सदाचार त्यस्ता नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार, क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्छ। प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो। सदाचार र नैतिक आचरण हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो। देशको शासन व्यवस्था सक्षम, प्रभावकारी र सफल हुन सार्वजनिक प्रशासनमा नैतिक आचरण , समर्पणभाव, पारदर्शिता, अधिकार प्रत्यायोजन, उत्तरदायित्व, स्वच्छता, जबाफदेही र आर्थिक सदाचार रहनुपर्छ।राम्रो आचरण, असल चालचलन र सकारात्मक व्यवहार सदाचार हो।
सदाचार राम्रो आचरणमा मात्र सीमित छैन, यसले त हाम्रो जीवनलाई गति र दिशा दिन्छ। जसले एक व्यक्तिलाई सधैँ अगाडी बढ्न सहयोग गर्छ। सदाचारी नागरिक र शासक भएको देशमा सुशासन कायम हुन्छ र सुशासन भएमा राष्ट्र अग्रगतिमा जान्छ र समृद्धि सम्भव हुन्छ। भनिन्छ हामीले सम्पत्ति गुमायौ भने खास केही गुम्दैन, स्वास्थ्य गुमायौ भने केही गुम्छ तर सदाचार गुमायौ भने सबैथोक गुम्छ। सम्पत्ति कमाउन सकिन्छ, स्वास्थ्योपचार गर्न सकिन्छ तर गएको आचरण कमाउन सकिन्न। दुराचारले कारक मात्र प्रताडित हुँदैन, समाजलाई नै बिगार्छ भनी हाम्रा अग्रज सधैँ भनिरहेको हामी सुनिरहन्छौ। गीतामा भगवान् श्रीकृष्णले पनि शास्त्र (नीति), कर्म (काम) र धर्म (आचरण) बाट मानव जीवनले सिद्धि प्राप्त गर्छ भनेका थिए। महात्मा गान्धीले परिश्रमविनाको धन र चरित्रविनाको ज्ञानलाई पाप मानेका थिए। सदाचारिता असल जीवन जिउनका लागि अपरिहार्य कुरा हो। नागरिकमा जति धेरै सदचारितको विकास हुन्छ, सुशासनमा त्यति नै बढी सहजता हुन्छ। सुशासन कायम रहेको राष्ट्र विकास, समृद्धिका हिसाबले अगाडी हुन्छ। नागरिक सुखी हुन्छन्। सदाचारी मानिस अन्तरात्माको यही आवाजका कारण स्वार्थ, लोभ, लालसा, आग्रहजस्ता कमजोरीसँग सम्झौता गर्दैनन्। अहिले नेपाली समाजमा चाहिएको विषय नै सदाचार र सुशासन हो। सदाचार र सुशासन एक–अर्कामा अन्तर–आबद्धित छन्।
सदाचार र सुशासन एक अर्काका परिपूरक हुन्। सदाचार भएका नागरिक बिना सुशासन कायम गर्न अप्ठ्यारो हुन्छ भने सुशासन कायम गर्न सकिएन भने सदाचारिता हराउँदै जान्छ। त्यसपछि दुराचारीले समाजमा राज गर्छन्। जसको कारण राष्ट्रको गरिमा, समृद्धि बढ्नु त परै जाओस् सामान्य मानवीय सम्बन्धमा समेत गिरावट आउँछ। त्यस कारण राष्ट्र निर्माणमा सदाचार र सुशासनको ठूलो महत्त्व छ। मानव समाज नीति, कर्म र आचरणबाट चल्ने हो। सदाचार व्यक्तिको विवेक वा अन्तरात्मामा छिपेर रहने त्यस्तो शक्ति हो, जसले व्यक्तिलाई गलत काम नगर्न सचेत गराउँछ। सार्वजनिक संस्थाहरू समाजलाई व्यवस्थित गर्न सिर्जना भएका हुन्। संस्थाको नेतृत्व पनि समाजमा असल आचरण स्थापित गरी संस्कार र सभ्यता व्यवस्थित गर्न निर्माण भएको हुन्छ।
अनुशासन र इमानदारीको सीमा लालसा, लोभ र आग्रहले भत्काउँछ, यसको विपरीत इमानदारी, अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, असल विचार र असल कार्यले नै असल चाहना प्राप्ति हुन्छ।
नेतृत्व मूलतः विधि र निष्ठाको प्रतीक हो। नीतिप्रतिको निष्ठा नेतृत्व निर्माणको आधार हो, यसरी नेतृत्व निर्माण भएपछि उसले नीतिनिष्ठलाई बलियो बनाउँछ। नेतृत्वको उदाहरणीयताले संस्थाहरू बलिया हुन्छन्। संस्थाहरू बलिया हुनु भनेको सुशासनको जग बस्नु हो। सुशासनका लागि नै पदाधिकारी तथा संस्थाहरू परिचालित हुन्छन्, जसमा नैतिक आचरण ,सदाचार र व्यावसायिकताका मूल्य आचरणमा देखिनुपर्छ। स्वार्थ, लोभ, लालसा, आशक्ति, आग्रह आदिलाई दबाउने सामर्थ्य वा अन्तरमूल्य नै सदाचारको जग हो। कसैले के भन्छ भन्दा पनि के गर्छ र उसप्रति के भनिन्छ भन्ने पक्ष महत्त्वपूर्ण हुन्छ सदाचार संस्कृतिमा। कहिलेकाहीँ सत्य र उचित कामका लागि परिवेश, समुदाय, समूहमा व्यक्ति एक्लै उभिने साहसमा रहन सक्नुपर्छ। किनकि, सदाचार सत्चरित्र हो, सत्चरित्रभन्दा दुष्चरित्रको फैलावट र क्षणिक शक्ति बढी देखिन्छ। सदाचारको संस्कृति नबसेको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभमा व्यक्ति दुराचारी बन्ने गर्छ र सदाचार छायामा पर्छ।
