मिलेको पहाड। चिसो पवन। कलकल बग्ने पानी। लहरै पत्थरले छाएका घर। हेर्दा भूस्वर्ग झैँ लाग्छ मलाई मेरो जन्मभूमि चाल्स। मानव जीवन हो, समयका ज्वारभाटाले कसलाई कहाँ पुर्याउँछ? पत्तै नहुने। कामको सिलसिलामा म गाउँ बाहिर रहेँ। २७ वर्षपछि जन्मभूमि चाल्स पुगे। २७ वर्ष पहिले झैँ भौगोलिक विकटता उस्तै छ। डाँडाकाँडा डोजरले कोपरेका छन्। तर, गतिलो बाटो छैन। सहजपुरबाट अहज बाटो र घुम्ती छिचोल्दै म चाल्स पुगे।
अहिले धेरै ठाउँमा बाटाघाटा पुगेका छन्। सुगम छन्। हामीलाई भने हाम्रो जन्मभूमि पुग्न अझैँ सकसपूर्ण यात्रा गर्नुपर्छ। चाल्स पुग्न भयावह भीर, डरलाग्दा घुम्ती छिचोल्नुपर्छ। सानो वर्षाले पनि बाटाहरू हिलाम्य हुन्छन्। घाम लाग्दा पनि सुख कहाँ छ र? धुलोको सास्ती खेप्नुपर्छ। डोजरले कोपरेर मात्र कहाँ सडक बन्छ र? मनमा एक बेगले प्रश्न गरिरह्यो। आफूलाई बोक्ने मोटरलाई बेला-बेला धकेल्नुपर्थ्यो। हामी यस्ता यस्तै दुःख भोग्दै गाउँ पुग्यौ। गाउँ पुगेपछि त अहो! खुसी कति हो कति? वर्षौंपछि आफू जन्मेको माटो स्पर्श गर्दामात्रै संसार जिते झैँ खुसी महसुस हुँदो रहेछ।
जोखिमपूर्ण यात्रा गर्दा घटित ठूला सडक दुर्घटनाको स्मरणले त्रसित तुल्याइरह्यो। पुरा नभएकै सडकमा सवारीसाधन कुदाउन दिने राज्यको गैरजिम्मेवारपनले लज्जित तुल्याइरह्यो। राज्य कोष रित्याएर काम गरिसकेपछि ठेकेदारले जिम्मेवारपूर्ण काम गर्नु नि, सरकारले त्यसको अनुगमन गर्नु नि। भएको प्रकृति पनि विनाश गरेर डोजरले सडक कोपर्दा उल्टै पहिरोको जोखिम देखियो। बन विनाश भएको देखियो। बजेट रित्तियो। यति धेरै कुरा सकेर निर्माण गरिएको सडक व्यवस्थित बनाइदिएको भए सबैको यात्रा कति सहजपूर्ण र सुरक्षित हुनेथ्यो होला? यात्राभर मनमा अनेकन् प्रश्न खेलिरहे। मैले यसरी लेखि रहँदा विकास विरोधी कुरा गरेको होइन। विकास भइसकेपछि त्यसको पूर्णता, गुणस्तर र विश्वसनीयतामा प्रश्न उठ्नु हुँदैन भन्नेमात्र हो।
![]()
अब त जीवन पनि ५० को वसन्तमा टेक्नै थाल्यो। जन्मभूमि जाने हुटहुटी पहिले देखिकै हो। तर, झन्डै हिँड्न छोडेको तीन दशक भइसकेछ। दुई दिन हिँडेर चाल्स कसरी पुग्ने भन्ने लागिरहन्थ्यो। दुःख नै पाएर भए पनि मोटरमा गाउँको माटो स्पर्श गर्दा औधी खुसी भने छु। एक गाडिसम्म कुद्न सक्ने हिलाम्य र धुलाम्य गोरेटो कुदिएको छ, त्यो एक दिन व्यवस्थित हुने आसा भने मनमा छ। त्यसैले सोही आसाको त्यान्द्रोमा मनलाई आनन्दित तुल्याउँदै यात्रा अनुभव बाँडिरहेको छु।
हाम्रो यात्राको उद्देश्य कुलदेताको पूजा थियो। त्यसैमा चार पाँच पुस्ता अघिको अधुरो पितृ कर्म पुरा गर्नु थियो। यसले दुई दिने पैदल यात्रा गर्न डराएको आँट अनि मरिसकेको साहसलाई झन्डै १५ घण्टा पहाडका उकाली ओराली छिचोल्न बाध्य बनाई दियो। यो यात्राको मुख्य अभीष्ट हामीले काँस कुशको पितृको मृत देह बनाई अन्त्यष्टिका लागि डोटी, अछाम सुर्खेतलाई संगम बनाई बहने कर्णालीको तिरसम्म पुग्नु थियो। जसका लागि हामीले झन्डै १५ घण्टा हिँड्नै पर्ने थियो। त्यहाँसम्म पैदल यात्राको विकल्प थिएन।
यात्रा अनि पितृ कर्मका लागि हामी हिँड्न सक्छौ भन्ने आँटका साथ दश परिवारका दश सदस्य र चार जना गाउँलेसहित १४ जना तयार भयौं। बिहान ५ बजे घरबाट निस्कियौँ, एक दुई जना सहयात्री बाटोमा मिसिन आइपुगे। सुरुको करिब डेढ घण्टाको उकालो उत्साह र जोसका तय गर्यौं। पछि ओरालो आयो। यसरी उकालीओराली आइरहे। एक ठाउँमा त पैदल मार्ग पूर्णतः अवरुद्ध भएर अग्लो ढिस्को बनेको थियो। जहाँबाट हाम फालेर बाटो छिचोल्नुको विकल्प थिए। पहाडमा बसेका दाजुभाइहरू फटाफट हाम फालेर हिँडे। सबैलाई हाम फालेको देखेर मैले पनि हाम फाले। मेरो शरीरको ब्यालेन्स बिग्रियो, हातको लौरो टुट्यो। मेरा दुवै घुँडा भूँइमा जोतिए। मेरा लागि अबको यात्राले यहीबाट विराम लिनुपर्ने देखियो।
