सुनौं, हेरौं र सोचेर बोलौं - Chaitanya News
  • 2026-04-30
  • 11:53:51
  • बिहिबार,बैशाख १७, २०८३
  • ‘सर्वरूपमयी देवी, सर्वं देवीमयं जगत्।
    अतोऽहं विश्वरूपां तां नमामि परमेश्वरीम्।।’

    अर्थात्- हे देवी, तिमी सर्वरूपमयी छ्यौ, यो जगत् पनि देवीमय छ। तिमी विश्वरूपा छ्यौ। अतः हे परमेश्वरी तिमीलाई नमस्कार छ।

    देवीशक्ति भनेको सृष्टिकारिणी शक्ति हो। पृथ्वी, धरणी, सृष्टि, प्रकृति, निद्रा, सुषुप्ति आदि तमाम सबै देवीशक्तिका बोधक हुन्। देवीको सम्मान गर्ने बोली बोल्न सिक्यौँ भने धेरै कुरामा अनुशासित हुन सकिन्छ। देवीशक्तिमा अनुशासित बोली व्यवहार बनाउन सकिएन भने अन्य कुरामा राखिएको अनुशासन र बोलिएको बोलीले धान्न सक्तैन।

    जीवन सफल हुनका लागि सद्गुरु होस्, सद्ग्रन्थ होस्, सद्वचन होस् र सत्सङ्ग होस्। यदि यी हामीसँग छैन भने जहाँ रहे पनि हामी दुःखी हुन्छौँ। हाम्रो जीवन नरक बन्छ। सद्गुरु, सद्ग्रन्थ, सद्वचन र सत्सङ्गले हाम्रो जीवन सभ्य र विकसित बनाउँछ। हाम्रो जीवनमा समस्या आउन नदिन र आएका हरेक समस्यालाई सरल रूपमा व्यवस्थापन गर्न सिकाउँछ। त्यसैले गुरु गोरखनाथ भन्नुहुन्छ:-
    ‘गोरष कहे सुणहु रे अवधू, जग में ऐसे रहणां।
    आँषैं देखिबा कानैं सुणिबा, मुष थें कछू न कहणां।।’

    अर्थात्- गोरखनाथ भन्नुहुन्छ- हे साधु सन्त सुन्नुहोस्, आँखाले हेर, कानले सुन तर मुखले केही पनि नबोल।

    यस संसारमा यसरी नै सहज जीवन निर्वाह गर। मुखले नबोल भन्नुको तात्पर्य मूक बनेर बस्नु भन्ने पटक्कै होइन। सबैको दुःख मेटाउन र अन्याय परेका ठाउँमा अन्यायको प्रतिकार गर्न आफैँ पनि बोल्नुपर्छ। बोल्नका लागि अवसर नदिइएको अवस्थामा र बोलेको बोली अर्थहीन हुने अवस्थामा भने बोल्नु हुँदैन। बोलेको बोलीमा वक्ताको आदर र जगत्को हित छ भने त्यो बोली जुनसुकै अर्थमा प्रशंसनीय हुन्छ।

    जगत्मा यसरी रहनु, आँखाले देख्नु, कानले सुन्नु तर मुखले केही नभन्नु। हामी सोचेर बोल्दैनौँ। तुरुन्तै प्रतिक्रिया दिन्छौँ, प्वाक्क बोल्छौँ। संसारमा यस्ता विकट समस्या छन्, घटना घट्छन्, विपद् आउँछन्; ती बेला हामीले सुनौँ, हेरौँ तर नबोलौं। गुरु गोरखनाथले वाणीको साधनालाई अत्यन्तै महत्त्वपूर्ण स्थान दिनुभएको छ। हाम्रो मनको जुन विकार व्यक्त हुन्छ, त्यो वाणीको माध्यमबाट हुन्छ। हाम्रो मनको विकार अन्य इन्द्रियको माध्यमबाट त्यति व्यक्त हुँदैन जति वाणीबाट हुन्छ। जहाँ व्यक्त गर्ने बित्तिकै अरुले थाहा पाउने, प्रतिक्रिया ल्याउने, दुष्प्रभाव पार्ने हुन्छ। त्यसैले गुरु गोरखनाथ भन्नुहुन्छ, यो संसारमा निर्विकार, अनासक्त भएर बस। मनलाई, बुद्धिलाई नियन्त्रण गर्दै शोक, मोह आदि रहित भई बस; म स्वयं देव हुँ भन्ने भाव निश्चय गर। ‘नाथसिद्धान्तडिण्डिम’ मा भनिएको छ।
    ‘नाहं मनो नापि बुद्धिर्देवोऽहमिति निश्चयान्।
    शोकमोहोपशान्तिः स्यादिति सिद्धान्तडिण्डिमः।।’