अनुशासन र इमानदारीको सीमा लालसा, लोभ र आग्रहले भत्काउँछ, यसको विपरीत इमानदारी, अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, असल विचार र असल कार्यले नै असल चाहना प्राप्ति हुन्छ। राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी नै राज्य प्रभावकारिता विस्तार गर्ने आधार हुन्। समकालीन समाजमा यिनै कुराको औधी माग भइरहेको छ, जसलाई सिद्ध गर्न राज्य संयन्त्रमाथि व्यापक दबाब परिरहेको अवस्था विद्यमान छ।
सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो। यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जबाफदेही हुने हुन्, तर पनि आदर्श आचारसंहितामा सहमति बन्न सकेन। आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पुर्याउन मद्दत गर्छन्। त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन्। तर, सार्वजनिक क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन्। व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू स्खलित भएका छन्। यसैले अहिलेको सबैभन्दा चाहिएको विषय नै सदाचार हो, जसले सुशासनलाई दिगो बनाउन सक्छ। व्यक्ति आचारच्यूत किन हुन्छ भन्ने विषयमा उत्तर पाइन्न। तर, घटनाक्रम र प्रवृत्तिको विश्लेषणले केही हदमा उत्तर खोज्न भने सकिन्छ। जन्मले मानिस असल हुन्छ, कोही पनि खराब हुँदैन, कर्मले मात्र मानिस खराब वा असल भनिने हो। पारिवारिक, सामाजिक परिवेश, अभिमुखीकरण, रहनसहन, मूल्य, संस्कृतिजस्ता पक्षहरूले व्यक्तिलाई खराब वा असल बनाउँछ। जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सत्कर्मी बन्छ, नैतिक बन्छ। मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ। स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ।
सबै व्यक्तिहरू सार्वजनिक ओहोदा लिनका लागि योग्य हुँदैनन्। सार्वजनिक जीवन निर्वाहका लागि सीप र दक्षता त चाहिन्छ नै। त्यति मात्र पर्याप्त हुँदैन। उ, नैतिक, इमानदार र सदाचार रूपमा योग्य हुनुपर्छ। जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जबाफदेही हुनुपर्छ। उसका हरेक व्यवहारले नैतिक आचरण र औचित्यको पुष्टि गर्न सक्नुपर्छ, सर्वसाधारणको मन जितेको हुनुपर्छ। संगठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ। जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ।लोकतन्त्र, शान्ति, सुशासन, अनुशासन र समृद्धिको आधारभूमि सदाचार हो। सामाजिक–आर्थिक एवं राजनीतिक क्षेत्रमा सदाचारले सर्वोच्च स्थान ओगटेको हुन्छ। लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सुशासन अनिवार्य सर्त हो। लोकतन्त्र विनाको सुशासन र सुशासन विनाको लोकतन्त्र फस्टाउन सक्दैन। सुशासनको एक महत्त्वपूर्ण खम्बा भनेको सदाचारलाई लिन सकिन्छ। सदाचार नीति, नियम र व्यवहारप्रति उच्च सतर्क रही कार्य गर्ने सुविचार, उत्तम आचरण, स्वच्छता, निष्पक्षता एवं इमानदारी हो। सदाचार सैद्धान्तिक विषय नभएर यो आत्मानुभूतिको आन्तरिक आत्मानुशासन सम्बन्धी विज्ञान र अन्तरवोध गर्ने विषय हो।