कालीकोटको सदरमुकाम मान्म बजारका ४५ घर मुनि पहिरो - Chaitanya News
  • 2026-04-24
  • 22:18:21
  • शुक्रबार,बैशाख ११, २०८३
  • कालीकोटको सदरमुकाम मान्म बजारका ४५ घर मुनि पहिरो

    कालीकोटको सदरमुकाम मान्म बजारका ४५ घर मुनि पहिरो

    कालीकोट– कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारका ४० घर मुनिबाट पहिरो बगेको छ। गत बुधबारबाट लगातार परेको पानीले मान्म बजारका ४० भन्दा बढी घर उच्च जोखिममा रहेका छन्। खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीलगायतका दश घर पहिरोको उच्च जोखिममा छन्।

    पाँच तला पक्की घरको मुनिबाट पहिरो बगेर घरको जगसम्म पुगेको छ। पहिरो बगेपछि घर खाली गरिएका छन् भने घर पनि चर्किएका छन। नगरप्रमुख शाहीले आफ्नो घरको भन्दा पनि टाँसिएर रहेका अरु नागरिकको घरको चिन्ता आफूलाई भएको बताए। आफ्नो घरको बिमा छ, केही सहज होला, तर अरु छिमेकीका घर पहिरोले एक दिन अवश्य लिने भएकाले स्थानान्तरणका लागि छलफल भइरहेको बताए।

    मान्मको मध्य बजारमा रहेका नौ घर एक मिटरसम्म जमिन मुनि भासिएका छन्।

    यस्तै, मान्म बजारकै नावगैराका १८ देखि २० घर बिस्तारै तललित सरिरहेका छन्। कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले तल बगिरहेकाले सबै घर भत्किने निश्चित भएको बताए।

    रेडियो नयाँ कर्णाली एफएम रहेको भवनसहित सितला शाही, दिपक शाहीलगायत चार घर पनि पहिरोको उच्च जोखिममा छन्। रेडियो नयाँ कर्णाली रहेको भवन पुरै चर्केको छ भने त्यसको कम्पाउण्ड बिस्तारै सरिरहेको छ।

    जिल्ला विपद व्यवस्थापन समितिले पनि मान्म बजार, रास्कोट नगरपालिका वडा नं १, ३ र ९ का वस्ती निकै जोखिममा रहेकाले अन्य ठाउँमा सार्ने विषयमा स्थानीय सरकारले समन्वय गर्नुपर्ने निर्णय गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पनि कुनै वस्ती जोखिममा रहेको खण्डमा स्थानान्तरण गर्ने अधिकार दिएको छ। हालसम्म कालीकोटको नरहरीनाथ गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा एक वस्ती सारेको भए पनि अन्य स्थानीय तहले जोखिम वस्ती सारेको छैन।