‘ध्यानमूलं गुरुर्मूर्तिः पूजामूलं गुरूर्पदम्।
मन्त्रमूलं गुरुर्वाक्यं मोक्षमूलं गुरुर्कृपा।।’
अर्थात्- ध्यानको मूल गुरुको प्रतिमा हो, पूजाको मूल गुरुको चरण हो, मन्त्रको मूल गुरुको वाणी हो, साथै मोक्षको मूल गुरुकृपा हो।
मानिसको जन्म नै गुरुबाट निर्देशित हुने हो। अन्य प्राणीका बच्चाहरू जन्मिएपछि आफ्नो जीवनचर्या प्रकृतिबाट आफै सिक्छन् तर मानिसको बच्चा जन्मिने बित्तिकै रुन्छ। त्यसबाहेक खान पनि सिकेर नै जान्दछ। रुन र अन्य प्राणीको जस्तै मलमूत्र त्याग्न उसले गुरुबाट सिक्नु पर्दैन। जसबाट जुन कुराको शिक्षा लिइयो त्यस विषयका गुरु उनै हुन्। गुरुद्वारा नै वास्तविक ज्ञानको रहस्य जान्न सकिन्छ। त्यसैले गुरु गोरखनाथ भन्नुहुन्छ-
‘सुणौ हो नरवै सुधि बुधि का विचार, पंच तत ले उतपनां सकल संसार।१।
पहलै आरम्भ घट पर्चा करौ निसपति, नरवै बोध कथंत श्रीगोरषजती।।२।।’
अर्थात्- हे मानिसहरू, सुन र सुझबुझ लगाएर विचार गर। यो संसार पञ्चतत्वले उत्पन्न भएको छ। पहिले आफ्नै शरीरलाई चिन, परीक्षण गर र बुझेको कुरा मात्र गर भनेर श्रीगोरखनाथले भन्नुभएको छ।
सारा संसार पञ्चतत्त्व (आकाश, वायु, अग्नि, जल र पृथ्वी)ले उत्पन्न भएको छ। यही सुन्नु, जान्नु, बुझ्नु नै ठूलो बुझाइ हो। बुद्धि छ, विचार छ तर बुद्धिशुद्धि छैन भने काम लाग्दैन। सुनौँ, जानौँ, राम्रोसँग विचार गरौँ, चिन्तन गरौँ, मनन गरौँ, यो पञ्चतत्त्वले बनेको संसार हो। सारा सृष्टि, जीवजन्तु, वनजङ्गल आदि हामी सबै यही तत्त्वले बनेका छौँ भने किन एकअर्कालाई मार्ने? किन भेदभाव, घृणा, तिरस्कार, अपमान गर्ने ? हामीले सबैलाई दया, प्रेम, सद्भाव, सहृदयी व्यवहार गर्नुपर्दछ। (The whole world Has combination of five elements. Space, Air, Fire, Water And Earth) हामी अब द्वन्द्वात्मक भौतिकवाद, घृणावाद, कित्ताकाट गर्ने सोचको पछि होइन, समन्वय अध्यात्मवादतर्फ लाग्नुपर्दछ। ‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात् विश्वलाई आर्य बनाउँदै अघि बढ्ने मार्गमा अग्रसर बन्नुपर्दछ।