![]()
यात्राका सहयात्री, अग्रज दाजु अनि काकाहरूले मलाई फर्किन आग्रह गर्नुभयो। कत्रो उत्साह अनि जोसका साथ सुरु गरेको यात्रा यसरी सुरुवातमै खण्डित हुन लाग्दा निकै पीडा अनि हीनताबोध भयो। जस्तो सुकै अवस्थामा पनि मलाई यो यात्रा तय गर्नु थियो। त्यसैले मैले कसैको कुरा सुनिन। म सक्छु भन्दै अघि बढे, खोच्याउँदै हिँड्न थाले। सहयात्री सबैको सोचाइ यो अहिले एक छिन त जसोतसो हिँड्ला पछि गाह्रो हुनेछ भन्ने थियो। त्यहाँ अप्ठ्यारो पर्दा बोलाउन मिल्ने एम्बुलेन्स वा अन्य सहयोग पाउने सम्भावना नै थिएन। त्यसैले पनि उहाँहरू मलाई जसरी पनि फर्काउन चाहनु हुन्थ्यो। तर, म अघि बढेँ। मेरो यो आँटलाई केही भाइहरूले साथ दिए। यात्रा अघि बढ्यो।
चार पाँच घण्टा लगातार ओरालो ओर्लिएर कर्णाली नदीको तटमा पुगेर पूर्वनिर्धारित दाहसंस्कार सम्पन्न गरी घरतिर फर्किने समय भयो। अघि सहजै ओर्लिएको ओरालो अब कठिन उकालोमा परिणत भयो। ओर्लिन भन्दा उक्लिन समय र थकान बढी हुन्छ नै। चार घण्टामा ओर्लिएको ओरालो करिब सात घण्टामा उकालोका रूपमा छिचोलियो। पहाडको बाटो भनेको ठाउँमा पानी नपाइने, अन्तिम संस्कार हिँडेको मान्छे खाना खाने कुरै भएन। आँटेपछि सकिँदो रहेछ, हिँडेपछि पुगिँदो रहेछ। मनमा एक निदृष्ट लक्ष्य भए यात्रामा हुने दुखाइ, थकाई, भोक, प्यासले छेक्दा रहेनछन्। असम्भव प्राय देखिएको यात्रा तय भयो। सम्पन्न भयो। घर पुगियो।
अहिले यो सब सम्झिँदा यात्रा केवल खुट्टाले हिँड्नु मात्र होइन रहेछ यात्रा गन्तव्यसम्म पुग्नु मात्र पनि होइन रहेछ। यो त यथास्थिति, वस्तुस्थितिको नजिकको अनुभूति, समाज, जीवन, जीवनशैली, संस्कार, परम्पराको एक चित्र रहेछ। त्यस भन्दा बढी यो जीवन, जीवन दर्शनको गहिराइ भेट्ने अनुभूति र आफ्नै सोचाइको उच्चतम अनुभूति रहेछ। आफ्नै सुझबुझ, आँट, साहस, धैर्य, सहन शक्तिको परीक्षा रहेछ। यो एक नितान्त वैयक्तिक अनुभव अनि अनुभूति रहेछ। पढ्न नसकिएको बुझ्न नसकिएको ज्ञान अनि अनुपम दर्शन रहेछ।
यो यात्राले मेरो क्षमता, सुझबुझ अनि स्मृतिलाई पुनर्जागृत गरायो। बिर्सिएका स्थल, आत्मिक अनुहार अनि जन्मँदा हुर्कंदा साथ दिएका सम्बन्धलाई पुनर्जागृत गरायो। बिर्सिसकेको समाज, आफन्त, संस्कार, परम्परा, रीतिथिति सम्झाइ दियो। आफन्तहरू सङ्गको सम्बन्ध, अपनत्व, आत्मीयता, प्रेम, स्नेह ताजा बनाई दियो। भुलेको जीवन दर्शन, कर्म अनि सम्बन्ध सम्झाइ दियो। मनमा यस्ता अनगिन्ति स्मृति अनि भावहरू भरिएका छन्। लेखुँला वा लेखिनु पर्छ भन्ने लागेको थिएन। तर, यज्ञप्रसाद दाजु यज्ञ राज जोशी (भुड) भाइ तिमी त स्कुल पढ्दै यात्रा अनुभूति लेख्ने मान्छे यसपालिको यात्राको बारेमा पनि लेख है भन्ने आग्रह, आफै पनि साहित्यको विद्यार्थी बेला बखत फेसबुकमा स्ट्याटस लेखिराख्ने बानी, प्रियजनको आत्मीयता, प्रोत्साहन आदि मर्न दिनु भएन भन्ने लागेर फोन प्याड थिचेको हुँ। शब्दहरू जोड्दै छु। मरो यो प्रयास शब्द भन्दा भावना, लेख्नु भन्दा देखाई, भोगाई अनि अनुभूति पो हो भन्ने लागेर मनका केही थान स्मृति यहाँ गरेको हुँ। यस यात्रामा साथ हिँडेका सबै अग्रज, आत्मीयजनको आशीर्वाद, माया, प्रेम, स्नेहको लागि हार्दिक आभार, कोटीकोटी आभार।