पाल्पामा ४५ घर पहिरोको उच्च जोखिममा - Chaitanya News
  • 2026-04-24
  • 15:26:46
  • शुक्रबार,बैशाख ११, २०८३
  • पाल्पामा ४५ घर पहिरोको उच्च जोखिममा

    पाल्पामा ४५ घर पहिरोको उच्च जोखिममा

    पाल्पा— पाल्पाको झिरुवासमा पहिरोले ४५ घर उच्च जोखिममा परेका छन्। निस्दी गाउँपालिका–३, झिरुवास क्याङरुङ्गको डाँडाथरको सिंगो बस्ती नै जोखिममा परेको स्थानीय किसान सारुले जानकारी दिए। शुक्रबारदेखि पहिरो खस्न सुरु गरेको र शनिबारसम्म पनि खस्ने क्रम जारी छ।

    निरन्तर पहिरो खस्न थालेपछि ४५ घर परिवार बसोबास गर्ने बस्ती नै जोखिममा परेको सारुले बताए। पहिरोसँगै बस्तीभन्दा तलको ढुङ्गानाबेसी–क्याङरुङ्ग–झिरुवास सडक खण्डको भाग खसेर घरहरु जोखिममा परेको स्थानीय तिलबहादुर सारुले बताए। पहिरोको डरले रातभर सुत्न नसकेको उनले बताए। बिहान ३ बजेदेखि डाँडै खस्न थालेको छ। वेग बहादुर पल्ली, रहविर पल्ली, मोतिराम बयम्बु, धनबहादुर बयम्बु , नरबहादुर सोती, देवराज सोती, तिलबहादुर सारु, किसान सारु लगायतको घर पूर्ण जोखिममा परेको छ।

    स्थानीयका अनुसार अहिले पहिरो खसेको स्थानमा गत वर्ष पनि सानो पहिरो खसेको थियोे। बस्तीको अन्य स्थानमा जमिन फाटेको हुनाले डाँडाथर टोल नै पूर्ण जोखिममा रहेको निस्दी–३ का वडाध्यक्ष नविन्द्र थापा सोतीले बताए। स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने र घरहरु खाली गर्ने कार्य भइरहेको छ। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले पहिरोले ४५ घर जोखिममा परेको जानकारी आएको बताए। प्रहरी उपरीक्षक जनक बहादुर शाहीको टोली पहिरो गएको स्थानमा पुगेको र तत्काल राहतका लागि पहल गर्ने उनले बताए। पन्तले सबै स्थानीय तहलाई ५० थान त्रिपाल पठाएकाले जोखिममा परेकाको व्यवस्थापन गर्न सहज हुने बताए।