‘अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम्।
तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः।।’
अर्थात्- अखण्ड मण्डलकार चराचर जगत्लाई ओगट्ने त्यस महान् पदमार्गलाई जसले साक्षात्कार गराई दिनुभयो ती गुरुलाई अभिवादन गर्दछु।
समाजमा मानिसको प्रायः समस्या भनेको कसरी बस्ने ? कसरी जीवन जिउने ? (Art of Life) थाहा नहुनु हो। त्यसैले गुरु गोरखनाथ भन्नुहुन्छ-
‘तीरथि तीरथि सनान करीला, बाहर धोये कैसे भीतरि भेदीला।
आदिनाथ नाती मछीन्द्र्नाथ पूता, निज तत निहारे गोरष अवधूता।।’
अर्थात्- अनेकौं तीर्थमा गइयो, बाहिर बाहिर शरीर स्नान गरियो तर भित्र मन जस्ताको तस्तै मैलो छ भने के अर्थ ? त्यसैले आदिनाथका नाति/प्रशिष्य र मच्छिन्द्रनाथका पुत्र/शिष्य सन्त गोरखनाथले आफ्नो तत÷स्वरूप हेर भन्नुभयो।
अनेकौं तीर्थ घुम्नुको र दर्शन गर्नुको मूल प्रयोजन के ? शरीरशुद्धि भयो तर मनशुद्धि भएन, जीवनको अर्थ के ? के कहिल्यै हामीले हाम्रो भित्री रूपलाई जगाउने प्रयत्न गर्यौं ? हामीभित्र भएको र लुकेर बसेको काम, क्रोध, लोभ, ईष्र्या, अहङ्कारलाई कसरी पखाल्ने ? वर्षौदेखिको लोभ, ईष्र्या, अहङ्कार, काम, क्रोधलाई कसरी समाप्त पार्ने ? सोच्यौं ? शरीर वा कायाशुद्धि भयो तर भाव, मन, वा चित्तशुद्धि भएन; आत्मशुद्धि भएन भने के अर्थ जीवनको ? जिउनुको ? सन्त कबीरको एक भनाइ अत्यन्तै सान्दर्भिक छ-
‘नहाये धोयै क्या भया जो मन मैल ना जाय।
मीन सदा जल में रहे, धोये बास ना जाय।।’
अर्थात्- मनको मैलो भगाउन सकिँदैन भने नुहाएर वा धोएर मात्र के लाभ ? हेर, माछा पानीमा रहन्छ तर आफ्नो दुर्गन्ध कदापि भगाउन सक्दैन।
मानिसका जीवनमा बाहिरी सुन्दरताको अर्थ नै छैन पनि भन्नु हुँदैन। बाहिर सुन्दर भइकन भित्री विचार पनि सुन्दर भयो भने त्यो उत्तम हो। बाहिर सुन्दर नभए पनि भित्री मन सुन्दर भयो भने त्यस अवस्थालाई नराम्रो भन्नु हुँदैन। अस्थायी शरीर नराम्रो भए पनि केही भएन। सुन्दर विचार सधैं बाँच्छ। बाहिरी मुहार राम्रो तर विचार अविवेकी छ भने त्यो सुन्दरता तत्काल बोल्ने बित्तिकै अर्थहीन हुन्छ। बाहिरी मुहार र भित्री विचार नै विकृत भएका पनि हुन्छन्। तिनका विषयमा कुरा नगर्दा पनि हुन्छ। यसै प्रसङ्गमा आदि जगद्गुरु शङ्कराचार्य भन्नुहुन्छ-
‘कुरुते गङ्गासागरगमनं व्रतपरिपालनमथवा दानम्
ज्ञानविहीनः सर्वमतेन भजति न मुत्तिं जन्मशतेन।।’
अर्थात्- गङ्गासागरको यात्रा, व्रतपालन र दान आदि गरेर पनि ज्ञान छैन भने सय जन्ममा पनि उसको मुक्ति हुँदैन।
मानिसले गङ्गासागर स्नानदेखि तीर्थदर्शनसहित व्रत र दान गरेको देखेका छौं, जानेका छौँ। त्यसको लक्ष्य मुक्ति प्राप्त गर्नु हो। तर जे काम गरिन्छ त्यसको जानकारी हुनु आवश्यक छ। नजानिकन र नबुझिकन गरेका कामबाट सन्तुष्टि र सफलता पाइन्छ भन्ने निश्चय हुँदैन। जबसम्म ज्ञान छैन मुक्ति मिल्दैन र मनशुद्धि हुँदैन। हामीले धेरै परको तीर्थ गर्नुभन्दा पहिला आफ्नो परिवारमा सुखको जीवन जिउने कलाको बिजारोपण गरौँ। तपाईंको घरसगैँ एक छाक भोजनको लागि सङ्घर्ष गरिरहेको छिमेकीलाई मद्दत गरौँ। एक गिलास दूध नपाएको बच्चालाई दुधको व्यवस्था गरौँ। साधुसन्तको विचार सुन्ने तर व्यवहारमा नउतार्ने हो भने के अर्थ सुन्नुको ? आफ्नै घरपरिवारका सदस्यसँग कटु सम्बन्ध बनाउने हो, कर्तव्यनिर्वाह नगर्ने हो भने के अर्थ सत्सङ्गको ?