वैदिक अर्थतन्त्र, आधुनिक गुरुकुल शिक्षा पद्धति, आयुर्वेदिक स्वास्थ्यनीति, सनातन संस्कृतिनीति, आदर्श शासनपद्धति, गोरक्षाप्रणालीको नीतिलाई मध्यनजर गरेर सुखमय यात्रामा लागौँ। पञ्चतत्त्वलाई सद्गुरुको माध्यमबाट नजिकबाट बुझौँ। सरल रूपमा भन्ने हो भने पृथ्वीलाई आमा र आफूलाई सन्तान मानेर दया, करुणा र प्रेमभावले जीवन अघि बढाऔँ। वेदान्तले भन्छ- हाम्रो शरीर पाँच प्रकारका अन्नमयकोष, प्राणमयकोष, मनोमयकोष, विज्ञानमयकोष र आनन्दमयकोषले बनेको छ। हामी सबैमा यस्तै प्रकारको कोष छ भने किन भाषा, जाति, क्षेत्र, सम्प्रदाय, राष्ट्रको नाममा लड्ने ? सबैले सबैको अस्तित्व स्वीकार गरौँ। हामी सबैको उपस्थितिले यस संसारमा विशेष महत्त्व राख्दछ, मिलेर अघि बढौँ। इतिहास हेरौं, कति भाषा, जाति लोप भए। धर्म, जाति, सभ्यता, भाषा, रङ्ग आदिको नाममा करोडौंको हत्या हिंसा भए; आज पनि भइरहेको छ। आफूलाई बुझेर, सबैको मौलिकता स्वीकार गरेर बुद्धि- शुद्धि पुर्याएर ‘वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः’ को नारा लिएर अघि बढौँ। मानव भएर मानवताको परिचय र विवेकशील प्राणीको परिचय दिऔं। सबैको बाँच्न पाउने अधिकारको सुरक्षा गरौँ।
नाथ परम्परामा ॐ नमः शिवाय पंचाक्षरी मन्त्रको अत्यन्तै ठूलो महत्त्व छ। यसको मतलब म पञ्चतत्त्व वा पञ्चमहाभूतलाई नमन गर्छु र यसको संरक्षण गर्छु भन्ने हो। पञ्चतत्त्वबाट उत्पन्न भएका सबैलाई आदर सम्मान, समभाव राख्छु र गर्छु। ती सबैको अस्तित्वलाई स्वीकार गर्छु। हामी सबैको सृष्टि र विनाश यही पञ्चतत्त्वले हुने र यसैमा विलय हुने हुनाले आफूलाई बुझौँ। गुरु गोरखनाथ भन्नुहुन्छ- हे बुद्धिमान्, चेतनशील मनुष्य ! पहलै आरम्भ घट परच/परिचय करो।
सबैभन्दा पहिला आफूलाई चिन, आफुभित्र भएको अन्नमयकोष, प्राणमयकोष, मनोमयकोष, विज्ञानमयकोष र आनन्दमय कोषलाई बुझ। स्मरण रहोस्, पञ्चतत्वको संयोजन आरोग्य हो, स्वास्थ्य हो भने वियोजन रोग हो। पञ्चतत्त्व सन्तुलन भएसम्म हामी निरोगी हुन्छौँ तर जब सन्तुलन बिग्रन्छ हामी रोगी बन्छौँ। सिद्धसिद्धन्तपद्धतिको तृतीय उपदेशको पहिलो श्लोकमै आफ्नो पिण्डलाई, शरीरलाई चिन्न र बुझन सक्ने व्यक्तिलाई नै योगी भनिएको छ-
‘पृथिव्यापस्तथा तेजो वायुराकाशमेव च।
पञ्चभूतात्मको देहो ज्ञातव्यश्च वरानने।।’
पञ्चतत्त्व नष्ट भयो भने हाम्रो जीवन पनि सकियो। त्यसैले पञ्चतत्त्वलाई सन्तुलित गरौँ। जस्तैः पृथ्वीतत्त्व- के खाने? कति खाने? कहिले खाने? लगायत कसरी बस्ने? जलतत्त्व- पानी कति पिउने? कसरी पिउने? कस्तो पानी पिउने? वायुतत्त्व- प्राणायाम कसरी गर्ने? स्वच्छ हावा कसरी लिने? यसैगरी तेजतत्त्व अर्थात् सूर्यको दर्शन कसरी गर्ने? सूर्यबाट हाम्रो शरीरलाई चाहिने तत्त्व कसरी लिने? आकाशतत्त्व अर्थात् निर्विकार भावले कसरी बस्ने? कसरी ध्यान गर्ने? कसरी आफूलाई शून्यमा लाने? यसै सन्दर्भमा ‘शिवस्वरोदयसंहिता’ मा भगवान् शिवले माता पार्वतीलाई पञ्चतत्त्वको ज्ञान सहित स्वरविज्ञान, प्राणविज्ञान, पिण्डविज्ञानको विशेष शिक्षा दिनुभएको प्रसङ्ग अत्यन्तै मननीय छ-
