सहज जीवनका सूत्रहरू - Chaitanya News
  • 2026-04-30
  • 11:53:51
  • बिहिबार,बैशाख १७, २०८३
  • ॐ नमः शिवाय

    गुरु गोरखनाथका दिव्य वाणी प्राचीनमा प्राचीनतम र नवीनमा नवीनतम छन्। अहिले संसारमा विभिन्न नाममा चलेका योगको उत्पत्ति शिवजीबाट भएको हो र त्यसलाई फैलाउने दुई महान् अवतारी पुरुष गुरु गोरखनाथ र पतञ्जली हुन्।
    ‘आसण दिढ, अहार दिढ, जे न्यद्रा दिढ होई।
    गोरष कहै सुणौं रे पूता, मरै न बूढा होई।।’

    अर्थात्- गुरु गोरखनाथ भन्नुहुन्छ- हे पुत्रहरू सुन; आसन, आहार र निद्रा जसको सुव्यवस्थित छ, उसले वास्तवमा असमयमै बुढो हुनु पर्दैन, मर्नु पर्दैन।

    जीवन र मृत्यु एक अर्काका पूरक हुन्। असल जीवन बाँचेको मानिसले गौरवशाली मृत्यु पाउँछ र यस्तो सुन्दर मृत्यु बनाउन गौरवशाली जीवन बाँचेको हुनुपर्छ। त्यसका लागि चाहिने उपर्युक्त तीन कुराहरू नै मुख्य हुन्। हामी जहाँ रहे पनि जीवनका तीन कुरामा नियन्त्रण, सन्तुलन र गुणस्तर (Control, Balance and Quality) हुनुपर्दछ- आसन, आहार, र निद्रा।

    (१) आसन :

    बस्ने व्यवस्था वा बस्नुलाई पनि आसन शब्दले बोध गराउँछ। बस्नुको अर्थ केवल थुचुक्क बस्नु मात्रै होइन। रहनु वा जीवनचर्या निर्वाह गर्नु पनि हो। जीवननिर्वाह गर्नका लागि व्यवस्थित पद्धतिको खाँचो पर्छ। यसका साथै योगका आसनहरूको पक्ष स्मरणीय छ। त्यस विषयमा गुरु गोरक्षनाथको सुन्दर विचार मननयोग्य छ।

    हिजोआज त मानिसलाई थाहा पनि छैन कसरी बस्ने ? यस बारेमा विभिन्न प्रकारका आसनहरू छन्। अरु कुनै आसन नजाने पनि पद्मासन, सुखासन जस्ता सरल आसन नियमित विधिपूर्वक बस्न सिक्नुपर्छ- ‘स्थिरं सुखमासनम्।’ यी आसनमा बस्नाले तपाईंलाई सुख हुनुका साथै तनावमुक्त हुन सहयोग गर्छ। हाम्रो स्वास्थ राम्रो राख्नका लागि पनि अनिवार्य रूपमा हामीले आसनको बारेमा जान्नुपर्छ। साङ्केतिक रूपमा गाउँघरमा हामी भन्छौं, सुन्छौँ नि, कम्मर कसेर बस्नु। अर्थात् कसरी बस्ने हो ? बस्ने सही तरिका के हो ? सिकेर, बुझेर बसौँ किनकि जीवनमा आसन ज्यादै महत्त्वपूर्ण छ। आसनको यही महत्त्वलाई विवेकमार्तण्डमा गुरु गोरखनाथले स्पष्ट पार्नु भएको छ-

    ‘आसनेभ्यः समस्तेभ्यो द्वयमेव प्रशस्यते।
    एकं सिद्धासनं प्रोक्तं द्वितीयं कमलासनम्।।’

    (२) आहार

    ‘जैसा खाए अन्न वैसा बने मन’ भन्ने हिन्दीको भनाइ छ। खाने वस्तु शुद्ध, बलदायक त चाहिन्छ नै त्यसका साथै खाना र खाने मानिसको पवित्रता पनि त्यसमा भर पर्ने कुरा हो। खाने कुरा बनाउने सीप र जाँगर पनि त्यसमा भर पर्ने कुरा हो। बुद्धि वा चेतनाका दृष्टिले हितकारी त अवश्य हुनै पर्यो। के सोच्नुभएको छ खानुपूर्व? केका लागि खाने? के खाने? के नखाने? कसरी खाने? कहिले खाने? कति खाने? सबैमा विवेक पुर्‍याउनु पर्छ। श्रीमद्भगवद्गीतामा भनिएको छ-

