काठमाडौं– एसीसी इमर्जिङ टिम्स् कपको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको छ।
नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानका लागि मोहम्मद तय्यब तहिरले ५१, ओमिर बिन युसुफले ३६, कम्रान गुलामले ३० र सैम अयुबले २४ रन बनाए।
नेपालका लागि ललित राजवंशीले तीन, पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले ३७ ओभरमा १७९ रन बनाएको हो। नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए। उनले १०१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, नेपालका लागि प्रतिश जीसीले २६, कुशल मल्ल र अर्जुन साउदले १७–१७, गुल्सन झाले १३ र आसिफ शेखले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालले अर्को खेलमा साउन १ गते भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ।