नेपाली कांग्रेस डोटीबाट पुष्पकुमार शाही प्रतिनिधि सभाका लागि सिफारिस भएका छन्। शाही विद्यार्थीकालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय छन्। शाही २०५१ सालमा विन्ध्यवासिनी हाइस्कुल अछामको नेविसंघ इकाइ सभापति र २०५९ मा कैलाली क्याम्पसको इकाइ सभापति भएका थिए। उनले २०६० सालमा नेपाल विद्यार्थी संघ कैलालीको निर्वाचित अध्यक्षका रुपमा काम गरिसकेका छन्।शाही २०६१ सालमा त्रिभुवन विश्वविद्यालयमा नेविसंघ अध्यक्ष भएका थिए। २०६४ सालमा केन्द्रीय सदस्य भएका शाही २०७३ सालमा केन्द्रीय उपाध्यक्ष भए। उनी डोटीबाट १३औं र १४औं महाधिवेशनमा कांग्रेसको महाधिवेशन प्रतिनिधि छन्। गुणस्तरीय शिक्षालाई महत्व दिँदै आएका शाहीले देशभरका एक/एक पालिकामा टेक्निकल कलेज स्थापनाको माग राख्दै आएका छन्। व्यवहारिक शिक्षाले मात्रै युवालाई रोजगारोन्मुख बनाउन सक्ने शाहीको धारणा छ। शाहीले कोरोना महामारीमा विभिन्न निकायसँग समन्वय गरी करिब २० लाखबराबरको स्वास्थ्य सामग्री डोटीका विभिन्न पालिकालाई सहयोग गरेका थिए। पटक–पटक गरेर शाहीले ६ महिना कारावास जीवन बिताएका छन्। प्रस्तुत छ शाहीसँग पछिल्लो डोटीको राजनीतिक अवस्थाबारे गरिएको संवाद :
डोटीका कांग्रेसका लागि गठबन्धनको अपरिहार्यता कति?
डोटीमा नेपाली कांग्रेस आफैँमा बलियो पार्टी हो। लामो त्याग, तपस्या र समर्पण गर्नुभएको कांग्रेसकै थुप्रै नेताहरू हुनुहन्छ। म्लगायत उहाँहरूको पार्टीमा ठूलो लगानी छ। गठन्धन नहुँदा पनि डोटीमा थुप्रै नेताहरू भएको र ठूलो पार्टी भएकाले आन्तरिक खिचातानी हुन्थ्यो। यो लोतन्त्रको सुन्दरपक्ष पनि हो। त्यसमा पनि पछिल्लो समय देशभर गठबन्धन हुने भन्ने कुरा आइसकेपछि गठबन्धन हुने नै भयो। केही दिन पहिले काठमाडौंमा उपलब्ध डोटीका नेताहरूबीच कोटेश्वरमा छलफल भएको थियो। त्यो भेलामा सबैको आवाज डोटीमा कांग्रेसले टिकट पाउनुपर्छ भन्ने थियो। त्यसमा पनि युवाहरूले पाउनपर्छ भन्ने थियो। अहिले डोटीको आवश्यकता पनि कांग्रेस बलियो भएकाले कांग्रेसकै नेतृत्वलाई आगामी निर्वाचनमा प्रस्ताव गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
किन कांग्रेसलाई नै नेतृत्व दिने भन्ने आधार चाहियला। त्यो भनेको भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नौ पालिका मध्ये सात पालिका प्रमुख र आठ पालिका उपप्रमुखमा कांग्रेस विजयी बनेको छ। एउटा पालिकामा थोरै मतले मात्रै कांग्रेस पराजित भएको हो। स्थानीय तहमा अलग–अलग पार्टी लडेका हुन्। गठबन्धन नहुँदा पनि डोटीमा कांग्रेसको एकदमै राम्रो उपस्थिति छ। स्थानीय तहको जनमतलाई आधार मान्दा हाम्रा ३५ हजार मतदाता छन्। एमालेका २३ हजार मतदाता छन्। माओवादीका आठ हजार मतदाता छन्। डोटीमा गठबन्धनबाट टिक पाउने नेकपा समाजवादीको व्यापक हल्ला छ। उनीहररूको तीन हजार मात्रै मत छ। त्यस्तो पार्टीले टिकट पाउने हो भने शरीरले पुच्छर हल्लाउने भन्दा पनि पुच्छरले शरीर हल्लाए जस्तो हुन्छ। त्यसैले अहिलेको आवश्यकता भनेको कांग्रेस नै हो।
अनी केन्द्रले लाद्दा तीन हजार भोट दिन तयार हुनुहुन्छ?