तीर्थ गएको बेला वा देवीदेवताको पूजा गर्ने बेलामा समेत, मातापिता, छोराछोरी, श्रीमती, दिदीबहिनी, दाजुभाइप्रति रिस गर्ने ? कलह गर्ने ? अन्याय गर्ने ? कस्तो विचित्र ! जीवनलाई आडम्बरी होइन प्रेममय बनाऔँ। हाम्रा संस्कृति, परम्पराले देखाएको वैज्ञानिक मार्गलाई बुझौँ। जीवनलाई अध्यात्मको बाटोमा हिंडाउन निरन्तर प्रयास गरौँ। देखावटी लौकिक विषयमा मात्रै नभुलौँ। हामीभित्र भएको तत्वलाई बुझौँ। आदिनाथ शिव, मछिन्द्रनाथ र गोरखनाथ एक अर्कासँग अन्तर्सम्बन्धित छन्, तिनको दर्शन बुझौं, वाणी बुझौं। आफैलाई चिनेर जीवन सुमधुर बनाउने कला बुझौं, अध्यात्मतर्फ बढौँ।
जीवन वास्तवमा सौन्दर्यले परिपूर्ण छ। सुन्दरताको अनन्त रहस्य यही जीवनमा लुकेको छ। त्यो सौन्दर्य ज्ञानमा, चेतनामा, स्व- बोधमा अन्तरनिहित छ। सत्यं शिवं सुन्दरम् भनेको यही हो। सत् बिना शिवानुभूति हुँदैन, सौन्दर्यानुभूति हुँदैन। भगवान् शिवको तेस्रो आँखा पनि यही दिव्य सौन्दर्यको दर्शन र अनुभूतिका लागि हो। दुईवटा आँखाले, चक्षुरिन्द्रियले संसार हेर्ने हो तर संसारको सार ईश्वरलाई ज्ञानचक्षुले मात्रै हेर्ने हो। निज तत निहारे अर्थात् निज तत्वलाई, स्वरूपलाई हेर्न बुझ्न सक्नु नै गोरक्षदर्शन हो। गीतामा पनि ‘दिव्यं ददामि ते चक्षुः पश्य मे योगमैश्वरम्’ भनिएको छ। अर्जुनले त्यही दिव्यचक्षु पाए, फलस्वरूप आत्मज्ञान पाए र आत्मकर्तव्य पूरा गरे।
कसैको शरीर गन्हाउँछ, कसैको लुगा, कसैको पसिना भने कसैको वाणी, विचार र व्यवहार। सर्सर्ती हेर्दा कोही पनि यसरी गन्हाएको ठीक हुँदैन। शरीर, लुगा वा पसिना गन्हाउँछ भने सु-स्वास्थ भएन भन्ने बुझिन्छ। वाणी, विचार र व्यवहार गन्हायो भने ज्ञान भएन भन्ने बुझिन्छ। शरीरशुद्धि, चित्तशुद्धि, भावशुद्धि, विचारशुद्धि, कर्मशुद्धि आदि सबै हामीलाई चाहिन्छ। तीर्थस्नान पनि चाहिन्छ। तर के का लागि ? शरीरशुद्धि वा चित्तशुद्धिका लागि ? शरीरशुद्धि त आफ्नै घर आँगनकै धारा- पंधेरोमै सजिलै गर्न सकिन्छ। तीर्थस्नान किन चाहियो र ?तीरथी तीरथी स्नान करिला?
आडम्बरले गर्दा अन्तर्जागरण हराउनु, प्रदर्शनले गर्दा दर्शन हराउनु, कर्मकाण्डले गर्दा ज्ञानकाण्ड हराउनु आदि ज्वलन्त प्रश्नहरूमा जेलिएको वर्तमान समाज जति कुदे पनि पुग्न सकिरहेको छैन। जति धोए पनि स्वच्छ हुन सकिरहेको छैन– त्यसैले बाहर धोए, कैसे भितर धोइला ? भनी गुरु गोरखनाथ प्रश्न गर्नुहुन्छ। सिद्धसिद्धान्तपद्धतिमा पनि स्पष्ट रूपले आत्मशुद्धि र आत्मानुभूतिका लागि आदेश गरिएको छ। ज्ञानहीन गुरुलाई, मिथ्यावादी गुरुलाई त्याग्नुपर्छ भनी स्पष्ट निर्देशन गरिएको छ–
‘ज्ञानहीनो गुरुस्त्याज्यो मिथ्यावादी विडम्बकः।।
स्वविश्रान्तिं न जानाति परेषां स करोति किम् ?।।’
जय गुरु गोरखनाथ।।