    हामीले भजन गरौँ, मन्त्र गरौँ, सद्वाणी व्यक्त गरौँ, स्वाध्यायमा प्रयोग गरौँ, मधुर बोल्न प्रयोग गरौँ। कसैको प्रशंसा गर्न प्रयोग गरौँ। त्यसैले हाम्रो वाणीले कसैलाई पनि नराम्रो नहोस्, साथै घृणा फैलाउने, दुःख दिने शब्द प्रयोग नहोस्। यदि हामीले वाणीको माध्यमबाट प्रशंसा गरेर परिवारमा शान्ति, सद्भाव, प्रेम पैदा हुन्छ भने किन नगर्ने प्रशंसा ? कार्यालयमा, संस्थामा र कर्मक्षेत्रमा कर्मचारीको प्रशंसा गर्दा सकारात्मक सञ्चार हुन्छ, मनोबल बढ्छ भने किन नगर्ने प्रशंसा ? शिक्षा मनोविज्ञानको सिद्धान्त प्रशंसा गर्ने हो, आलोचना छाड्ने हो। जीवनमा Excuse me/Please को तरवारले दुनियाँको मन जित्दै अघि बढ्नुपर्छ। मीठो बोलेर समस्याको समाधान हुन्छ भने तीतो किन बोल्ने ? कटु वचन बोलेर हामी कसैलाई परिवर्तन गर्न सक्दैनौं। यदि अरुमा परिवर्तन आओस् भन्ने चाहनुहुन्छ भने सद्वाणीको अत्यधिक प्रयोग गरौँ, असल व्यवहार गरौँ, आत्मीयता प्रकट हुने वाणी प्रयोग (कार्य) गरौँ। अभिभावक, शिक्षक, कार्यालय प्रमुख आदिको रूपमा हुनुहुन्छ भने कठोर वाणी होइन, मीठो वाणीको प्रयोग गरौँ।

    बच्चाबच्चीको टाउकोमा हात राखेर, सुम्सुम्याएर मीठो वाणीको साथमा ‘बाबु ! नानी ! यसो गर, यो खाऊ।’ भन्नु पर्छ। उसले साँच्चिकै त्यस्तै गर्छ। हामीलाई नगर भन्ने विषय थाहा छ, गर भन्ने थाहा छैन। कैयौं आमाबुवा बालबालिकालाई फिल्म नहेर भन्न सक्नुहुन्छ तर यो फिल्म हेर भन्न सक्नुहुन्न। यो नगर, त्यहाँ नजाऊ, यो नखाऊ भन्न जानेका छौँ तर यो गर, त्यहाँ जानु, यो खानु भनेर मार्गदर्शन गर्न जानेका छैनौँ। तसर्थ हामीले हाम्रा बालबालिकाको लागि No, No, No होइन Yes, Yes, Yes रूपमा सकारात्मक मार्गदर्शन गरौँ।

    हाम्रा वरिपरि यदि कसैले गल्ती गरेको छ भने उसलाई पनि सुधार्ने मौका सृजना गरौँ। तुरुन्तै टिकाटिप्पणी गरेर हीनताबोध गराउने काम नगरौं। मानिस हो, गल्ती हुन्छ तर सुधार गर्ने, प्रेरणा दिने हाम्रो कर्तव्य हो। अहिले मानिसले आफुले गर्नुपर्ने काम भन्दा अन्य मानिसको बारेमा बढी जानेको हुन्छ। तसर्थ अरुलाई सल्लाह दिनुपूर्व आफ्नो कर्तव्यलाई चिनौँ। जुन घरमा श्रीमान् थोरै बोल्छ, सोचेर बोल्छ, मीठो बोल्छ तथा जुन घरमा श्रीमती सोचेर, गम्भीर भएर, मीठो र थोरै वाणी बोल्छिन्, त्यो घर घर मात्रै होइन, स्वर्ग समान हुन्छ। तर आज घर बन्दै छ, परिवार फुट्दै छ किनकि हाम्रो संस्कार हरायो, कटु वचनको प्रयोग बढ्यो। वाणीलाई नियन्त्रण गर्न नसकेर घरघरमा महाभारत, महायुद्ध भइरहेको छ। त्यसैले गुरु गोरखनाथ भन्नुहुन्छ — कहिल्यै दुर्वचनको प्रयोग नगर। आँखाले हेर, कानले सुन र बोल्नै पर्ने स्थानमा तथ्यलाई ध्यानमा राखेर मात्र बोल।
    ‘नापृष्टः कस्यचित् यात् न चान्यायेन पृच्छतः।’

