आन्दोलनमा कर्मचारी, धनगढीमा स्वास्थ्यको दरबन्दी १६ की २३? - Chaitanya News
  • 2026-05-03
  • 01:52:47
  • शनिबार,बैशाख १९, २०८३
  • आन्दोलनमा कर्मचारी, धनगढीमा स्वास्थ्यको दरबन्दी १६ की २३?

    आन्दोलनमा कर्मचारी, धनगढीमा स्वास्थ्यको दरबन्दी १६ की २३?

    धनगढी- यतिबेला धनगढी उपमहानगरपालिकामा स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका छन्। देश संघीय संरचनामा जानुअघि धनगढी उपमहानगरपालिकामा स्वास्थ्य क्षेत्रको दरबन्दी १६ कायम भएको थियो। त्यसयता कुनै दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छैन। तर, धनगढी उपमहानगरपालिकाले केही स्वास्थ्यकर्मीको संरक्षण र केहीमाथि विभेद गरेको पाइएको छ।

    नयाँ आर्थिक वर्ष सुरु भएसँगै २०७५ सालमा समायोजन र समायोजन मिलान भई कार्यरत कर्मचारीमाथि विभेद भएको पाइएको हो। समायोजन र समायोजन मिलान गरि धनगढी उपमहानगरपालिकामा ५६ जना स्वास्थ्यकर्मी कार्यरत थिए।

    दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी भएको भन्दै उपमहानगरपालिकाले समायोजन मिलान भएका ३३ जना स्वास्थ्यकर्मीको हाजिरी रोकेको छ। १६ जनाको दरबन्दी रहेकोमा अहिले २३ जना स्वास्थ्यकर्मीलाई कार्य क्षेत्रमा खटाएको छ। त्यो कूल दरबन्दीको सात जना बढी हो। सात स्वास्थ्यकर्मीलाई नगर प्रमुख गोपाल हमालले संरक्षण गरेको अन्य स्वास्थ्यकर्मीको आरोप छ।

    हाजिरी गर्न रोकाएका स्वास्थ्यकर्मी धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा तीन दिनदेखि धर्नामा छन्। हाजिरी नरोकाइएका स्वास्थ्यकर्मी भने कार्यक्षेत्रमा खटिएका छन्। आन्दोलनरत स्वास्थ्यकर्मीको धर्नामा स्वास्थ्यकर्मी संघ, विभिन्न कर्मचारी संघ संगठन, धनगढी उपमहानगरपालिकाका केही वडा अध्यक्षको समर्थन रहेको छ। आन्दोलनले चर्को रुप लिँदा समेत नगर प्रमुख हमाल र उपप्रमुख कन्दकला रानाले बेवास्ता गर्दै आएका छन्।

    समस्या देखिएपछि समाधान गर्ने पहिलो दायित्‍व उनीहरूको हो। तर, जिम्मेवार व्यक्तिहरूले नै समस्या झिकेर समाधानतर्फ ध्यान नदिएको भन्दै विरोध भइरहेको हो।

    धनगढी उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान गरेर आएका स्वास्थ्यकर्मीको हाजिर रोकेपछि स्वास्थ्य संस्थामा जनशक्ति अभाव रहेको छ।

    धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्र एक जना स्वास्थ्यकर्मीले हेर्नुपर्ने अवस्था रहेको छ। बिरामी उपचार, मातृशिशु कार्यक्रम, खोप कार्यक्रमलगायतका सामान्यदेखि जटिल उपचार गर्दै आएको सो केन्द्रमा एक जनामात्र स्वास्थ्यकर्मी हुँदा सेवा प्रवाहमा समस्या आएको स्वास्थ्यकर्मीको गुनासो छ।

    उपमहानगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, १५ र १६ वडामा रहेको स्वास्थ्य चौकीमा दुई/दुई जना, वडा नम्बर ९ को स्वास्थ्य चौकीमा तीन जना स्वास्थ्यकर्मी छन भने अन्यमा एक स्वास्थ्यकर्मीको भरमा सेवा प्रदान गर्नुपर्ने बाँध्यता रहेको छ।

    स्वास्थ्यकर्मी घटाउँदा सरकारले सञ्चालन गर्ने नियमित कार्यक्रमसँगै आम नागरिकले वडामै पाउने सेवाका लागि सेती प्रादेशिक अस्पताल तथा अन्यत्र जानुपर्ने बाँध्यता आउने चिन्ता बढेको छ।