एक दिनमा कति पनि पिउनुपर्छ भन्नेबारेमा मानिसहरूमा अनेक धारणा पाइन्छन्। पानी पिउने स्वस्थ बानीका बारेमा अनेक हल्ला पनि चलेका हुन्छन्। तिर्खा नलागे पनि समयतालिका बनाएर नियमित रूपमा पानी पिउनुपर्छ भन्नेहरू पनि छन्। समयतालिका बनाएर भन्दा पनि शरीरको आवश्यकताअनुसार स्वस्थ रहने गरी पानी पिउनुपर्छ।
पानी हाम्रो स्वास्थ्यको लागि राम्रो भए पनि कति पानी पिउने भन्ने कुरा हामीले गम्भीर रूपमा लिँदैनौं। कतिपय मानिसलाई पानी पिउन मन लाग्दैन। उनीहरूलाई पानी मीठो लाग्दैन। बरु तिनीहरू चिया, कफी, नरिवलको पानी र जुस पिउन रुचाउँछन्। यी पेय पदार्थले शरीरलाई चाहिने पानी उपलब्ध गराउने भए पनि यी शुद्ध पानीको विकल्प हुन सक्तैनन्।
पानीको काम
पानी शरीरको मुख्य रसायन र शरीरमा उत्पादन हुने विकारयुक्त पदार्थ निकाल्ने पदार्थ हो। पानीले शरीरका जोर्नी, तन्तु, मांसपेसीदेखि कोषहरूलाई रसिलो राख्छ र सजिलोसँग चल्न सहयोग गर्छ। पानीले शरीरको तापक्रम नियन्त्रण गर्छ, कब्जियत घटाउँछ, शारीरिक प्रक्रियालाई सही राख्न सयहोग गर्छ। पानीले खाना पचाउनसमेत सहयोग गर्छ।
एक दिनमा कति पिउने ?
स्वस्थ व्यक्तिले दिनमा दुई वा तीन लिटर पानी पिउनुपर्छ। एकजना वयस्क व्यक्तिले शरीरबाट दिनमा सरदर साँढे दुई लिटर पानी गुमाउँछ- पसिना, सास र दिसापिसाबबाट। यसरी शरीरबाट गुमेको पानी पूर्ति हुने गरी पानी पिउनुपर्छ।
भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्समा पोषणविज्ञ डा. अञ्जली मुखर्जीले लेखेअनुसार शरीरलाई चाहिने पानीको मात्रा शरीरको तौलमा भर पर्छ। शरीरको तौल किलोग्राममा जति छ, त्यसलाई ०.०३३ ले गुणन गर्दा जति आउँछ सरदर त्यति नै लिटर पानी पिउन उचित हुन्छ। शरीरको तौल ६० किलोग्राम छ भने (६०×०.०३३=१.९८ करिब २) प्रतिदिन २ लिटर जति पानी पिउनुपर्छ। त्यही हिसाबले तौल ५० किलो छ भने १.६५ लिटर र ८० किलो भएमा साँढे दुई लिटरभन्दा बढी पानी पिउनुपर्ने हुन्छ।
पश्चिमा मुलुकमा आठ औंस (करिब २४० मिलिलिटर) पानी अटाउने गिलासको आठ गिलास पानी (८ बाइ ८ को सूत्रअनुसार) दैनिक पिउनुपर्छ भन्ने लोकप्रिय विश्वास छ, त्यो सत्य होइन। पानीको आवश्यकता व्यक्तिपिच्छे फरक हुन सक्छ।
पानीको मात्रा जीवनशैलीमा पनि भर पर्छ। धेरै शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्ने र एसी भएको ठाउँमा काम गर्नेलाई दैनिक दुईदेखि २.५ लिटर पानी भए पुग्छ। शारीरिक श्रम पर्ने काम गर्ने सेल्सपर्सन जस्ता पेसामा भएकाहरूलाई भने तीन लिटरजति पानी जरुरत पर्छ।
