लेखकलाई चिठी - Chaitanya News
  • 2026-05-24
  • 22:56:17
  • आइतबार,जेठ १०, २०८३
  • प्रिय लेखक रामलाल

    मुटुभरिको माया।

    बाआमा पढेदेखि मलाई सन्चो छैन। बिसन्चो पनि छैन। तिम्रो भूकम्पीय लेखाइले जरैदेखि हल्लाइदिएको मथिङ्गल लिएर मलाई सामान्य हुन भने अझै केही समय लाग्ने पक्का छ।

    प्रजातन्त्र प्राप्तिका लागि लामो समय जेल जीवन बिताएका तिम्रा बालाई प्रजातन्त्रले केही दिएन है? छि कस्तो घिनलाग्दो गरी मुखैमा आएको अवसर पनि खोस्यो। अवसर मात्रै खोसेन, माओवादीलाई जन्माएर तिमी र तिम्री आमाको आँखै अगाडि तड्पाइ, तड्पाइ उनको प्राण खोस्यो। तिम्रो आकाश खोस्यो। तिम्री आमाको रातो खुसी खोस्यो।

    माओवादी जनयुद्धको दश वर्ष कसैलाई पढ्नु पर्‍यो भने बस् यत्ति पढे पुग्छ। निर्दोष नागरिकमाथि उसले गरेको पाषाण व्यवहार र परिवारले भोगेको पीडा। जो तिम्रो कलमरूपी क्यामेराले कैद गरेको छ।

    फुङ्ग रंग उडेकी तिम्री आमालाई सिँगार्ने तिम्रो वाल सुलभ चञ्चलता र त्यसबाट आमाको घाउबाट छ्वाल्ल बगेको आँसुको रगत, यो क्रूर संस्कारको झुसिलो डकार भोगेका तमाम आमाहरूको साझा, प्रतिनिधि र भयङ्कर तस्बिर हो। यो पनि जो कसैको कलमले सितिमिति खिच्न सक्दैन। एउटा टुहुरो र बिधुवाको अभागी घरमा ठूल्ठूला चाडबाड के बोकेर आउँछन् र कसरी फर्कन्छ? यसको सग्लो मूर्ति कुद्ने यति सिपालु कालिगड पनि अर्को होला र?

    साँच्चै रामलाल! टुहुराका दिन फर्कन्छन् भन्थे, हो रहेछ। तिम्रा दिन फर्किए नि धनगढी झरेर। भौतिक सुख जम्मै तिम्रा वरिपरि झुम्मिए। आफ्नो लोग्नेको छोडिएको पैतालाको डाम चुमेर गाउँमै बस्ने आमाको अडानमा तिमी अलिअलि कुँडियौँ। होइन त? कत्रो संकटमा ऐया नभनी तिमीलाई हुर्काउने तिम्री आमाको बुढेसकाल तिमीलाई कति घाँडो भइदियो? आखिर तिम्रै सजिलोका लागि घर छोडेर हिँडेकी आमा अन्तिमसम्म नभेटिँदा मन ज्यादै अमिलियो मेरो पनि। कठै! कहाँ होलिन् ती वृद्धा? बिर्सिन् होला कि गाउँदै होलिन् उही पुरानो गीत-

    काखको बालख छुट्यो, छुट्यो जनमथात
    कहिल्यै न छुट्टिउँला मान्यौँ, छुटभइ काली रात

    डा. स्वयंवर योगीको जिउँदो कथा र उसकी मरिसकेकी बैनीको सम्झना। उफ्! यो लेखिरहँदा कतिचोटी रुवाउँदै, फुल्याउँदै गर्‍यौ हँ आँफैलाई? हैजाले खाएकी आमाको टुहुरो ध्रुवले किन हार्‍यो संसारसँग र तुन्द्रुङ्ग झुन्डियो? किन लेख्यौं, यस्तो मुटु उफार्ने कहानी?

