ईश्वर हामीभित्रै छन् - Chaitanya News
  • 2026-04-30
  • 13:40:49
  • बिहिबार,बैशाख १७, २०८३
  • ‘गुरुब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
    गुरुः साक्षात्परब्रह्मा तस्मै श्रीगुरवे नमः।।’

    अर्थात्- गुरु सृष्टिकर्ता ब्रह्मा, संरक्षक विष्णु र विनाशक महेश्वर समान हुनुहुन्छ। त्यसैले गुरु नै ब्रह्मा, गुरु नै विष्णु, गुरु नै महेश्वर र गुरु नै साक्षात् परब्रह्मा हुन्। त्यसैले गुरुलाई नमस्कार छ।
    ब्रह्मा, विष्णु र महेश्वरलाई त्रिदेव भनिएको छ। यी त्रिदेव नै क्रमशः संसारको सृष्टि, स्थिति र संहारकर्ता हुन् भन्ने हामीले मान्छौं। एउटै गुरुसँग त्रिदेवको सामथ्र्य छ र जिम्मेदारी पनि हुन्छ। सिङ्गो संसारको जसरी सृष्टि, स्थिति र प्रलय हुन्छ उसैगरी मानिसको जीवनमा पनि जन्म, वृद्धिविकास र मृत्युका तीन चक्र हुन्छन्। मानिस एवं सजीव प्राणी मात्रै होइन, भौतिक वस्तुको पनि गति उस्तै हो। मानिसले त्यस रहस्यलाई बुझन प्रयास गरेन भने ऊ मानिसका रूपमा परिभाषित हुन सक्तैन।

    हरेक विषय जति सानो एकाइमा, जरोमा पुग्छ त्यति नै महत्त्वपूर्ण र प्रभावकारी हुन्छ। हामीले जीवनमा साना- साना विषयलाई समेटेर ठूलो हुने हो। गुरु गोरखनाथ भनुहुन्छ, जीवननिर्माणमा सानासाना विषयको जोड अत्यन्तै महत्त्वपूर्ण हुन्छ। त्यसैले असल जीवननिर्माण गर्ने अधिकार सबैलाई होस् भन्ने चाहनुहुन्छ भने सरल बन्नुहोस्-

    ‘पषांणची देवली पषांण चा देव, पषांण पूजिला, कैसे फीटिला सनेह।
    सरजीव तोडिला निरजीव पूजिला, पाप ची करणी, कैसे दूतर तिरीला।।’

    अर्थात्- मन्दिर ढुङ्गाले बनेको छ, देवताको मूर्ति पनि ढुङ्गाले नै बनेका छन्। ढुङ्गाको मात्रै पूजा गरेर स्नेह कसरी जाग्ला? सजीवलाई हेपेर वा भुलेर वा तोडेर तथा निर्जीवलाई मात्र पूजा गरेर पाप गर्छौ भने कसरी दुस्तर संसार तरौला?

    जुन देवालय बनेको छ, त्यो पनि ढुङ्गाले बनेको छ। जुन देवताका प्रतीक बनेका छन्, ती पनि ढुङ्गाले बनेका छन्। ती ढुङ्गाको मन्दिरमा ढुङ्गाले बनेको देवतालाई मात्रै पुज्नुभयो र सजीवलाई छोड्नुभयो भने हामीमा स्नेहको भाव कसरी पैदा होला? हो, घटघटमा, कणकणमा, यत्रतत्र सर्वत्र ईश्वर छन् तर हामी मान्छेले मान्छेलाई, पशुपन्छीलाई प्रेम, दया, करुणा, स्नेह, सेवा, सहारा दिन नसक्नु तर केवल ढुङ्गाको मूर्ति मात्र बनाएर पुज्नु हाम्रो आडम्बर हो। जसले ढुङ्गाको मात्रै पूजा गर्छ उसको मुटु पनि ढुङ्गा जस्तै हुनसक्छ। त्यही भएर हामीमा दया, माया, करुणा, सेवा, सुन्दरता, श्रद्धाको भाव हराउँदै गएको हो कि?

