“कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती।
करमूले तु गोविन्दः प्रभाते करदर्शनम्।।”
अर्थात्— मेरो हातको हत्केलाको अग्रभागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूलभागमा गोविन्दको निवास छ। त्यसैले बिहानै हातको दर्शन गर्दछु।
हातको दर्शन गर्छु भन्नुको तात्पर्य आफ्ना शरीरका सबै अङ्गको सम्मान गर्छु भन्ने पनि हो। सबै अङ्गका सामथ्र्यको सम्मान हो। धन, विद्या र सिर्जनशीलता जस्ता कुरा आफ्नै हातमा छन्। यी कुराको अभाव रहेका जीवनबाट उन्नतिको के अपेक्षा गर्न सकिन्छ र?
हातको हत्केलाको दर्शनको मूलभाव हामीले हाम्रो कर्म प्रति विश्वास गर्नु हो। भगवान्सँग प्रार्थना गरौँ र यस्तो कर्म गरौँ, जुन कार्यले धन, सुख र ज्ञान प्राप्त गर्न सकियोस्। हाम्रो हातले यस्तो कर्म गरोस् जसबाट अन्य व्यक्तिको पनि कल्याण होस्। हाम्रो हातले कदापि नराम्रो काम नगरोस्। शुभ हत्केलाको दर्शन गर्दा मनमा यस्तो सङ्कल्प होस्, हे गोविन्द – हामी परिश्रमबाट दरिद्रता र अज्ञान भगाउन सकौं र आफ्नो र संसारको भलाइ गर्न सकौं। गुरु गोरखनाथ भन्नुहुन्छ—
“कैसे बोलों पंडिता, देव कौने ठाईं।
निज तत निहारतां अम्हें तुम्हें नाहीं।।”
अर्थात्— हे पण्डितहरू ! आफूलाई, निज तत्त्वलाई नियालेर हेर। सबै त्यहीं छ। त्यहाँ भित्र भएका देवतालाई देखेका देख्न सक्दैनौ भने कुन ठाउँमा कुन देवता बसेका छन् त?
हे पण्डित हो भन, देवता कुन ठाउँमा छन् ? तिमी कसरी भन्न सक्छौ ? यही ठाउँमा देवता छन्? धर्मका व्यापार गर्ने ठेकेदारहरू ! प्रचार गर्ने एजेन्ट हरू! भन, देवता कहाँ छन् ? पहिले आफूलाई हेर, जान, बुझ। किन यताउता भौंतारिन्छौ। ईश्वर हामीभित्र विराजमान छन् प्राणरूपमा, त्यसलाई जान। जबसम्म प्राण छ, ईश्वर हामीभित्रै छ। किन यत्रतत्र कुद्ने ? तपाईं आफैमा पूर्ण हुनुहुन्छ। सबै शक्ति तपाइमै निहित छ। स्वयं तपाईं ब्रमा, विष्णु र शिव स्वरूप हुनुहुन्छ–
“क्व ब्रमा क्व शिवो विष्णुः क्व चेन्द्रः क्व मुनीन्द्रकः।
यावन्न विद्यते तत्त्वं तावद्भ्रान्तिविकल्पना।।” सूक्ष्मवेद
जुनसुकै मन्त्र, योग साधना गरे पनि जबसम्म आफैलाई जानिने छैन तबसम्म जीवन बेकार छ।
आज झगडा भइरहेको छ। मेरो सम्प्रदाय ठूलो, मेरो गुरु ठूलो, मेरो संस्था ठूलो, मेरो पार्टी ठूलो। राजनीतिक, सामाजिक, व्यापारिक र धार्मिक संस्थाहरूमा पनि झगडा हुन थालेको छ। धर्मको नाममा राजनीति गर्ने ? व्यापार गर्ने ? धर्मलाई, सद्ग्रन्थलाई, सद्गुरुलाई, सत्यलाई मार्केटिङ (बजारीकरण) चाहिन्छ र ? सत्यलाई बजारीकरण गरेर बेच्दै हिंड्नु ठीक हो र ? बेचिने कुरा र किनिने कुरा वस्तु हुन सक्छ, सत्य हुन सक्दैन।
दिव्यता जोसँग छ, उही देवता हो। दिव्यता भनेको सत्यता पनि हो र सुन्दरता पनि हो। संसारका हरेक व्यक्ति वा वस्तुसँग आ-आफ्नै सामथ्र्य छन्। त्यसलाई अर्काले सापटी लिन पनि सक्तैन र अर्कालाई दिन पनि सकिन्न। सूर्यबाट पाइने ताप र प्रकाशको विकल्प के ? पानीबाट मेटाइने तिर्खा अरु कुन वस्तुले मेटाउँछ ? हावा लिएर फेरिने श्वासको सट्टा अरु केहीले फेर्न मिल्छ र?