    साँच्चै प्रिय रामलाल! पाठकलाई मुर्छा पार्दै ब्युँताउँदै, मुर्छा पार्दै ब्युँताउँदै गर्न कति सिपालु है तिमी? आफ्नो रुचि र चाहनालाई वास्ता नगरी बाआमाको सपनाको झोला बोकेर हिँड्नुपर्ने तमाम बालबालिका कस्तरी आइपुगेछन् त तिम्रो सम्पर्कमा?

    आतङ्कवादी हमलामा बम्बईमा दुवै छोरा मारिएकी जुना आफ्नो श्रीमान् रामचन्द्रलाई कसैले कान भरेको भरमा परित्यक्त भएपछि जोगिनी भएको देखाएका छौं। चन्द्रमामा पनि खोट छ बरु। तिमी त कस्तो खोटै नभएको लेखक हौं गाँठे! नारी, पुरुष, बालक, वृद्ध। तिमी कसरी सब्बैको मनोदशाको भित्री तहसम्म पुग्यौ? र, निकाल्यौं त्यहाँ जे पाकेको छ त्यही। मानौं कुनै दक्ष चिकित्सकले उकुच पल्टेको पुरानो घाउमा सिरिन्जले घोचेर स्वाट्ट तान्छ भित्र पाकेर बसेको विकारयुक्त पिप रगत।

    शिवगंगा नदीको किनारमा रहेको शिवको जीर्ण कुटी र शिवको कहालीलाग्दो कैरन। छोराको कर्तव्य र बुहारीको व्यवहार। जिउँदो बाउलाई कुशको लास बनाएर जलाइवरी पिण्ड,तर्पण सिद्ध्याउने उसकै छोरो वनकासी। उफ्! खै र कसरी डुबुल्की मारौं कि उत्रौं। यो दुःखको गहिरो तलाउमा। भेटाएछौं पनि कस्ता कस्ता पात्र?

    आआफ्नो परिबन्धमा फसेर डिभोर्सका लागि अदालतसम्म पुगेका कौशिलादेवी र कुमार दम्पतीका आआफ्ना वकिलको बहस। नलेखिएको बयान सुनाउने उनीहरूकै छोरी। र, अन्तमा भएको पुनर्मिलनको कथा। आज ससानो निहुँमा वैवाहिक सम्बन्ध बिगार्नेहरूले पढ्न छुटाउनै नहुने आदर्श कथा पनि हो। कसले उक्सायो तिमीलाई यो कथा लेख्नपर्छ भनेर हँ?

    तिमीले बचपनदेखि मन पराएकी र भविष्यमा जीवनकै देव बनाउने सपना साँधेकी देवी बोहरालाई उसको बाउले बेचिदिएछ नि है देउताको लागि। सुदूरपश्चिमको देउकी प्रथा मेरो लागि नयाँ कथा हो। कहिले पनि पढेकी थिइनँ। सुरुमा देउताकी भनिएकी केटी पछि पुजारी र अरू भोग्न इच्छुक सबैकी पो हुदिरहिछे कठै। छोराहरूको लागि मन्दिररुपी नर्क छोडेर भागेकी उसलाई छोराहरूको बाबु खोजाइको प्रश्नले कहीँ भाग्न दिएनछ। छोराहरू नै पो उसलाई छोडेर भागेछन्। परिस्थितिको सिस्नु पानीले कति चुटेको बिचरीलाई? अनि तिमी? हराएका छोराहरूको खोजीका लागि निवेदन गर्न पुलिस थाना पुगेकी उसलाई भेटाउँदा किन अँगालो हालेर रुन सकेनौ?तिम्रो म छु देवी किन भन्न सकेनौ किन रामलाल? कठै तिम्रो अधुरो प्रेम कहानी!

    अझैसम्म छन् त रामलाल छोरी बेच्ने बाउ?
    अझै पनि छन् र थरै नभएका छोराहरू?

    छोराछोरीले छोडेर हिँडेपछि रित्तो मन्दिर रुँगेर बसेका भगवान् यता जस्तै त्यता पनि रहेछन्। ओ रामलाल! जेठा मामालाई भेट्न गएकै हौं त कोटिला? चढेकै हौं त छडी खोलाको ढुङ्गामाथि? छिरेकै हौं त पीपलडाँडाको स्कुलमा?

