भानुभक्त आचार्य : जसले नेपाली भाषा-साहित्यको क्षितिजलाई निकै फराकिलो पारिदिए - Chaitanya News
  • 2026-05-24
  • 23:53:28
  • आइतबार,जेठ १०, २०८३
  • भानुभक्त आचार्य : जसले नेपाली भाषा-साहित्यको क्षितिजलाई निकै फराकिलो पारिदिए

    भानुभक्त आचार्य : जसले नेपाली भाषा-साहित्यको क्षितिजलाई निकै फराकिलो पारिदिए

    काठमाडौं- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

    संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्त आचार्यले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा लय हालेर पाठ गरिन्छ।

    पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्।

    विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउन अर्ती दिएपछि भानुभक्तले रामायणलाई नेपाली भाषामा रचना गर्न प्रेरित भएका थिए।

    भानुभक्तले ‘बधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ र अन्य फुटकर कृतिहरुको रचना गरेका छन्। आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ को कट्टर विरोधी भएर कवितामा भोलिको घोर विरोध गरेका छन्।

    नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन भानुभक्तको ऐतिहासिक योगदान रहेको छ।

    भानुको जन्मजयन्ती नेपाल बाहिर भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ। आदिकवि भानुभक्त आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो।

    भानुभक्तले बोलीचालीको नेपाली सरल भाषामा रामायण ल्याएपछि भाषा र साहित्यमा सामान्य मानिसहरुको पहुँच र प्रेम बढेर गएको पाइन्छ।

    ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादिक्षा लालनपालन त्यसै अनुरुप धार्मीक अनि सांस्कृतिक अनुशाषनमा भएको हो। अहिलेको नेपाली भाषालाई उतिबेला “खस्” भाषा भनिन्थ्यो र यो भाषा लिपीबद्ध भन्दापनि सामान्य अभिब्यक्तिहरुमा मात्र सिमीत थियो । १५ औं शताब्दीमा “खस्” राजाहरुको पराजयसंगै “खस्” भाषा पनि ओझेलमा परेको थियो।

    नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्त गरेको हुन्। त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ। उतिबेला कविताहरु र औपचारीक साहीत्यहरु संस्कृत भाषामा हुनेगर्दथे, यसअर्थमा संस्कृत भाषा बुझ्न र बुझाउनसक्ने ब्राह्मणहरुको आवश्यक्ता र महत्व धेरै थियो। सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आँफै साहित्य र कलात्मक अभिब्यक्ति बुझ्न गाह्रो थियो।

    भानुभक्तले उतिबेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपीबद्ध गरिदिए, अचम्मको कुरा त के छ भने अनुवाद गरिएतापनि नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ। अझ फराकीलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्यन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरुको सरल पहुचमा विस्तार गरेका हुन् भन्न सकिन्छ। आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् तसर्थ यीनको रचनामा समाज र व्यबहारीक्ताको संगम पाइन्छ।

    भानुभक्तको जीवनमा एकजना घाँसीले उनलाई प्रेरणा दिएको हो, घाँसी दरिद्र भएतापनि घाँस काटेर पाएको पैसाले समाजकालागि पानी खाने कुवा खन्दछ। भानुभक्तलाई आफू घाँसीभन्दा धनी भएतापनि समाजकालागि केहि गरुँ भन्ने भाव नभएको महशुस भएर आफूप्रती ग्लानीपनि लाग्दछ। तर सबैको देन आ आफ्नै हुन्छ, भानुभक्तका शब्द र अभिब्यक्तिले कथेका काब्यहरु अझैपनि नेपाली दलिनहरु भित्र सुरक्षीत रुपमा राखिएका छन्। रामायणभित्र रहेका बालकाण्ड, अरन्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ। भानुभक्तले “रामायण”का अतिरिक्त अन्य थुप्रै कृति सृजना गरेपनि उनी रामायणमा बाँचेका छन्। गाँउलेहरुले एकैठाँउमा रामायण वाचन गरेर सुन्नु अहिलेको थ्रिडि या फोर डि सिनेमा हेरेको भन्दा धेरै रसस्वादन गरेर आत्मसाथ गरिन्थ्यो। रुची भएका पाठकहरुले रामायणका श्लोकहरु याद गर्नु अहिले पनि नेपाली समाजमा छ भने रोचक प्रसंग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरु पाएपछि बिहे, ब्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि शुरु भएको हो । यसअर्थमा आजको दोहोरी र लोकगीतहरुको उदगम बिन्दु पनि नेपाली समाजका लागि भानुभक्तको सरल रामायण नै हो।