काठमाडौँ । प्राय वर्षातको समयमा आउने बाढी–पहिरोबाट निम्तिने विपत्ति र धनजनको क्षतिलाई लिएर हामी र सरकार पूर्वतयारीमा रहने गरेका छौँ । बर्खायाममा प्राकृतिक विपद मात्रै होइन, मानव स्वास्थ्यमा पनि विपद आउने गर्छ भन्ने कुरामा हामीले कति ख्याल गरिरहेका छौँ ? किनकि यही मौसममा सरुवा रोगहरू निम्तिने र फैलिने जोखिम बढी हुन्छ ।
सरुवा रोग सार्ने किटाणु यही समयमा सक्रिय हुने भएकाले महामारी निम्तिने जोखिम रहन्छ । वर्षातको समयमा पानी तथा खानेकुराहरु फोहोर हुने र हावामा ओस बढ्ने गर्छ । रोगबाहक झिंगा र लामखुट्टे लगायतलाई यही मौसम अनुकल हुन्छ । विभिन्न स्थानमा जम्ने फोहोर पानीका कारण झिंगा, लामखुट्टे, भुसुना तथा अन्य किटाणु मौलाउँछन्। सरुवा रोग फैलाउने यस्ता माध्यमहरू जति मौलाउँछन्, त्यति नै बढी रोग सार्ने क्षमतामा बढोत्तरी हुन्छ ।
वर्षायाममा झाडापखला, हैजा, टाइफाइड, भाइरल, जण्डिस, आउँ, निमोनियाँ, औलो, डेंगु, कालाजार, रुघाखोकी, पेटमा इन्फेक्सन, छालामा फंगस, आँखा पाक्ने जस्ता रोगको संक्रमण बढ्ने गर्छ । त्यसरी नै वर्षातको समयमा आउने बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले पनि सरुवा रोगको संक्रमण फैलाउने खतरा रहन्छ ।
बाढी–पहिरो गएको क्षेत्रमा शुद्ध पिउने पानीको समस्या हुन्छ । पानीको स्रोत दूषित हुनुका साथै खानेकुराको समेत समस्या हुने हुँदा ती प्रभावित क्षेत्रमा रोगहरू बढ्ने गर्छन् । त्यस्तो बेला प्रभावित क्षेत्रका मानिसहरु एकै ठाउँमा बस्नुपर्ने तथा फोहोर बढी हुने हुँदा सरुवा रोगको उत्पत्ति मात्रै होइन, फैलिने दर समेत बढी हुन्छ ।
गर्मी र वर्षातको समयमा हुने अधिकांश रोग खानपान र सरसफाइसँग जोडिन्छन् । व्यक्तिगत र पारिवारिक सावधानी नै रोगबाट जोगिने सबैभन्दा उत्तम उपाय हो । त्यसैले यस्तो बेला खानेपानीमा विशेष ध्यान दिनुपर्छ । सकेसम्म उमालेर वा शुद्धीकरणका विधि अपनाएर मात्रै पानी पिउने बानी बसाल्नुपर्छ । खाना पनि बाहिर खाँदा बासी, सडेगलेको पर्ने कुरामा विशेष ख्याल पु¥याउनुपर्छ ।