    अर्थात्— नसोध्दा सम्म कसैसँग नबोल्नू र अन्यायपूर्वक सोध्दा पनि नबोल्नू।

    समस्यामा नपरिकन मानिसले कसैसँग केही सोध्न जाँदैन। सोध्ने आवश्यकता समस्याले उत्पन्न गरेको हो। जसलाई तिर्खा लाग्यो उसैले अनुभव गर्नुपर्छ र पानीको खोजी पनि आफैले गर्नुपर्छ। नसोधिकन बोल्नु भनेको तिर्खा नलागेका मानिसलाई पानी लगेर दिनु जस्तै हो। उपेक्षा भावले सोध्ने मानिससँग बोल्नु पनि आफ्ना शिरमा उसलाई आफैले बोकेर चढाउनु जस्तै हो। तपाईंलाई कसैले नसोध्दा सम्म नबोल्नु। यदि सोध्ने बेला अन्याय/अभद्रपूर्वक सोध्छ भने त्यो बेला पनि नबोल्नु। You no need to answer if unasked, or if you are asked/questioned unjustly. त्यही भएर गुरु गोरखनाथ भन्नुहुन्छ- जगत्मा यसरी रहनु आँखाले देख्नु, कानले सुन्नु तर मुखले केही नभन्नु त्यसैले हामी सोचेर मात्रै बोलौँ र जीवन सुखमय बनाउन सद्गुरु, सद्ग्रन्थ, सद्वचन र सत्सङ्ग गरौँ।

    संसारमा एकातिर सत्य बोल्नेहरूको अभाव छ भने अर्कातिर जथाभावी बोल्नेहरूको घुइंचो छ। उचित समयमा उचित बोल्न नसक्नेहरू समाजको लागि समस्या हुन् भने उचित विषय पनि अनुचित स्थानमा, अनुचित समयमा, अनुचित तरिकाले बोल्नेहरू पनि समस्या हुन्। मलाई त के लाग्छ भने स्वास्थ्य विज्ञान, मनोविज्ञान, परिवार विज्ञान, समाज विज्ञान आदि सबै हिसाबले मुखको साधना नै अत्यन्तै महत्त्वपूर्ण रहेछ। भोजनको साधना पनि यही मुखसँग जोडिएको छ। वचनको साधना पनि यही मुखसँग जोडिएको छ। कति निल्ने? कति उकेल्ने? र कति कण्ठमा लुकाएर राख्ने? जीवनको धेरै ठूलो साधना रहेछ वाणी।

    नीलकण्ठ भगवान्को जति पूजा गरे पनि कण्ठमा समेत विषको व्यवस्थापन गर्न सक्ने अद्भूत क्षमता र जीवन कलालाई भने हामीले अद्यापि बुझन सकेनौं। धेरै खानेले खानाको स्वाद थाहा पाउँदैनन्। धेरै बोल्नेले बोलीको मर्म थाहा पाउँदैनन्। त्यसैले त योग साधनाहरूमा प्रत्याहारको ज्यादै ठूलो महिमा छ। मुखको/जिब्रोको आहारमा अर्थात् स्वादमा सावधान बनौं। कानको आहारमा अर्थात् शब्दमा, ध्वनिमा सावधान बनौं। आँखाको आहारमा अर्थात् रूप, रङ्गमा सावधान बनौं। नाकको आहारमा अर्थात् गन्धमा सावधान बनौं। छालाको आहारमा अर्थात् कोमल एवं कठोर स्पर्शमा सावधान बनौं। यस्तै सावधानीमा जीवनको पूर्णता छ र सुन्दरता छ। यसै सन्दर्भमा ‘शिवयोगदर्पण’ मा गुरु गोरखनाथले ६ वटा विषयले (आहार, अति परिश्रम, अनावश्यक गफ, कठोर नियम, अनावश्यक जनसम्पर्क, अनावश्यक लोलोपोतो) योग साधना नष्ट हुन्छ भनी बताउनु भएको छ।
    ‘अत्याहारः प्रयासश्च प्रजल्पो नियमग्रहः।
    जनसंगश्च लौल्यञ्च षड्भिर्योगो विनश्यति।।’

    जय गुरु गोरखनाथ।।