    यो शरद ढुङ्गनाको कथा उस्तै हृदय विदारक छ फेरि। यति उराठिलो कथा नलेखेको भए हुन्थ्यो। लेख्यौं। ठिकै छ। झङ्करी दिदीले त्यति माया र दुःखले हुर्काएको भाइलाई किन हराइदिएको तिमीले दुर्गा माइको मेलाबाट? कठै कसरी बसी झङ्करी जीवन पचासौं वर्ष भाइको घर धुवाएर? यो कथामा भएको पुतलीको प्रसंग पनि कम्ता मन चुँडाउने छैन। जे होस् आखिरी घडीमा भेटाइ दिंयौ झङ्करी दिदीलाई उसको गाइने हुलियाको भाइ।

    देश लेखीलेखी नथाकेको लेखकको दाँजोमा देश बेचीबेची ढाडिएको नेताको प्रसंग जोड्दै पर्ने थियो जोड्यौं। उनीहरू त हामी लेखकलाई चुनावी हतियार मात्रै बनाउँछन्। कवि हुँदाको संघर्ष, गुरुसँगको सम्मिलन सबै लेख्नेले किन भेटाएनौं हराएकी आमा?

    अन्ततः आफैसँग हुबहु हुलिया मिल्ने छोरी हुँदाहुँदै छोराको अत्यधिक महत्त्वाकाङ्क्षी रहरले जित्यो तिमीलाई। तर, जित्न सकेनौं छोराछोरीका महत्त्वकांक्षालाई। पखेटा पलाएपछि उडे उनीहरू पनि सपनाको सहरमा। दुःख त यतिखेर झन् लाग्यो कि तिम्रै अन्त्यष्टीमा पनि छोरो आएन। आउन त फोन आयो। तर नि…..कै ढिलो। उफ्! भक्कानो फुट्यो।

    सत्य रामलाल छोराछोरीका लागि बाउआमाको अभाव क्षणिक हुन्छ बिस्तारै बिर्सन्छन्।

    बाआमाको लागि छोराछोरीको अभाव जीवनभर रहिरहन्छ। छोरा…. भन्दाभन्दै शून्यमा विलीन हुन्छ आवाज। बाटो हेर्दाहेर्दै अस्ताउँछन् आँखाको ज्योति। कहिँल्यै पनि नफर्किने गरी होइन त रामलाल?

    कसम प्रिय लेखक मलाई बहुत लोभ लागेको छ तिम्रो लेखाइ। मैले मन पराएको कुरा तिम्रो बगैंचाको फूल थियो भने म पैसा तिरेर भए पनि बेर्ना सार्थें आफ्नोमा। फल भएको भए पनि कलमी गरी गरी भित्र्याउने थिएँ करेसामा। खेतै भइदिए पनि ऋण काडेर किन्थे पाँच, सात धुर। भाडा तिरेर डेरा सार्थें केही महिनालाई घर भएको भए पनि। सबै भौतिक वस्तुको अस्तित्व आफ्नो स्वामित्वमा ल्याउन सकिन्छ। तर, किताब? किताब कसरी आफ्नो बनाउँ?

    जति छातीमा च्यापेर हिँडे पनि ऊ मेरो होइन। तिम्रो हो तिम्रै रहनेछ। म त केवल माया गर्ने मान्छे। माया गरिरहनेछु किताबलाई र सायद तिमीलाई पनि।

    हुन त तिम्रा लागि म जस्तै पाठक हजार होलान्। मेरो लागि तिमी जस्तो लेखक एक हौं।

    प्रिय लेखक तिमीले लेखनको दुनियाँमा पछाडि फर्केर कहिल्यै हेर्नु नपरोस्। बाआमा जस्ता जिउँदा अरू धेरै किताब लेखिरहनु। लेख्ने र पढ्ने दौडानमा फेरि भेटौंला।

    आजलाई बिदा माग्छु। उही तिम्रो प्रिय पाठक, अमला अधिकारी सिन्धुली।

    (अधिकारीको फेसबुकबाट साभार)