निजामती सेवामा केही चुनौती छन्। निजामती सेवाको साख गिर्दो अवस्थामा छ। शाखा गिर्नमा बढी दोषी प्रशासक नै हो। हामीले राजनीतिलाई निजामती सेवाका बारेमा बुझाउन सकेनौं कि? अथवा सरुवा, बढुवाका लागि उनीहरू कहाँ गयौं कि? निजामती सेवाको कर्मचारीले जहाँ रहेर पनि देशको सेवा गर्ने भएकाले म कुनै पनि नेता कार्यकर्ताको घरमा सरुवा, बढुवाका लागि जाँदैन भन्नेहो भने धेरै सुधार ल्याउन सकिन्छ। मुखियादेखि जागिर खाएको मैले चाहिँ सकेँ। दुई/तीन पटक नै जागिरबाट राजीनामा दिनुपर्यो। सचिवकै पदबाट मैले दुई पटक राजीनामा दिए। त्यसबाट मलाई केही फरक छैन। जागिर खानलाई मात्र हामी जन्मिएका छैनौं। हामी निष्ठावान बन्नुपर्छ। लालसाबाट अलि परै रहनु राम्रो हो। सार्वजनिक जिम्मेवारीमा छु, मैले धेरै कुरालाई बुझेर अगाडि बढ्नुपर्छ सोच्नुपर्छ। सचिव निकै व्यस्त हुनुहुन्छ। सहसचिवहरू सचिवको क्रममा हुनुहुन्छ र धेरै सहसचिवहरू बोल्न सक्नु हुन्न। केही सचिव बोल्न सक्नुहुन्छ, उहाँहरूमा व्यवहारिक ज्ञान छैन। लेखेर गएका साथीहरूमा व्यवहारिक ज्ञान थप खस्कँदो अवस्थामा देखेको छु।
यो अनुभव मसँग काम गर्दाको पनि छ। मैले मन्त्रालयमा सचिवको भूमिकामा रहेर काम गर्दा पनि यो अनुभव गरेको छु। अर्को भनेको जानकारी लिने कुराको एकदमै अभाव छ। पास गरौं, सकियो भन्ने भावना छ। आफूले जान्न र बुझ्न पर्ने कुरामा सधैँ उद्धत भइराख्नुपर्छ। वृत्ति भनेको सेवा, पद र ज्ञान बढाउने हो। निष्ठा, विवेक र व्यावसायिकता बढाउने कुरा होइन भन्ने किसिमको बाहिर सन्देश गएको छ। अब त्यस्तो कुरा बाहिर जान दिने छैनौं भन्ने कुरामा सबै जना सजग हुनुपर्छ।
अहिले तपाईंहरू उपसचिवको रूपमा तीन तहको सरकार भएको समयमा आउनु भएको छ। एकले अर्कालाई गाली गर्ने प्रचलन बढेको छ। तीनै तहका सरकारलाई म पनि सरकार हो, म पनि सरकार हो भन्ने अनुभूति गराउने काम कर्मचारीको हो। कर्मचारी शासनको पनि प्रशासन हो। सेवा दिँदा सेवाग्राहीको अनुहार कस्तो भयो? भनेर हेर्नुपर्छ। राष्ट्र सेवकमा निष्पक्षता हुनुपर्छ। निष्पक्ष भइयो भने साह्रो राम्रो प्रभाव पार्न सकिन्छ। आस्था, दर्शन, लिंक जस्ता कुरामा विभाजित हुनु हुँदैन। नैतिक संस्थाको विवेकशील व्यक्ति भएर काम गर्नुपर्छ। दोस्रो कुरा निष्पक्षता भएरमात्र भएन, व्यावसायिकता पनि हुनुपर्यो। आफूले गर्ने काम अर्कोको भन्दा राम्रो हुनुपर्छ। तपाईंले एउटा रोल मोडल त गरिसक्नु भएको छ। त्यो छैन भने पनि एउटा बिम्ब बनाएर काम गर्नुहोस्। तेस्रो कुरा इमानदारिता हो। ज्ञान र क्षमता भएर इमानदारिता भएन भने पनि हुँदैन। निजामती कर्मचारी भनेको राष्ट्र सेवा र वृत्ति सेवा सँगसँगै लैजाने मानिस हो। यी दुई कुरा निजामती सेवामा मात्र पाइन्छ।
यी तीन गुण भएमा राजनीतिज्ञदेखि सेवाग्राहीसम्मले मान गर्छन्। दुई गुण भए राम्रो कर्मचारी हुन सकिने भयो, एउटा गुण भएमा सामान्य कर्मचारी भइने भयो। एउटै गुण भएन भने त सक्किगो। त्यसैले ती तीन कुरा जीवनभर सम्झेर प्रत्येक दिन मैले राम्रो गर्छु ठान्नुपर्छ। मैले छोड्ने पदचाप यस्तो राम्रो हुनेछ भन्ने कुरामा लाग्नुपर्छ। म भोलिको लागि तयार हुन्छु भनेर अगाडि बढ्नुभयो भने कम्तीमा तपाईंलाई आत्मसन्तुष्ट हुन्छ। जीवनमा कहिले पनि आत्मले स्वीकृत नदिएको काम नगर्नुहोला। विवेकले भनेको काम गर्नुहोला। निजामति कर्मचारीको व्यक्तिगत जीवन हुँदैन। सार्वजनिक जीवनमात्र हुन्छ। सार्वजनिक जीवनमा व्यक्तिगत कुराहरू पहिले नै तिलाञ्जली दिएर स्वार्थलाई घरमा राखेर सार्वजनिक जीवनमा प्रवेश गर्नु भएको छ। सचिव हुँदासम्म आफ्नो जीवनमा राम्रा कुरा अङ्गीकार गर्दा आत्मसन्तुष्टि हुन्छ। समाजले पनि सम्झिरहन्छ। कतिपय गर्न चाहेर नसकेका कुरा अहिले कोट्याउन मन लाग्छ। लेखमा ती भाव अभिव्यक्त भइरुहेका हुन्छन्।
भूमि व्यवस्थाको सचिव हुँदा मैले नेपालमा कुनै पालिकामा उत्पादन योग्य भूमि कति, त्यहाँको क्षेत्रफल कति जस्ता कुराहरू विश्वभरबाट हेर्न सक्नेगरि अनलाइन प्लेटफर्म बनाउन खोजेको थिए। सकिन नि। सक्ने सक्ने समयमा सरुवा गरिदियो। अहिलेसम्म बन्छ कि बन्छ कि भनेको बनेको छैन।
(जेठ २६ मा चैतन्यले उपसचिवमा सिफारिस उम्मेद्वारका लागि आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा मैनाली राखेको धारणाको सम्पादित अंश)