मौसम (सिजन ) अनुसार पानीको मात्रा घटबढ गर्नुपर्छ। उदाहरणको लागि गर्मीको बेला पसिनाबाट शरीरको धेरै पानी गइरहेको हुन्छ। त्यसैले गर्मी महिनामा बढी र नियमित पानी खाइरहनुपर्छ। मधुमेह वा उक्त रक्तचाप नभएकाहरूले ग्लुकोज पानी र कागती पानी पनि खान सक्छन्। बिहान उठ्नेबित्तिकै सकेसम्म धेरै पानी पिउन राम्रो हुन्छ। बिहान सकेसम्म दुईदेखि चार गिलास पानी पिउन उचित हुन्छ।
शारीरिक ब्यायाम गर्ने, गर्मी मौसममा काम गर्ने र स्तनपान गराइरहेका आमाहरूले धेरै पानी पिउनुपर्छ। स्तनपान गराइरहेका आमाहरूले आफू र बच्चालाई स्वस्थ राख्न पनि प्रशस्त पानी पिउनुपर्छ।
शरीरलाई चाहिनेभन्दा बढी पानी पिउँदा मिर्गौला सुन्निने र शरीरलाई चाहिने खनिजहरूको घनत्व घटेर शरीरलाई नकारात्मक असर पर्न सक्छ। त्यसैले अनावश्यक रूपमा धेरै पानी पिइरहनु पनि उचित होइन।
बालबालिकालाई प्रोत्साहन
वयस्कभन्दा बालबालिकाका शरीरमा पानीको मात्रा कम हुने समस्या बढी हुन्छ। उनीहरूलाई वयस्कभन्दा शरीरको तौलको तुलनामा बढी पानीको जरुरत पर्छ। वयस्कहरूले धेरैजसो पिउने पानीको जोहो गरेका हुन्छन् तर बालबालिकाले सधैं त्यसो गर्न सक्तैनन्। पानी पिउनको लागि तिनीहरूले धेरैजसो अरूको सहयोग लिनुपर्छ। त्यही माथि, उनीहरूले शरीरमा पानीको मात्रा कम भएपछि देखिने शारीरिक लक्षणहरू सुरुमै थाहा पाउन सक्तैनन्। त्यसैले खेल खेल्दा र गर्मीयाममा उनीहरूको शरीरमा पानीको कमी अत्यधिक हुन सक्छ।
गुलियो र अन्य स्वादका पेय पदार्थबाट पानी प्राप्त हुने भए पनि उनीहरूलाई शुद्ध पानी मात्रै पिउन पनि प्रोत्साहित गर्नुपर्छ। बालबालिकालाई बिहानको खाजासँग र दिउँसो नियमितरूपमा पानी पिउन सम्झाइरहनुपर्छ। बालबालिकाले पानी, दूध, फलफूलका जुस आदि गरेर दिनको ६ देखि आठपटक पिउनुपर्छ। बारम्बार शुद्ध पानी पिउँदा बालबालिकाले स्वाद रुचाउन थाल्छन्। बालबालिकाका बाबुआमा र उनीहरूको हेरविचार गर्ने महत्वपूर्ण व्यक्तिहरूले उनीहरूलाई प्रशस्त पानी पिउन प्रोत्साहित गर्न सक्छन्।
सबैभन्दा राम्रो औषधी
निम्नलिखित कारणले हामीले दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्छ।तौल घटाउन : धेरै क्यालोरी हुने पेय पदार्थहरू (फलफूलको जुस, मादक पदार्थ र सफ्ट ड्रिंक्स) ले तौल बढाउँछन्। यसको साटो शुद्ध पानी पिउने हो भने हामीले लिने क्यालोरी घट्छ। पानीमा कत्ति पनि क्यालोरी हुँदैन, त्यसैले प्रशस्त पानी पिउँदा तौल घट्छ। खाना खानुअगाडि एक गिलासजति पानी पिउँदा भोक घट्छ र थोरै खाना खाइन्छ। यसले पनि तौल घटाउन मद्दत गर्छ।
शरीरलाई ऊर्जा : शरीरमा साधारणतया हुने पानीको मात्रामा पाँचदेखि सात प्रतिशत कमी भयो भने कमजोरी अनुभव हुन थालिहाल्छ, मांसपेसी कमजोर हुन र खुट्टा बाँउडिन सक्छन्। कहिलेकाहीं शरीरमा शक्ति कम भएको अनुभव भएमा पानी पिउन उचित हुन्छ।
