। हामीले प्रशिक्षक, समर्थक सबैको साथ र सहयोग पायौँ। विश्वकै उत्कृष्ट बलरले बल फालिरहँदा हाम्रो तर्फबाट राम्रो खेल्दा पोजेटिभ फिल भइरहेको थियो। नयाँ अनुभव लिएका छौँ। अब हाई टाइम भइसक्यो, अब इन्फ्रास्ट्रक्चरमा लगानी गर्नुपर्छ। एउटै स्ट्रक्चरमा सबैले अभ्यास गरिरहनुपरेको छ। खेलाडीमा इन्भेस्ट गरेमा राम्रो हुन्छ।