हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ । जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन् । कुन मसला कुन रोगका लागि लाभदायी हुन्छ ? आउनुहोस् हामी ती औषधिको बारे केही जानकारी लिऔँ ।
लसुन
लसुनलाई खाना स्वादिष्ट बनाउने मसला मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव स्वास्थ्यका लागि धेरै लाभदायी गुण हुन्छन् लसुनसँग । एसिडिटीको समस्यामा यसको प्रयोग असाध्यै लाभदायी मानिन्छ । लसुनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ । यसले रगत प्रसारणमा नियन्त्रण गरेर कतिपय अवस्थामा मुटुका रोग लाग्नबाट समेत जोगाउँछ।पेटका रोग जस्तै डाइरियाका लागि यसको प्रयोग असाध्यै प्रभावकारी ठानिएको छ ।
मधुमेह र कति प्रकारका क्यान्सर समेत निको गर्न यसले मद्दत गर्छ । लसुन श्वासप्रश्वास प्रणालीका लागि पनि राम्रो हुन्छ। यसले टिबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ ।
खुर्सानी
खुर्सानीको प्रयोग बुझेर गर्दा यसले ओखतीकै काम गर्छ । बङ्गारा दुखेमा सफा सिलौटामा मसिनो गरी खुर्सानीमा पानी मिसाई पिँधेर कपडाछान गर्नुपर्छ । यदि वायाँ वङ्गारो दुखेको छ भने दाहिने कानमा यसको झोल हाल्नुपर्छ । यदि खुर्सानी पानीले पोल्यो भने अलिकति घ्यू मनतातो पारेर एक दुई थोपा कानमा हाल्दा सन्चो हुन्छ ।
स्वर बन्द भएमार गला बसेमा तीन वटा खुर्सानी एउटा कागती तीन मासा बदाम, तीन ग्राम मिश्री र बबुरको गुँद पिधनु र गोली बनाउनुएर दिनमा दुई(दुई पटक गोली मुखमा राखी चुस्नुपर्छ। बसेको स्वर खुल्छ ।
मृगौला शुल एउटा खुर्सानी पानीमा हाली खुव पिँधि चन्दन जस्तो भएपछि शुल भएको ठाउमा लेप लगाउनु, दुख्ने एकदम छोड्छ ।
ज्वानो
ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारी आदिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाइन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो। एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ ।
पेट दुखेमा ज्वानो पानी पकाएर थोरै नून मिसाई खान दिँदा पेट दुखेको कम हुन्छ । पेट फुलेमा भुटेको ज्वानो एक चम्चा र थोरै बीरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फूल्ने ठिक हुन्छ ।
पुदिना
पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो। पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ ।
आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ ।
अदुवा
आयुर्वेदिक चिकित्सा पद्धतिमा अदुवालाई महाऔषधिको नाम दिइएको छ । फिलिपिन्समा अदुवा चपायो भने दुष्टात्माहरु नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ । अठारौं शताब्दीतिर युरोपमा अदुवाले यौनशक्ति बढाउछ भनेर विश्वास गरिन्थ्यो । यसको प्रयोगले गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउने र तागत दिने हुनाले यसमा यौनशक्ति बढाउने क्षमता पनि रहेको हुन्छ भन्ने ठानिन्छ ।
अदुवामा पनि एक प्रकारको गन्धरहित तेल हुन्छ । त्यसैले अदुवा चपाएर राख्दा पनि मुखबाट कुनै गन्ध आउँदैन । अदुवालाई ताजा र सुकाएर प्रयोग गर्न सकिन्छ। सुकाएको अदुवालाई सुठो भनिन्छ । जाडोमा अदुवाको काँढा बनाएर खाने चलन छ । रुघाखोकी, घाटी दुख्दाको बेलामा अदुवाको टुक्रालाई सफा गरेर पोलेर मुखमा राखिराख्दा घाटीबाट हुने दुखाइ धेरै नै कम हुन्छ । गर्भावस्थाको सुरुसुरुको एक टुक्रा अदुवा मुखमा हालेर रस निलिरहँदा वाकवाकी हुने समस्या धेरै कम हुन्छ ।
अपच भएको बेलामा अदुवाको ससाना टुक्रालाई बिरेनूनसंग मिसाएर खानाले अपचको समस्या कम हुन्छ । अदुवाभित्रका केही तत्वहरुले कोलेस्टेरोल नामको बोसो घटाउन मद्दत गर्छ र मुटुको रोगबाट बचाउँछ । विदेशतिर जिन्जरओला भनेर अदुवाबाट निकालिएको रस बेचिन्छ ।
हींग
हींगलाई भगवानको खाना भनिन्छ । यसले खानाको स्वाद र सुगन्ध बढाउने मात्र नभई बिभिन्न रोगबाट पनि बचाउछ । यसले पाचनक्रिया मजबुत बनाउ । श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउछ । रोघाखोकी लाग्नबाट बचाउछ । तातो पानीमा राखेर हिंग खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ। पेट दुख्दा तातो पानीसंग हींग खाँदा दुखाई कम हुन्छ। दाँत दुखेमा हींग खाँदा राहत मिल्छ । दुखाई भएको ठाउमा हींगको लेप लगाउदा दुखाई कम हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउछ । दाद, लुतो भएको ठाउमा हिंगको लेप लगाउदा औषधिको काम गर्छ ।
गोलभेंडा
नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेंडा । पाकेको गोलभेंडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ ।
गोलभेंडाको इतिहास निकै पुरानो छ । गोलभेंडा गुलियो, अमिलो, पाचक, शक्तिबद्र्धक र रुचिबद्र्धक हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ । यसमा लौह तत्वको मात्र दूधभन्दा दुई गुणा र अंगुर, मौसम, तरबुजा तथा खरबुजाको तुलनामा बढी पाइन्छ। गोलभेंडामा क्याल्सियम, चुना, गन्धक, साइट्रिक एसिडलगायतका तत्व पाइन्छ । गोलभेंडा भिटामिनको भण्डार हुन्छ । गोलभेंडा सेवन गर्दा कब्जियतको समस्या समाधान हुन्छ, रक्त विकारबाट मुक्ति मिल्छ, सुख्खा, एक्जिमाजस्ता रोगमा रामबाण मानिन्छ ।