‘सा पिण्डसंवित्तिरथोच्यतेक्तश्चराचरं यो निजपिण्डमध्ये।
जानाति योगी गुरुवाक्यनिष्ठः स पिण्डसंवित्तिरिति प्रसिद्धः।।’
यही आधारमा हामी सबैले आफुलाई चिनौं। जबसम्म आफ्नो बारेमा थाहा हुँदैन अर्काको बारेमा बोल्नु हुँदैन। मन दुख्ने कटु वचनको गोलीले जीवनभर पीडा दिन्छ, त्यस्तो नबोलौं। यो सबै नकारात्मकताबाट मुक्त बन्न पहिला आफुलाई सुधार गरौँ। सृष्टिको सुन्दरता भनेकै भिन्नता भित्रको अभिन्नतामा छ, विविधता भित्रको विशालतामा छ। हेर्दा अनेक छ तर भित्र एक छ। मूर्तरूप विचित्र छ तर अमूर्तमा उही एक रूप छ। उही एक सत् त्रिगुणमा व्यक्त भएको छ, पंचतŒवमा व्यक्त भएको छ। अनेकौं प्रपञ्चमा प्रकट भएको छ। तर फेरि अध्यात्म दृष्टिले हेर्दा न कुनै प्रपञ्छ छ, न कुनै गुण छ, न कुनै महाभूत छ तर मात्र महत् तत्त्व छ, परम तत्त्व छ। सृष्टिविज्ञानको यही परम रहस्यलाई बुझनु नै परम ज्ञान हो- ‘पंच तत ले उतपनां सकल संसार।।’
आज ज्ञानी भन्नेहरू पनि ज्ञानको भुलभुलैयामा फसेका छन्। श्रद्धा बिनाको, भक्ति बिनाको, अनुभूति बिनाको ज्ञानले पनि अन्ततः फेरि अर्को खाले अन्धकार निम्त्याउने गर्छ। त्यसैले ऋषिहरूले ज्ञानमा पनि प्रज्ञानम् जोडे- प्रज्ञानं ब्रशास्त्र बने आफुलाई चिन्नको लागि तर ‘आफू’ तर्फको यात्रा हुन सकेन। ‘आफ्नो’ मै मात्र रुमल्लिएका छौं हामी। शास्त्र र शात्रार्थमा मात्रै अल्झिएका छौं हामी। हेरेर पनि हेर्न नसक्ने, बुझेर पनि बुझन नसक्ने र सुनेर पनि सुन्न नसक्ने अवस्थामा फसेका छौं हामी! अर्जुनले विश्वरूपदर्शन पाए, छर्लङ्ग भए, तृप्त भए तर भीष्म पितामह, गुरु द्रोणाचार्य, दुर्योधन लगायत प्रमुख कौरवपक्षीहरूले पनि हस्तिनापुर दरबारमा अन्तिम शान्ति प्रस्तावको बेलामा भगवान् श्रीकृष्णलाई बन्दी बनाउन खोज्दा विराट् स्वरूपको दर्शन पाए तापनि केही बुझन सकेनन्, आफ्नो जीवनको परिवर्तन गर्न सकेनन्, युद्धको निर्णय बदल्न सकेनन्, बुद्धको, देवतत्त्वको एवं मनुष्यतत्त्वको एवं कृष्णतत्त्वको अन्तर यात्रामा लाग्न सकेनन्।
जय गुरु गोरखनाथ।।