    ‘युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु।
    युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा।।’

    सही आहार, भोजनले मात्रै हामीलाई शुद्ध र सिद्ध गराउँछ। मानिसले आज भोजनशैली नजानेर दुःख पाइरहेका छन्। हामीले जिब्रोको स्वादका लागि खान खोज्छौं तर शरीर बलियो तन्दुरुस्त बनाउन सोच्दैनौँ। रोगी मानिसले प्रगति, उन्नति, परिवार र आफन्तमा प्रेम आदि चाहेर पनि गर्न सक्दैन। तसर्थ केही सेकेन्डको स्वादको लागि जे मन लाग्छ त्यही पेटमा नहाल्नु होस्। आहारमा सन्तुलन होस्, शाकाहारी बन्नुहोस् र सात्विक भोजन गर्नुहोस्। हितकारी भोजन गर्नुहोस्। आफ्नो शरीर अनुसारको भोजन छनोट गर्नुहोस्। गुणस्तरयुक्त थोरै भोजन गर्नुहोस्। पेट भरेर खानु भन्दा पनि केही कम भोजन गर्नुहोस्। २-४ गाँस भए पनि कम भोजन गर्नुहोस्। पेटको ४ भागको १ भाग खाली राख्नुहोस्- ‘मारुतस्य प्रचारार्थं चतुर्थमवशेषयेत्।’ ऋतु अनुसारको भोजन गर्नुहोस्। हाम्रा चाडपर्वहरू हेर्नुहोस् त, गर्मीमा सातुसर्वत, साउनमा गेडागुडी (क्वाँटी) जाडोमा तेलजन्य घ्यु, चाकु तरुल आदि।

    (३) निद्रा

    ‘आहारनिद्राभयमैथुनञ्च एतन्नराणां पशुभिर्समानम्।
    धर्मो हि तेषामधिको विशेषो धर्मेण हीनाः पशुभिः समानाः।।’ चाणक्य

    पशुको जीवन प्राकृतिक हो भने मानिसको जीवन आध्यात्मिक हो। सबै प्रकारका व्यवहारमा आध्यात्मिकता छ कि छैन ? भनेर जाँच्नु आवश्यक छ। आहार, आसन र जीवन रक्षाको प्रयास जस्तै निद्रा पनि अर्थात् विश्राम गर्नु पनि जीवनमा आवश्यक छ। स्वस्थ जीवनले स्वस्थ मन बन्छ।

    हाम्रो आसन र आहार ठीक छ भने निद्रा पनि सही हुनेछ। सुत्नु भन्दा ३— ४ घण्टा पहिले भोजन गर्नुहोस्। सुत्ने बेला टेलिभिजन आदि नहेर्नुहोस्। ६-८ घण्टा जति सुत्नुहोस्। सुत्नुपूर्व व्यापारिक, व्यावसायिक कुरा नगर्नुहोस्। सकारात्मक कुरा गर्नुहोस्। असल पुस्तक, सद्ग्रन्थ अध्ययन गर्नुहोस्। ॐ कार ध्वनिको जप गर्नुहोस्। यदि हाम्रो आसन, आहार र निद्रा सही छ अर्थात् नियन्त्रित, सन्तुलित र गुणस्तरीय छ भने बढ्दो उमेर बुढ्यौलीप्रति चिन्ता लिनुपर्दैन। यस्ता व्यक्तिको अकाल मृत्यु हुँदैन। अतः गोरखनाथ भन्नुहुन्छ- हे ! मेरा सन्तान हो, पुत्र हो ! सुन। आसन, आहार र निद्राको चक्र राम्रोसँग पुरा गर, सुखी बन। त्यसैले हामी जहाँ पायो त्यहीं थ्याच्च नबसौं; जे पायो त्यही नखाऔं र जहाँ पायो त्यहीं नसुतौं भन्ने हाम्रा उखान टुक्कालाई पनि मनन गरौँ।

    अहिलेका मानिसको जीवन प्राविधिक, यान्त्रिक बन्न गएको छ। स्व- भाव, स्व- संचालन, स्व- विवेक, स्व- निर्णय गुम्दै जाँदा जीवन मसिन जस्तो बन्न गएको छ। अर्काले चलाइदिनु पर्ने, अर्काले रिचार्ज गरिदिनु पर्ने, त्यही भएर निद्रा गुमेको छ। ‘निद्रादेवी नमोक्स्तु ते’ भनिए तापनि निदाउनु ठूलो कि सुत्नु ठूलो? भन्ने स्व- विवेक र निर्णय हराउँदै गएको छ। दुर्गासप्तशती/चण्डी पाठ जति गरे पनि आज हाम्रो जीवनबाट निद्रादेवी हराउँदै गएकी छिन्-

