चितवन – चितवनको केराबारीमा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड बन्द भएको छ। केही बेरअघि पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ।
यस सडक खण्डमा लगातार पहिरो खसिरहेकाले पहिरो पूर्णरूपमा पन्छाउन समस्या भइरहेको छ। पहिरो हटाएर गाडी सञ्चालनमा ल्याउने गरेको भए पनि फेरि अर्को ठाउँमा पहिरो खसेर सडक बन्द हुने गरेको छ।
लगातारको वर्षाका कारण पहिरो खस्दा केही राष्ट्रिय राजमार्ग र विभिन्न जिल्लाका ग्रामीण सडकहरू बन्द भएका छन्। राष्ट्रिय सडक र राजमार्गहरूमा भएको अवरोध केही समयमा हटाउने गरेको भए पनि ग्रामीण तथा शाखा सडकहरू बन्द रहेका छन्।