गठबन्धनको पनि तीन/चार वटा मापदण्ड छ। केन्द्रले त्यो मापदण्ड अनुसार टिकट दिने हो। केन्द्रले त्यत्तिकै लाद्ने होइन। कसैको बलबुदा वा पैसा छ भन्दैमा टिकट पाइने चिज होइन। त्यहाँ कसको माहौल राम्रो छ। स्थानीय तहमा कसले जितेको छ। सबै मापदण्डमा कांग्रेस अग्रभागमा रहेकाले कांग्रेसले नै पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। यदि कुनै कारणले अपवादमा तीन हजारले नै आगामी निर्वाचनमा लिड गर्ने परिस्थिति भयो भने त्यहाँ ठूलो दुर्घटना हुने छ। हामी त केन्द्रीय गठबन्धनको निर्णय मानौला। हामी केही नेता जिलाउन लागौला। तर, ३५ हजार भोटरलाई मनाउन त गाग्रो छ। त्यो एक भरी गाग्रोबाट अर्को गाग्रोमा पानी खन्याय जस्तो होइन। मत दिने निर्णयक व्यक्ति भनेका जनता हुन्। जनता जनार्दन हुन्। उनीहरूले आफ्नो विवेक प्रयोग गर्छन्। उनीहरूले व्यक्ति , पार्टी सबैलाई हेर्छन्। त्यसैले तीन हजारलाई जिताउने पूर्ण ग्यारेन्टि हामी लिन सक्दैनौं।
तपाईं पनि टिकट कतै कांग्रेसले पाउँदैन कि भन्ने त्रासमा पनि देखिनुहुन्छ नी?
अहिले प्रतिस्पर्धात्मक समय हो। पार्टीमा टिकट कसले लिने। गठबन्धनमा पनि टिकट कसले लिने भन्ने खिचातानीको अवस्था हो। यो बेलामा त मानिस सजग हुन्छ। यो बेलामा कतै टिकट अरुले लगिहाल्छ कि भन्नेमा कन्फिडेन्ट कमजोर बनाएकै हुन्छ। त्यसलाई अन्यथा लिन मिल्दैन। हामीले अस्ति कोटेश्वरमा पनि कांग्रेसले टिकट पाउनुपर्छ। र, त्यसमा पनि युवाले टिकट पाउनुपर्छ भन्ने कुरा उठाएका थियौं। त्यसैले कांग्रेसले र त्यसमा पनि युवालाई टिकट दिनुपर्छ भन्ने हाम्रो जोडदार माग छ।
प्रेम आले पनि आफू जसरी पनि टिकट पाउनुपर्छ भन्ने अडानमा छन् नी?
त्यो उहाँको एकलौटी आवाज होला। डोटीमा कुनै पनि हालतमा गठबन्धन हुनु हुँदैन। गठबन्धन हुने नै भए पनि त्यहाँको बस्तुस्थितिलाई मनन गरेर गरौं। त्यहाँको धरातल एउटा छ। आधार एउटा छ। जग एउटा छ। अकै व्यक्तिलाई टिकट दिँदा अवस्था के हुन्छ? मूल्यांकन गरौं। इथार्थतामा नगएर उहाँले जित्नु हुँदैन। उहाँ समाजवादीको प्रभावशाली नेता भए म समानुपातिकमा बस्न सुझाव दिन्छु। नभए अन्य क्षेत्रबाट चुनाव लड्नुस्।
अब तपाईं व्यक्तिको कुरा गरौं, तपाईंको दाबेदारी किन?