    मूर्तिपूजा गर्नु नराम्रो होइन तर त्यसको पछाडि लुकेको रहस्य बुझौँ। मन्दिरमा मात्रै गए धर्म हुन्छ तर बाहिर जे गरे नि हुन्छ भन्ने तुच्छ सोच छ भने त्यसलाई तुरुन्तै बदलौँ। मन्दिरमा जाँदा करुणा, प्रेम, प्रार्थना, शिष्टाचार, स्नेहको भाव देखाउने तर त्यहाँबाट निस्केपछि सबै भावलाई छोडेर आफ्नै मूल स्वार्थी भावमा फर्कने ! यस्तो दुईजिब्रे चरित्रले विनाश मात्रै गर्छ। मन्दिर जानुको कुनै अर्थ छैन। हामीले हाम्रो अन्ततः अध्यात्मको यात्रालाई सङ्कुचित नगरौँ। यसलाई निश्चित विषयसँग जोडेर नबसौँ। सजीव फूल टिपेर निर्जीव (ढुङ्गा)लाई पुज्ने, आफै सजीव फूललाई टिपेर पाप गर्ने ! अनि कसरी यो संसारबाट मुक्ति पाउँछौँ त?

    हामी सनातनी त मान्छेलाई समेत पूजा गर्दछौं। कहिले भाइले दाजुलाई, छोराछोरीले बुवाआमालाई, शिष्यले गुरुलाई, पत्नीले पतिलाई, दिदीबहिनीले दाजुभाइलाई, दाजुभाइले दिदीबहिनीलाई पूजा गर्दछौं। यसैगरी गाईगोरु, कुकुर, काग, नाग, सूर्य, चन्द्र, विभिन्न ग्रह, प्रकृति आदिलाई भिन्न भिन्न रूपमा पूजा गर्ने संस्कृति, परम्पराका संवाहक हौँ हामी। तर किन आज आफ्नो मूल मानवीय गुण भुलेको ? जरोबाट किन विमुख भएको ? यसले समाजमा अराजकता, अनैतिकता, अन्योल बढाएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा कविता छ-

    नटिप्नु हेर कोपिला ! नचुँड्नु पाप लाग्दछ।
    नच्यात्नु फूल नानि हो ! दया र धर्म भाग्दछ।।

    नछोप्नु है चरी बरी, सराप आँसु लाग्दछ।
    नमार्नु जन्तु है कुनै, बसेर काल जाग्दछ।।

    न घाउ चोट लाउनू, सडेर चित्त पाक्दछ।
    धूलो नफेक्नु नानि हो ! उडेरभित्र ढाक्दछ।।

    हिलो नखेल्नु फोहरी, खराब दाग लाग्दछ।
    न चित्त है दुखाउनु, डसेर आँसु बग्दछ।।

    बनेर फूल झैं सधैं, हँसाउनू सुवास दी।
    सधैं रमाउनू जगत्, रमेर नित्य आश दी।।

    जताततै छ ईश रे, छ सुन्नु त्यो विचार रे।
    छकाउने लुकाउने, नराख भाव क्यै गरे!

    हामीले हरेक बेला दया, माया, करुणा, श्रद्धा, प्रेमलाई मर्न दिनु हुँदैन। यही जीवनको अमूल्य सम्पत्ति हो। बुद्धले भन्नुभएको छ- दया, मैत्री, करुणाको भाव जगाऊ। जसरी एउटी आमाले आफ्नो शरीरको वास्तै नगरी आफ्नो सन्तानको रक्षा गर्छिन् त्यसै गरी हामी मनुष्यले सबै प्राणीप्रति प्रेमभाव बढाउनु पर्छ साथै रक्षा गर्नुपर्छ। हाम्रो पूर्वीय दर्शन अनुसार ईश्वर कणकणमा छन्। त्यसैले ढुङ्गा मात्रै पुजेर हुँदैन। चेतनालाई बृहत् पार; असीमितता, अनन्ततातिर लाग। सानो सङ्कुचित भएर नबस। आफुभित्र रहेको ईश्वरलाई चिन। मन्दिरमा गएका बेलाको दिव्यभाव हरपल कायम गर। ईश्वरीय भाव हामी भित्रै छ, जुन दिन हामी भित्रको ईश्वर जाग्छ त्यही दिनदेखि जगत् ईश्वरमय, प्रेममय, सुखैसुखको सागर, वरिपरि यत्रतत्र शान्ति नै शान्ति देखिने छ। हामीमा भएको आडम्बर, लोकाचार, मान अपमान, लोभ, ईष्र्या सबै नाश हुनेछन्। सन्त कबीर भन्छन्-

    ‘पाथर पूजे हरि मिले, तो मैं पूजु पहाड।’
    अर्थात्- यदि पत्थर पुजेर हरि पाइन्छन् भने म पहाड पुज्नेछु।

    हामी पत्थर पुज्ने भयौं तर पत्थरमा पनि ईश्वर छ भन्ने बुझन सकेनौं। अध्यात्मभाव जगाउन सकेनौं। ईश्वर हामीभित्रै छन् तर त्यसैलाई आत्मसात् गर्न सकेनौं। प्राणप्रतिष्ठा गरेर पत्थरलाई देवता बनायौं, तापनि पत्थरलाई मात्रै पुज्यौ तर प्राणलाई नै बुझन सकेनौं, कस्तो विचित्र! पृथ्वी, जल, तेज, वायु र आकाशको रातदिन उपभोग गर्‍र्यौं तर पृथ्वीतत्त्व, जलतत्त्व, तेजतत्त्व, वायुतत्त्व र आकाशतत्त्वलाई बुझन सकेनौं। यही तत्त्वलाई बुझन नसक्दा परमतत्त्वलाई आत्मसात् गर्न सकेनौं। त्यसैले गुरु गोरखनाथ ‘शिवस्वरोदयसंहिता’मा भन्नुहुन्छ-

    ‘पञ्चतत्त्वाद् भवेत् सृष्टिस्तत्त्वे तत्त्वं प्रलीयते।
    पञ्चतत्त्वं परं तत्त्वं तत्त्वातीतं निरञ्जनम्।।’

    वास्तवमा भन्ने हो भने पूजा पूजाको लागि होइन, भाव जगाउनको लागि हो, तत्त्व बुझनको लागि हो, अनुभूतिको लागि हो। तर हाम्रा क्रियाकलाप नै यति जटिल भएर गए कि भावतर्फ, अनुभूतितर्फ हाम्रो यात्रा नै हुन सकेन। फूलमा, पत्थरमा, जलमा र संसारका यावत् सामग्रीमा भगवान् छ भन्ने हामीले बुझन सकेनौं। हाम्रा लागि भगवान् मूर्त भयो, व्यक्त भयो, साकार मात्रै भयो तर भगवान् पुज्नेले पुजेर पनि भगवत् तत्त्व बुझन सकेन। भगवतत्त्व नबुझनाले पत्थर पुज्यौं तर हरेक पत्थरमा निहित सूक्ष्म चेतनालाई पुज्न सकेनौं। यही तत्त्व नबुझनाले फूलमय ईश्वरलाई बुझन, पुज्न सकेनौं-सरजीव तोडिला निरजीव पूजिला।

    मूलतः समस्या कर्मकाण्ड होइन, पूजाआजा होइन। तर पूजाआजा, कर्मकाण्ड, मन्दिर, शास्त्र, विधिविधान आदि केवल माध्यम हुन्, केवल साधन हुन् भन्ने बुझन नसक्नु नै मूल समस्या हो। साध्य त अनन्त छ, अदृश्य छ, अव्यक्त छ, अमूर्त छ। त्यो त वर्णनातीत छ, त्यो त अतीन्द्रिय छ, अचिन्तनीय छ। त्यो त मात्र हृदयगम्य छ, अनुभूतिगम्य छ। त्यसैले त भक्त पुष्पदन्तले पनि ‘शिवमहिम्नस्तोत्रम्’ मा भनेका छन्:-

    ‘असितगिरिसमं स्यात् कज्जलं सिन्धुपात्रे, सुरतरूवरशाखा लेखनी पत्रमुर्वी।
    लिखति यदि गृहीत्वा शारदा सर्वकालं, तदपि तव गुणानां ईश पारं न याति।।’

    हे ईश्वर! कालो पर्वत समान मसी होस्। समुद्र समान मसीदानी होस्। कल्पवृक्षको हाँगा समान कलम होस्। पृथ्वी समान कागज होस् र यी सबै साधनहरूद्वारा यदि माता सरस्वतीले (स्वयं) सर्वदा (जीवनपर्यन्त) लेख्दा पनि तपाईंका गुणहरूको बारेमा जति लेखे पनि पार पाउन सकिन्न/व्याख्या गर्न सकिन्न।

    जय गुरु गोरखनाथ।।