सेनिटरी प्याड - Chaitanya News
  • 2026-05-24
  • 22:56:03
  • आइतबार,जेठ १०, २०८३
  • भुइँचालोले देश दुखेको छ अहिले। गाउँ सहर अस्तव्यस्त छ।

    पालमा बसेका धेरै पीडितको अनेक खाले समस्याका बीच महिलाहरुको रजस्वलाको बारेमा बेग्लै समस्या थियो।

    यो समस्याको समाधानका कुरा कुनै संस्थाले उठाएनन्। निकैबेरको छलफल पछि राकेश उठे र भने, “अहिलेको अवस्थामा हामीले महिलाका समस्या पनि हेर्नुपर्छ उनीहरूलाई धेरै गाह्रो भएको हुन सक्छ। हामीले सेनिटरी प्याड बाँड्ने विषयमा पनि सोचौं।” सबै सहमत भए र ताली बजाए। अर्थ संकलन पनि भयो। सहयोगका सामान किनियो।

    संस्थाबाट विभिन्न ठाउँमा रहेका पीडितलाई रासन वितरण सँगसँगै महिलाका लागि प्याड बँडियो। राकेश पनि अग्रभागमा रहेर छोरी बहिनीहरूलाई प्याड बाँडिरहेको सामाजिक सञ्जालतिर तस्बिरहरू आइरहेका थिए।
    घरमा बसेका छोरी र श्रीमतीले सञ्जाल मार्फत हेरिरहे।

    केही दिनपछिको कुरा हो। लोबेडको घर्राको छेउमा देखिएको प्याकेट देखाएर ठुलो स्वरले चिच्याए राकेश, ” छि छि छि,ए राधा ! त्यो के हो ?” राधाले सामान्य आवाजमा भनिन्, “प्याडको कभर रैछ।अघि हतारमा यतै राखेर काम गर्न लागेँ यतै पो बिर्सेछु नि। केको छि छि हो ?”

    “के कहाँ र कसरी राख्ने सम्म थाहा हुन्न तिमीहरूलाई।”
    “मानौँ उनले अर्थात् छोरामान्छेले देख्नै, छुनै नहुने कुरा देखेझैँ। उता राकेश कड्कँदै थिए जोड जोडले।

    राधा एक्लै गनगनाउँदै “घरमा प्याडको प्लास्टिक देख्दा श्रीमती सँग झगडा गर्ने! बाहिर भने आफै प्याड बाढ्दै हिँड्ने अचम्मका छोरा मान्छेहरू।” राधाले प्याडका खोल लिएर भित्र पसिन्। उता राकेश फुत्त बाहिर निस्के …. !

    गान्तोक, सिक्किम