नेपाली कांग्रेसले कुनै पनि निर्वाचनमा जाँदा ठूला सपना र आस्वासनका लड्डु बाड्दैन। त्यो क्षेत्रमा अहिलेको आवश्यकता के हो? जनताको चाहना के हो भन्ने बारेमा म जानकार छु। डोटीमा अहिले एउटा पनि प्राविधिक कलेज छैन। सबैभन्दा पहिला प्राविधिक कलेजका लागि पहल गर्ने छु। सबै पालिकामा सडक पुगेको छ, त्यसको स्तरोन्नतिका लागि पहल गर्ने छु। क्वालिटी शिक्षा नभएकाले दाजुभाइ तथा दिदी बहिनीका छोरा छोरीले पढ्न पाएका छैनन्। क्वालिटी शिक्षामा मेरो जोड रहने छ। भौतिक पूर्वाधार निर्माणमा ध्यान दिने छु। खानेपानीको समस्या छ। विभिन्न स्कुलमा भवनको अभाव छ। भवन, स्कुल र विद्यार्थी हुँदा शिक्षक छैनन्। यी कारणले गुणस्तरीय शिक्षा दिन सकिएको छैन। अहिलेको सबैभन्दा ठूलो समस्या भनेको बेरोजगारी हो। बेरोजगारीलाई समयमै समाधान गर्न, युवालाई जिल्लामै रोक्नका लागि मेरो जिम्मेवार भूमिका रहने छ। ससाना घरेलु उद्योगदेखि, कृषिको आधुनिकरणमा ध्यान दिने छु, पशुपालक कृषकका लागि विशेष योजना ल्याउन पहल गर्ने छु। स्वास्थ्यको विकासमा विषेश भूमिका रहने छ। कृषिमा जमिन छ, सिँचाई छैन। यी कुरामा पनि मेरो ध्यान जाने छ। उत्पादनले नै हो रोजगारी बनाउने। हामीले डोटीको उत्पादनलाई बाह्य क्षेत्रमा निर्यात गरे जिल्लाको काँचुली फेरिने छ।
डोटीका जनताको गुनासो क्षेत्रीय कार्यालय खोसिए, हाम्रा नेताहरूले केही गरेनन् भन्ने गुनासो सुनिन्छ नी?
राणा शासनमा, पञ्चायनमा भएको त्यहाँको राजधानी लोकतान्त्रीक गणतन्त्र आइसकेपछि खोसिएको छ। त्यसले हामीलाई दुःखी बनाएको छ। हामीसँग भएको साधनस्रोत खोसिएको छ। सबैका लागि सेन्टरको रुपमा रहेको राजधानी खोसेर तराईंमा ल्याउनु दुखद कुरा हो। राजधानीकै कारणले डोटीको विकास हुने थियो। सुगममा त त्यसै विकास हुन्छ। त्यसैले डोटेली जनताको विकास र समृद्धिको अधिकार पनि राजधानीसँगै खोसिएको छ। जुन दुखद कुरा हो। त्यतिबेला डोटीबाट प्रतिनिधित्व गर्ने सांसद बीरबहादुर बलायर मन्त्री हुनुहुन्थ्यो। त्यहाँको जनप्रतिनिधि भएका नाताले उहाँले कुनै दवाव मूलक कार्य गर्न सक्नु भएन। मन्त्रीबाटसमेत राजीनामा दिनसक्नु भएन। हामीलाई दुःख लागेको छ। हामीले त प्रधानमन्त्रीसमेतलाई भेटेर दवाव दिएका थियौं। हामी जिम्मेवार निकायमा थिएनौं। हाम्रो मात्रै दवावले काम गरेन।