तिम्रा यादहरू नै काफि छन् मेरा लागि
भक्कानो फुटाएर रुन,
खित्का छोडेर हाँस्न
जीवन भोगाइका हरेक हरेक
मोड र घुम्तीहरूमा उत्पन्न हुने
संवेग र उत्कण्ठाहरू मेट्नलाई!
तिम्रा यादहरू नै काफि छन् मेरा लागि!
हामी यात्राको जुन घुम्तीमा भेटियौं
त्यहाँबाट छुटाउने दोबाटो नजिक रहेछ!
छुट्टियौं कसरी छुट्टियौं समयलाई थाहा हुनुपर्छ
उद्देश्यमूलक लामो यात्रा गर्ने अठोट लिएर
हातमा हात काँधमा काँध मिलाएर
क्षितिज पारि पुग्न तय गरेको
हाम्रो विमान उड्न सकेन
हाम्रो अठोटको स्तम्भ ढल्यो,
ढलेन मात्रै चकनाचुर बन्यो!
हामी अलग्गियौं,छुट्टियौं क्षणभरलाई होइन
जीवनभरलाई होइन सृष्टि रहुञ्जेलसम्म
भौतिक रूपमा कहिल्यै नभेटिनेगरी!
हामी अनभिज्ञ थियौं,
वरिपरि बेजोड सङ्ग चल्दैगरेको
क्रूर र निर्दयी दुश्चक्ररुपी
हुरीको झोक्का सङ्ग!
हाम्रा जराहरू उखेल्ने दुश्साहस सङ्ग
मन मुटु,भावना र प्रतिबद्धता साथ साथै
आपसमा जोडिएर हिँडिरहेका हामीलाई के थाहा
पलभरमै छुट्दैछौं भनेर!
जब उचाइको बिन्दु छुन दुई चार सिढी चढ्दै थियौं
एक्कासी तिमी गर्ल्याम्म ढल्यौ!
तिमी ढल्यौ,मेरो आश्थाको धरोहर ढल्यो!
मेरो लागि आपट्टेमा गर्मी छेल्ने सदाबहार
वृक्ष थियौं तिमी!
वर्षातको निर्दयी झोक्का
तर्काउने ओत थियौं तिमी!
आफ्नै आँखा सामू ऐय्यासम्म पनि भन्न नपाई
जब तिमी जमिनमा बजारियौ…
मेरो शीरमाथि बज्र खस्यो,भाग्यमा चट्याङ पर्यो
सपनाहरूमा डढेलो लाग्यो!
सोचहरूमा तुषारापात भयो!
उज्यालो संसार क्षणभरमै कहिल्यै नछिचोलिने
कहालीलाग्दो दु:खको गर्तमा फस्यो!
हामी जसरी उद्धेश्य र भावनमा
एकाकार भएका थियौं
प्राप्तिका लागि मुटु जोडेका थियौं,
साझा सपना बाँडेका थियौ
सबै सबै उडे बिलाए,खरानी बने!
हामीले एकसाथ भावना र सोचको छिनोले
कडा चट्टानको छातिमा खोपेका
कालाजयी सपनाहरू
अब कहिल्यै बिपना नबन्ने भए!
किनकि तिनीहरू तिमी सङ्गै ढले
कहिल्यै नउठ्नेगरि,कहिल्यै नब्युँझिनेगरि!
ममाथि आकाश खस्यो,धर्ती भासियो
मन फाट्यो,मुटु च्यातियो!
ग्रहण लाग्यो भाग्य,भबिश्य र कर्ममा!
अब हामी कहिल्यै एकसाथ नभेटिने भयौ
तिमी छातिमा हात राखेर
एक चिम्टी माटोको टीका लगाउदै
मुसुक्क हाँसेर फुसुक्क बिलायौ,
वायुमण्डलमा!
म भौतिकरुपमा जिवित भएँछु
धर्तीमै छोडिएँ!
तिमी एकमुठ्ठी माटोको भागिदार भयौ
म प्रश्नै प्रश्नको परिबन्ध भित्र
जिउँनुको अर्थ खोजिरहें!
मैले तिमीसङ्गका यिनै अपुरा र निष्प्राण
अठोटहरूमाझ भुमरीको चपेटामा पर्दै
एउटा सिङ्गो युग बिताएँ!
तिमी सङ्गका यादहरूले मलाई यतिसम्म
अचेत बनाएकि,म जड झैं बनेछु!
यी सारा परिवेशहरू सङ्ग मुकाबिल्ला गर्दागर्दै
यादहरूको बिम्ब बनेछ
प्रतिमुर्ति बनेछ!
जहाँ भावनात्मक रुपमा
तिमी उठेर मुसुक्क हाँस्दै ठिङ्ग उभिदियौ
यतिबेला मैले दुनियाँ जितेंको
खुसियाली मनाएँ,
एउटा सिङ्गो युग बितेपछि
म तिमीसङ्ग मिल्न पाएँ!
यसैले त फेरिपनि भन्छु:
तिम्रा यादहरू नै काफि छन् मेरा लागि
भक्कानो फुटाएर रुन,
खित्का छोडेर हाँस्न
जीवनरुपी यात्रामा उत्पन्न हुने
सारा संवेग र उत्कण्ठाहरू मेटाउँन!