आजको मानिसलाई हेर्दा अचम्म लाग्छ। के भएको होला? कस्तो अर्थहीन अवस्था? कस्तो पट्यार लाग्दो जिन्दगी? यस्तो आत्म विपन्नता हुँदाहुँदै पनि मानिस बाचिरहेको छ। मानिसभित्र आत्म खोज्दा केवल अन्धकार भेटिन्छ। मनुष्यको जीवनलाई नियाल्दा केवल मृत्यु देखिन्छ। जीवन छ तर जिउने भाव छैन। जिउने कला छैन। जीवन छ तर केवल एउटा भारी। कसैको पनि जीवनमा सौन्दर्य, शान्ति देखिँदैन। नाम मात्रको यस्तो पनि जीवन। यस्तो जीवनको आनन्द छैन। यस्तो जीवनमा आलोकता छैन। पशुपन्छी र बोटबिरुवा आनन्दसँग बाचिरहेका छन्।
मानिसलाई भने बाच्नै आएन। मानिसले बाच्ने कला नै जानेन। आजभोलि मानिसले दीन दुई गुणा रात चार गुणा भौतिक प्रगति गरेका छन्। समृद्धि हासिल गरेका छन्। तर म भन्छु- हे परमात्मा यस्तो किसिमको तथाकथित सभ्यता र भौतिक विकासबाट बचाउ। बाहिरको सम्पन्नता आन्तरिक गरिबिलाई भुल्ने एउटा उपाएमात्र हो। यो समृद्धि, यो शक्ति, यो प्राप्ति सबै एउटा पलाएन हो। आफैबाट भाग्नु हो। कथित भौतिक सम्पन्नताको खोललाई उघारेर हेर्दा मानिसभित्रको आन्तरिक गरिबी देखिन्छ। अनि हृदय करुणाले भरिन्छ। यही गरिबिलाई ढाक्न, यही गरिबिलाई बिर्सन मरिमेटेर आजको मानिस पैसाको पछाडि दौडिएको छ, दौडिएको छ। आत्महिनताले ग्रसित मानिसलाई मरिमेटेर पद चाहिन्छ। आत्म गरिबीले गडेको मानिस बेसरी धनको पछाडि दौडिन्छ।
के तपाईं भौतिक वस्तु आर्जनका लागि धर्तीमा आउनु भएको हो। यसैको सङ्ग्रहबाट सन्तुष्ट हुन सक्नुहुन्छ। कि चेतना विकासको प्यास पनि छ तपाईंभित्र। आफ्नो पूर्णता प्राप्तिको प्यास पनि छ तपाईंभित्र। जुन व्यक्ति बस्तुहरूको समृद्धिमा आफ्नो सन्तुष्टि खोज्दछ, उ अन्त्यमा असन्तुष्ट भएर मर्दछ। बस्तुहरूले केवल सुविधा दिन सक्छन्। सन्तुष्टि दिन सक्दैनन्। सुविधा र सन्तुष्टिमा फरक छ। सुविधा भनेको कष्टको अभाव हो। सन्तोष भनेको आनन्द प्राप्ति हो। कहिलेकाहीँ आफैले आफैलाई मेरो हृदय के चाहन्छ भनेर प्रश्न गर्नुपर्छ। मेरो प्राणको प्यासले के चाहन्छ भनेर प्रश्न गर्नुपर्छ। मेरो श्वास रोम रोमले खोजेको के हो? सोध्नु भएको छ कहिल्यै। मत त्यो कुरा पाउन चाहन्छु जुन पाएपछि पाउन केही बाँकी रहँदैन। मेरो यो जवाफ नै तपाईंको अन्तरआत्माको पुकार हो। सबै मानिस समान छन्। उनीहरूको हृदय समान छ। प्रत्येकको आत्यन्तिक चाहना पनि समान छ। त्यो हो, आनन्द। आत्मा पूर्ण आनन्द चाहन्छ। अनिमात्र सम्पूर्ण चाहनाहरू थन्किन्छन्।
जहाँ चाह त्यहाँ राह भन्ने भनाइ छ। तर, मलाई जहाँ चाह त्यहाँ आहा भन्ने लाग्छ। आहा भनेको दुःख। चाहमा अभाव हुन्छ। आनन्द भनेको सम्पूर्ण अभावहरूको पनि अभाव हो। आनन्द नै स्वतन्त्रता हो। आनन्द नै मुक्ति हो। भजनमा आनन्द, मिराको गीतमा आनन्द, नारदको वीणामा आनन्द। हाम्रो सम्पूर्ण स्वरूपको पूर्ण विकास नै आनन्द हो। चेतनाको परम अवस्थामा आनन्दको फूल फक्रिन्छ। स्वरूप नै सत्य हो। त्यसको पूर्ण उपलब्धिबाट सन्तोष प्राप्ति हुन्छ। सन्तोषबाट आनन्दको धार बग्दछ। स्वरूपको सम्पदालाई बिर्सेर जो बाहिर बाहिर सम्पदा खोज्दै हिँड्छ उ अन्त्यमा विपदामा पर्छ। बाहिरको कुनै पनि सम्पत्ति र उपलब्धिले अभावलाई मेट्न सक्दैन। किनकि अभाव आन्तरिक हुन्छ। बाहिरको कुनै पनि विषय र विजयले त्यस अभावलाई परिपूर्ति गर्न सक्दैन। त्यस कारण त बाहिर जे पाए पनि पाए जस्तै लाग्दैन। नपाएपछि कस्तो पाएपछि सस्तो जस्तो लाग्छ।
सुरक्षाका लागि मानिस सम्पत्ति जोड्दै जान्छ। अनि उल्टै त्यही सम्पत्तिको सुरक्षा गर्नुपर्ने पिर बढ्दै जान्छ। बाहिरी सम्पत्ति, बाहिरी सुविधा, बाहिरी शक्ति यी सबै कुराबाट न अभाव मेटिन्छ, न असुरक्षा मेटिन्छ, न भए मेटिन्छ। सम्पत्तिको झुटा आश्वासनले हदै गर्यो भने अभावलाई, असुरक्षालाई, भएलाई बिर्सन्छ मानिस। त्यसैले त सम्पत्तिलाई शास्त्रमा मद पनि भनिएको छ। मद त्यो बस्तु हो। जसले मत्त्याउँछ। सम्पत्तिले मानिसलाई यतिधेरै मत्त्याउँछ कि उसले सत्यतथ्य बिर्सिन्छ। अभावलाई बिर्सिनु भन्दा अभाव नै राम्रो होइन र? अभाव भइरह्यो भने मेट्ने कोसिस रहन्छ। अभाव नै हरायो भने मेट्ने कोसिस पनि हराउँछ।