बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते !
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् !!
योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते”।।
स्वास्थ्य निरोगी, दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्नु उपयुक्त हुन्छ । मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानसिक समस्याहरू बढ्दै गएको छ । यतिमात्र होइन मानिसमा नसर्ने रोगको जोखिम पनि बढेको छ ।
त्यसैले हरेक मानिसलाई योगअभ्यास गर्नु अति आवश्यक छ । नियमित योगा गर्ने मानिसहरू खुसी र आन्नदित रहन्छन् । जसले गर्दा उनीहरूको जीवन साधारण र सुखमय हुन्छ ।
योग संस्कृत भाषा ‘युज’ बाट आएको हो जसको अर्थ ईश्वरसँग आत्माको मिलन हो। अर्थात् योगमा यति धेरै शक्ति छ कि यसले अमरत्व प्राप्त गर्न सक्छ । कतिपय मानिसहरूले योगलाई सरल सरल ठान्छन् । तर, यो त्योभन्दा धेरै हो । योग मुख्यतः एक आध्यात्मिक अनुशासन हो, जसमा जीवन शैलीको पूर्ण सार आत्मसात गरिएको छ ।
योग कला पनि हो, विज्ञान पनि हो । यो एक विज्ञान हो, किनकि यसले शरीर र दिमागलाई नियन्त्रण गर्ने व्यावहारिक तरिकाहरू प्रदान गर्दछ । गहिरो ध्यान सम्भव बनाउँछ । र, यो एक कला हो, जबसम्म यसलाई सहज र संवेदनशील रूपमा अभ्यास गरिएको छैन । यसले सतही परिणाम मात्र दिन्छ । योग विश्वासको प्रणाली मात्र होइन, यसले शरीर र मनको एकअर्कामा हुने प्रभावलाई ध्यानमा राखेर आपसी सद्भावमा ल्याउँछ ।
शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् ।
योगको प्रकार
योगको मूख्य चार प्रकार छन्– राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।
यसैगरी योगको आठ अंग छन् । यसैले पतन्जलीले यसलाई अष्टांग योग भनेका हुन् । यसबारे योगसूत्रमा पतन्जलीले उल्लेख गरेका छन् । यस आठ अंगमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि छन् ।
यमको अर्थ हो, अहिंसा, सत्य, अस्तेय, ब्रम्हाचर्य तथा अपरिग्रह । यम अर्थात जसको अनुष्ठानबाट मन वा इन्द्रिय अशुभबाट हटाएर शुभमा संलग्न हुन्छ ।
नियमको अर्थ हो, अनुशासित जीवनयापन । अर्थात सौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणिधान ।