काठमाडौं- असार किसानहरूका लागि विशेष आसा बोकेको महिना हो। असारमा मानो छरेर मुरि भित्र्याउने सपना हुन्छ हर किसानको मनमा। तर, यस वर्ष मध्य असार गइसक्दा पनि तराईंमा पानी पर्न सकेको छैन। तराईं अन्न भण्डारका रूपमा लिइन्छ। पानी नपरेका कारण किसानहरूले रोपाइ गर्न सकिरहेका छैनन्। अहिलेसम्म ३० प्रतिशत पनि रोपाइ हुन सकेको छैन। आकासे पानीका भरमा रहेका किसानका खेत अझै आकासको झरी कुरिरहेका छन्।
हरेक वर्ष कृषि तथा सहकारी मन्त्रालयले २०६१ सालदेखि असार १५ गते धान दिवस मनाउँदै आएको छ। सधैँ झैँ यस वर्षको धान दिवस हर्षोल्लासका साथ मनाइसकिएको छ। धान नेपालको मुख्य खाद्य बाली हो। नेपालमा करिब १४ लाख ७३ हजार हेक्टर जमिनमा धान खेती गरिन्छ। कुल खेती गरिएको जमिनको ४७.६६ प्रतिशत हिस्सा ओगटेको धानको क्षेत्र खाद्य बालीमध्येको सबैभन्दा बढी हो। धान नेपालको मात्र नभएर विश्वको आधा जनसङ्ख्या र एसिया महाद्वीपका बहुसङ्ख्यक मानिसको प्रमुख खाद्य बाली हो।
नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिको हिस्सा २५.८३ रहेको छ भने कृषिको हिस्सामध्ये २० प्रतिशत धानले मात्र ओगटेको छ। यसरी हेर्दा हाम्रो देशको अर्थतन्त्र पनि केही हदसम्म धान उत्पादनसँग जोडिएको देखिन्छ। पछिल्लो वर्ष नेपालमा धानको उत्पादकत्व ३.८१ टन प्रतिहेक्टर रहेको छ। धानको उत्पादनमा केही वृद्धि भए पनि आर्थिक वर्ष २०३९–४० यता नेपालले धान आयात गरिरहेको छ। धान आयातको मात्रा हरेक वर्ष बढ्दै गहिरहेको छ। पछिल्लो ५० वर्षमा धानको उत्पादन दोब्बरले बढे पनि पछिल्लो १३ वर्षमा नै आयात दोब्बर भएको छ। यो आर्थिक वर्षको पहिलो ९ महिनामा मात्रै नेपालले ३० अर्ब बराबरको धान र चामल आयात गरेको छ।
नेपालको माथिल्लो पहाडी र हिमाली क्षेत्रमा धानको उत्पादन हुँदैन। धानको उत्पादन तापक्रम, प्रकाशसँगै पानीको उपलब्धता र गुणस्तरसँग धेरै निर्भर रहन्छ। धानको उत्पादकत्व वृद्धिका लागि समयमै मनसुन सुरु हुनु, टिलरिङ हुनेबेला पानी हुनु, गेडामा दूध पस्ने बेलामा पानी हुनु र धान भित्र्याउने बेला पानी नपर्नु आवश्यक हुन्छ। हाम्रो जस्तो पर्याप्त र वर्षैभरि सिँचाइको सुविधा नभएको देशमा झन् मनसुन ठिक समयमा हुनु, बेला बेला हल्का वर्षा हुनु र माटोमा चिस्यान भइरहनु धेरै आवश्यक हुन्छ।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा मनसुन समयमा नहुने, हिउँदमा लामो समय खडेरी हुने, एकैचोटि भारी वर्षा हुनेजस्ता समस्या नेपाली किसानले भोग्दै आइरहेका छन्। यसै वर्ष हिउँदमा परेको लामो खडेरी र मनसुनको ढिलाइले कतिपय किसानले धानको बिउसम्म जोगाउन सकेका छैनन् र धेरैजसो क्षेत्रमा रोपाइँ हुन सकेको छैन। विज्ञहरूले यो वर्ष ४० प्रतिशत कम पानी पर्ने आकलन गरेका छन्। त्यसको प्रत्यक्ष असर धानको उत्पादनमा पर्ने देखिन्छ।
नेपालमा पानीको मुख्य स्रोत भनेकै हिमशृङ्खला, जमिनको सतहमुनि भएको संरक्षित पानी, बङ्गालको खाडीबाट प्रवेश गर्ने बादल र स्थानीय रूपमा निर्माण हुने बादल नै हुन्। पछिल्लो समय बढेको अव्यवस्थित बसोबास र कङ्क्रिटको अत्यधिक प्रयोगले स्थानीय रूपमा बादल निर्माण हुने क्रम ढिला भएको छ भने जथाभावी जमिनमुनिको पानीको प्रयोग र पानी सञ्चित हुने क्षेत्रको विनाशले जमिनको सतहमुनि भएको पानी सकिँदै गहिरहेको छ। जलवायु परिवर्तनको असरले किसान सकसमा परिरहेका छन्।