मनाङमा असोजमै हिमपात, सतर्कता अपनाउन प्रशासनको अनुरोध - Chaitanya News
  • 2026-04-24
  • 13:41:11
  • शुक्रबार,बैशाख ११, २०८३
  • मनाङमा असोजमै हिमपात, सतर्कता अपनाउन प्रशासनको अनुरोध

    मनाङमा असोजमै हिमपात, सतर्कता अपनाउन प्रशासनको अनुरोध

    लमजुङ — हिमाली जिल्ला मनाङमा असोजमै हिमपात भएको छ। केही दिनको अविरल वर्षासँगै हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको स्थानीयले बताएका छन्।

    मनाङ गाउँस्थित तिलिचो होटलका सञ्चालक ६१ वर्षीय कर्म गुरुङले यसअघि असोज पहिलो साता नै हिउँ परेको थाहा नपाएको बताए। ‘हिउँ २ इन्च जति जमेको छ। हामी पनि बाहिर निस्केका छैनौं। पर्यटकलाई पनि बाहिर ननिस्कन आग्रह गरेका छौं‚’ उनले भने। उनका अनुसार वेदर फोरकास्टले शनिबारसम्म हिउँ देखाएको छ। उनका अनुसार यसअघि २०७१ मा असोज तेस्रो साता हिमआँधी (हुदहुद) आएका कारण धनजनमा क्षति पुर्‍याएको थियो।

    मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बुधबार रातिदेखि मनाङमा हिमपात भएको बताए। ‘बिहान त हिउँमात्रै परेको थियो। अहिले हिउँ र पानी दुवै परिहेको छ‚’ उनले भने। उनका अनुसार हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ चिसो बढेको छ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार हिउँ परेपछि पर्यटक रोकिएका छन्। मनाङ गाउँमा मात्रै ६० जनाको हाराहारीमा विदेशी पर्यटक रहेको उनले बताए। उनका अनुसार थोराङ्ला पास (५,४१६ मि.) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेसक्याम्प), हाइक्याम्पलगायत ठाउँमा डेढ सय पर्यटक रहेको अनुमान छ। तिलिचो ताल (४,९१९ मि.) तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतमा पनि पर्यटक रहेको अनुमान छ । ‘पर्यटकलाई जहााको होटलमा बसेको हो, त्यहीं बस्न र यात्रा अघि नबढाउन भनेका छौं‚’ उनले भने। उनका अनुसार सन् २०१४ अक्टोबर तेस्रो साता हिमआँधी आएर पर्यटकको मृत्यु भएको थियो।

    मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नार्पाभूमि गाउँपालिकाको मेता (३,५६० मि.) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे (३,३०० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ। सदरमुकाम चामेदेखिको देखिन डाँडाकाँडामा पनि हिमपात भएको छ। उनले एक सूचना जारी गरी हिमपात र बाढीपहिरोबाट जोगिन आग्रह गरेका छन्।