कब्जियत : कब्जियत भएकाहरूलाई सबैभन्दा सजिलो र राम्रो उपचार नै पानी हो। बिहान उठ्नेबित्तिकै दुईदेखि चार गिलास पानी पिउनेहरूको कब्जियतको समस्या हटेर गएको पाइएको छ। मुत्रनलीको संक्रमण (युरीनरी ट्र्याक्ट इन्फेक्सन) : दिनमा दुईदेखि तीन लिटर पानी पिउनेहरूलाई मुत्रनलीको संक्रमण हुने सम्भावना एकदमै कम हुन्छ। संक्रमण भइसकेकाहरूले पनि पानीको मात्रा बढाए भने तिनीहरूलाई पुन: संक्रमण हुने सम्भावना घट्छ।
मिर्गौलाको पत्थरी : मिर्गौलाको पत्थरीको लागि पानी पिउनु सबैभन्दा राम्रो उपचार विधि हो। पत्थरीको वंशाणुगत इतिहास भएकाहरूले दैनिक तीनदेखि चार लिटर पानी पिउने हो भने त्यस्तो रोगको सम्भावना कम हुन्छ।
टाउको दुखाइ : प्रशस्त पानी नपिउनेहरूलाई टाउको दुखिरहने समस्या हुन्छ। शारीरिक प्रक्रियाका ‘बाई प्रोडक्ट’ र शरीरलाई नराम्रो असर पार्ने विषाक्त पदार्थ (टक्सिन) लाई पानीले बगाइदिन्छ। स्वस्थ छाला : प्रशस्त पानी पिउँदा छालामा बेग्लै र प्राकृतिक चमक आउँछ। किनकि पानीले शारीरिक प्रणालीबाट उत्पादन हुने शरीरलाई विकार गर्ने पदार्थहरू बगाइदिन्छ।
जलवियोजनका संकेत
शरीरमा पानीको कमी (जलवियोजन) शरीरमा विभिन्न किसिमका संकेत देखिन्छन्। मुख सुख्खा हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, दुविधा उत्पन्न हुने, निरन्तर थकाइ र आलस्य हुने हुन्छ। जब शरीरबाट पाँच प्रतिशतजति पानी गुम्छ – तिर्खा लाग्छ, त्यत्तिकै थकाइ र अल्छी लाग्छ, चिढचिढाहट बढ्छ, पिसाब बढी पहेंलो हुँदै जान्छ। पिसाबको रङ शरीरमा पानीको मात्राको सबैभन्दा राम्रो सूचक हो।
धेरै समय शरीरबाट पानीको मात्रा घट्दै जाँदा कब्जियत बढ्छ, छाला सुख्खा हुने र चिलाउने हुन्छ, नाकबाट रक्तस्राब हुन थाल्छ, मुत्रनलीमा इन्फेक्सन हुन सक्छ र टाउको दुख्न सक्छ। अति नै पानी कम हुँदा पिसाब नलाग्ने, उल्टी हुने, नाडी कमजोर हुने हुन्छ। यी संकेतलाई बेवास्ता गर्ने हो भने जीवनलाई नै खतरा हुन सक्छ।
बानी कसरी बनाउने ?
घर, कार्यालय, कार आदि ठाउँमा पानीको बोतलनजिकै र सजिलै पुग्न सकिने ठाउँमा राख्नुपर्छ। पानी पिउनुलाई रमाइलो क्रियाकलापको रूपमा लिने गर्नुपर्छ। शुद्ध पानीका साथसाथै कागती, ग्लुकोज मिसाएर पनि पिउन सकिन्छ।
स्तनपान गराइरहेका आमाहरूले शरीरलाई पुग्ने खानेपानीको जोहो गरिराख्नुपर्छ। परिवारका सदस्यहरूलाई पनि प्रशस्त पानी पिउन प्रोत्साहित गर्नुपर्छ। घरमा बाबुआमा र परिवारका अन्य वयस्क सदस्यले प्रशस्त पानी पिउने उदाहरण बालबालिकालाई देखाउनुपर्छ।
– एजेन्सीको सहयोगमा