काठमाडौं– सोमबार रातिदेखिको अविरल वर्षाले हिन्दुधर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड दशैंको माहौल बिथोलिएको छ। दक्षिण–पश्चिम बंगालको खाडीमा उत्पन्न न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा भएको छ। वर्षाले दशैंका मुख्य दिनहरु महाष्टमी, महानवमी र विजया दशमी हिलाम्मे भएका हुन्।
हिजोदेखि प्रदेश १, मधेश, गण्डकी, लुम्बिनीलगायत प्रदेशमा साउनमा झैँ पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजो दिउँसोदेखि झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुंगा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठानलगायत जिल्लामा मुसलधारे वर्षा भइरहेको छ।
ठूलो वर्षाको कारण सो क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने चेतावन दिँदै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। लगातारको वर्षा पर्सिं शनिबारसम्म हुने अनुमान गरिएको छ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरोलगायत प्राकृतिक जोखिम उत्पन्न भएमा स्थानीय सरकार, प्रहरी प्रशासन वा गृहमन्त्रालयमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ।