सुनसरी — धरानमा डेंगी संक्रमणका कारण पछिल्लो नौ दिनयता एक बालिकासहित थप ५ जनाको मृत्यु भएको छ। डेंगी संक्रमणबाट साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० बस्ने ५६ वर्षीय पुरुष, धरान–२ बस्ने ७७ वर्षीय वृद्ध, साउन १० गते उदयपुरको कटारी बस्ने २९ वर्षीय पुरुष र साउन ११ गते धरान ११ बस्ने १० वर्षीया बालिकाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलका अनुसार उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो। तीमध्ये उदयपुरको कटारी बस्ने पुरुषको हिप ज्वाइन्टको शल्यक्रिया पछि ज्वरो आएर जाँच गर्दा डेंगी पोजिटिभ देखिएको थियो। यसअघि धरानका ४ जनाको मृत्यु भएको थियो।
प्रतिष्ठानको डेंगी अस्पतालमा हालसम्म ५४ जना उपचारका लागि भर्ना भएका थिए। तीमध्ये ३७ जनालाई डिस्चार्ज दिइएको सहप्रवक्ता डा पोखरेलले बताए। उनका अनुसार डेंगी संक्रमण भएर उपचारका लागि आउने बिरामी डेंगी क्लिनिक र बीपी प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सीमा चाप दिनदिनै बढेको छ। डेंगी क्लिनिकमा हालसम्म १ हजार ६ सय १६ जनाको जाँच गर्दा १ हजार २ सय ९८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ। बिहीबार मात्र १ सय ४९ जनाको जाँच गर्दा १ सय १७ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो। १ सय १७ जना संक्रमितमध्ये प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारी १५ जना अर्थात् करिब १० प्रतिशतमा डेगी पोजिटिभ देखिएको डा पोखरेलले बताए।
स्थानीय जनप्रतिनिधि, स्वास्थ्य कार्याल, टोल समिति (टिएलओ) सामाजिक संघसंस्थाहरु सर्च एन्ड डेस्ट्रोय अभियान नचलाई निष्क्रिय रहँदा डेंगी संक्रमणपछि दीर्घ रोगी र बालबालिकाको ज्यान जोखिममा परेको जनस्वास्थ्यविद्हरुले बताएका छन्।
यसैबीच डेंगी नियन्त्रण गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनका विज्ञ जनस्वास्थ्यविद्, चिकित्सकसहित फेयर मेड नेपाल, सेभ द अर्थ, उपमहानगरपालिकाका टिएलओ (टोल समिति) जनप्रतिनिधिहरु र उपमहानगरको स्वास्थ्य महाशाखा सम्मिलित टोलीले सर्च एन्ड डेस्ट्रोय अभियानलाई तीव्र बनाएको दाबी गरेका छन्।
उपमहानगरका महाशाखा प्रमुख उमेश मेहताले भने, ‘हामी बढी प्रभावित वडाहरुमा सर्च एन्ड डेस्ट्रोय अभियानलाई तीव्रता दिन पुगिरहेका छौं। तर कतिपय टिएलओ निष्क्रिय रहेकाले भने जस्तो काम गर्न सकिएको छैन।’ उनकाअनुसार डेंगी नियन्त्रणका लागि केही दिनअघि नै धरानभरिका संस्थागत र सामुदायिक विद्यालयका प्रधानाध्यापक र टिएलओ अध्यक्षहरुलाई बोलाएर आ–आफ्नो टोलमा सर्च एन्ड डेस्ट्रोय अभियानबारे जानकारी दिइएको थियो।