    ‘या देवी सर्वभूतेषु निद्रारूपेण संस्थिता।
    नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।’

    जीवनमा एकप्रकारको अनुशासन हुनैपर्छ। अनुशासन बिना आत्मानुशासन हुँदैन र आत्मानुशासन बिना आत्मज्ञान पनि हुन सक्दैन। सपना छ भने साधना पनि हुनु पर्‍यो। दुगुर्ने रहर छ भने खुट्टा पनि त हुनु पर्‍यो। ठूलो महल बनाउनु छ भने ठूलै जग पनि त हुनु पर्‍यो। गाडी कुदाउनु छ भने एक्सिलेटर, क्लज र ब्रेकमा सही सन्तुलन पनि हुनु पर्‍यो। मूलमै अल्मलियो भने ध्येयमा कहाँ पुग्न सकिन्छ र? गफमै खुम्चियो भने लक्ष्यमा कहाँ पुग्न सकिन्छ र? साधनमै अपूर्णता छ भने साध्यको प्राप्ति कसरी हुन्छ र?

    आसनमा, आहारमा, निद्रामा सन्तुलन भनेकै एक साधना हो। विशिष्ट साध्यका प्राप्तिका लागि आसनले न केवल शरीरलाई सुधार्छ अपितु सङ्कल्पलाई बढाउँछ र मनलाई पनि बलियो बनाउँछ। आहारले न केवल स्वास्थ्यरक्षा गर्छ अपितु सात्विकता, पवित्रता, व्रतशक्ति र संयमशक्तिलाई पनि बढाउँछ। निद्राले न केवल शरीरलाई आराम दिन्छ अपितु मनलाई सहज, सरल, सक्षम र स्फूर्तिमान् पनि बनाउँछ। चाहे यौगिक साधना होस्, या व्यापारिक, व्यावसायिक प्रसङ्ग होस्, या धार्मिक, बौद्धिक प्रसङ्ग होस्, या सामाजिक, राजनीतिक प्रसङ्ग होस्; हरेक प्रसङ्गमा कुनै पनि व्यक्तिको व्यक्तित्व र क्षमताको पहिचान सर्वप्रथम आसन, आहार र निद्राबाट नै हुन्छ। चिकित्साको क्षेत्रमा सर्वप्रथम रगत परीक्षण, रक्तचाप परीक्षण र मूत्र परीक्षण गरी रोगीको अवस्था निर्धारित भए जस्तै आसन, आहार र निद्राद्वारा नै साधकको साधना शक्ति निश्चित हुन्छ; जीवन यात्रा सुनिश्चित बन्छ। अनौठो विषय के छ भने ठूला- ठूला कुरा गर्नेहरूले नै अत्यन्तै महत्त्वपूर्ण स-साना विषयमा ध्यान दिंदैनन्। आत्मज्ञानको बारेमा बोल्नेहरू नै आफ्नै लापरवाहीले गर्दा अनेकौं रोगमा फसेका देखिन्छन्।

    गोरख दर्शन र साधना अनुसार मृत्यु त पक्कै हुन्छ, जन्मिए पछि तर मृत्युको भय, चिन्ता भने सबैलाई हुँदैन। वृद्ध त सबै हुन्छन् प्रकृतिको नियम अनुसार तर बुढापाको पीडा कष्ट सबैलाई हुँदैन– ‘मरे न बुढा होई।’ प्रकृतिको नियम अनुसार जे हुनुपर्ने हो त्यही हुन्छ तर प्रकृतिलाई भुलेर विकृतिमा बाँच्नेहरूले अर्थात् आहार, विहार, आराम र आनन्दको महिमा नबुझनेहरूले आफू र आफ्नालाई दुःखी बनाउँछन्। गीताको १६ अध्याय, दैवासुरसंपद्विभागयोग, पहिलो श्लोकको पहिलो सूत्र ‘अभय’ ले पनि दैवीसम्पदाको लक्षण बताउँदै ‘मरे न बुढा होई’ लाई प्रष्ट पारेको छ-

    ‘अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः।
    दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम्।।’

    जय गुरु गोरखनाथ।।