काठमाडौँ–
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा माग्दै भन्सार विभागमा निवेदन दिएका छन् ।
विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहितका कर्मचारीले एकैसाथ सरुवा मागेका हुन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पनि कर्मचारीहरुले सरुवा माग्दै निवेदन दिएको पुष्टि गरे ।
६० किलो सुन पक्राउ प्रकरणपछि अनुसन्धान तथा छानबिनको बहानामा विना कारण दुःख दिने काम भएको भन्दै सामूहिक सरुवा मागेका हुन्।
घटनामा संलग्नलाई कारबाही गर्ने कुरामा आफ्नो दुई मत नरहेको भन्दै कर्तव्य पालनको सिलसिलामा खटिएका कर्मचारीमाथि अनावश्यक रूपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदैसमेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै कार्यालयमा आई काम गर्न मनोवैज्ञानिक त्रास उत्पन्न भएको उनीहरूको भनाई छ।