“हरिरेव जगत् जगदेव हरिः” कण कणमा हरि छ, घटघटमा हरि छ। व्यर्थमा किन लड्छौ तेरो मेरो भनेर। वास्तवमा हामी ईश्वरवादी हौँ, अध्यात्मवादी हौँ। त्यसैले लड्ने होइन, जुट्ने हो। सबैको अस्तित्व स्वीकार गर्ने हो। हामी विवेकशील, चेतनशील प्राणी हौँ। धर्म जीवनकेन्द्रित हुनुपर्छ, चेतनाकेन्द्रित हुनुपर्छ, न केवल मन्दिरप्रधान। आज समाज धर्मगुरुकेन्द्रित, मूर्तिकेन्द्रित, व्यक्तिकेन्द्रित भएको छ, यो घातक हो। संसारका सबै जीवमा भएको तत्त्व उनै ईश्वरको एक अंश हो, जुन तपाईंभित्रै छ। त्यसैलाई खोज्नुहोस् र बुझनुहोस्। यता- उता नभौँतारिनुहोस्। आफ्नो ब्रमा स्वरूपलाई चिन्नुहोस्। “सूक्ष्मवेद।” मा गुरु गोरखनाथ भन्नुहुन्छ–
“अहमेव स्वयं ब्रमा न भिन्नं दृश्यते मया।
आत्मैव केवलं ब्रमा कथं वर्णाश्रमो भवेत्।।”
हामी मन्दिरमा जान्छौं, पूजा गर्छौं, अनेक विधि पूरा गर्छौं तर अन्त्यमा आँखा बन्द गर्छौं। आँखा बन्द गर्नासाथ हाम्रो यात्रा दृश्यबाट अदृश्यतिर, मूर्तबाट अमूर्ततिर, प्रकटबाट अप्रकटतिर, सगुणबाट निर्गुणतिर, साकारबाट निराकारतिर, व्यक्तबाट अव्यक्ततिर जान्छ। वास्तवमा मूल पूजा त्यही हो। निज रूपको, निज तŒवको बोध नै वास्तविक पूजा हो- निज तत निहारता।
तर आज समाज आत्मबोधको मूल मर्मलाई नबुझी आवश्यकता भन्दा बढी बहिर्मुखी भएको छ। पण्डितवाद, पुरोहितवाद, सम्प्रदायवाद लगायत शास्त्रीय तर्क वितर्कले गर्दा अध्यात्मको सार हराउँदै गएको छ। फलस्वरूप मन्दिर ठूलो भएको छ तर मन सानो भएको छ। पूजा सामग्रीको थुप्रो लागेको छ तर पूजा भाव हराएको छ। विभिन्न विधि र कर्मकाण्डको आडम्बर बढेको छ तर आस्था र श्रद्धा हराउँदै गएको छ। देवताको बारेमा व्याख्यान, वन्दना, भजनकीर्तन भैरहेको छ तर देवतत्त्व नै हराएको छ। यो देवता ठूलो वा सानो भनी विवाद उठाइएको छ। यो ठाउँ पवित्र वा अपवित्र भनी झगडा मच्चाइएको छ- देव कौने ठाईं?
बहिर्मुखी वृत्ति यति बढेको छ कि शास्त्र पढ्नेले सार बुझन सकेन। मन्दिर धाउनेले मन बुझन सकेन। पूजा गर्नेले पूजा बुझन सकेन। आडम्बरले आफूभित्रै विराजमान ईश्वर तत्त्वलाई बुझन सकेन–
“मनको पावन दिव्यासनमा।”
मनको पावन दिव्यासनमा, जगदीश्वरको राज।
जगदीश्वरको राज, जगदीश्वरको राज।।
मनकै खेल यो सारा प्रपंच, मनकै माया बन्धन।
मनको ढोका खुल्न सकेन, बढ्यो अँध्यारो झन् झन्।।
मनको पावन दिव्यासनमा….
सागर तटमै वास भए नि, मेटिएन यो प्यास।
पुग्न सकिनँ जति हिंडे नि, कस्तो आशा पाश !
मनको पावन दिव्यासनमा….
सहज भावले हेर्दै मनलाई, प्राण प्रणवमा जाओस्।
उन्मनी यात्रा दिव्य भावले, जीवन चैतन्य होस्।।
मनको पावन दिव्यासनमा….
सोचौं त, मनको पावन दिव्यासनमा जगदीश्वरको राज भन्ने गीत अनुसार भाव जाग्न सक्यो कि सकेन?
जय गुरु गोरखनाथ।।