ॐ श्रीमच्छिन्द्रनाथाय नमः
‘मन मैं रहिणां, भेद न कहिणां, बोलिबा अमृत वाणी।
आगिला अगनि होइबा अवधू, आपण होइबा पाणी।।’
अर्थात्- मनलाई नियन्त्रण गरौं, मनको भेद नबताऔँ एवं भेदभाव नगरौं, अमृतमय बोली बोलौं। सामुमा भएको मानिस आगो बनेर आयो भने पनि अवधूत सन्तले झैं आफु पानी बनौं।
आवेगमा आएर मनको कुरा अनावश्यक अवस्थामा र अनुचित ठाउँमा बताउने मानिसलाई संयमी भन्न सकिंदैन। मानिस जोसुकै होस् तर बोल्नुपर्दा विचार पुर्याउने र रिसले आगो जस्ता भएका मानिससँग पनि सन्तुलित मनले कुरा गरेर चित्त बुझाइदिने सक्ने व्यक्ति अवश्य नै सन्त वा अवधूत जस्तै हुन्छ। मनमा रहनु अर्थात् पहिलो सूत्र मनलाई स्थिर बनाउनु हो। एउटा भनाइ छ हिन्दीमा, मन के जीते जीत है और मन के हारे हार। हाम्रो मन अस्थिर हुन्छ, चञ्चल हुन्छ। अर्कोले अलिकति दुर्वचन गर्यो, अलिकति समस्या भयो, अलिकति मान- अपमानको कुरा गर्यो भने मन आत्तिन्छ। मनको जुन जञ्जाल र संसार छ हामी त्यसमा फस्छौं, समुद्रमा छाल आए जस्तै। समुद्रमा जसरी छालको गति निरन्तर छ, हाम्रो मनको गति पनि त्यस्तै निरन्तर छ। अनि जब हाम्रो मन अस्थिर हुन्छ, मनको नियन्त्रण हुँदैन।
मनलाई नियन्त्रित नगरिकन हामी जुन कुरा बोल्छौं, व्यवहार गर्छौं निर्णय गर्छौं त्यो अत्यन्तै घातक हुन सक्छ, त्यसले हामीलाई फाइदा हुँदैन। हामी अरुलाई दोष दिने गर्छौं; यसले गर्दा, त्यसले गर्दा मेरो व्यवसाय चौपट भयो, मेरो पारिवारिक जीवन नष्ट भयो, मेरो सामाजिक जीवन नष्ट भयो। यस्ता अनेकौं प्रकारका कुरा गर्छौं। तर गहिराइमा जाने हो भने वास्तवमा कारण फलानो, चिलानो र ढिस्कानो होइन। कारण हाम्रो मन नै हो। किनकि हामी हाम्रो मनको नियन्त्रण, सहजीकरण, संयमीकरण गर्न सक्दैनौं अनि अर्कालाई दोषी देख्छौँ। त्यस्ता बेलामा आवेशले बोलेका हाम्रा वचन र क्रियाकलापले जीवनभरका लागि बोझ र पीडा दिन्छन्। त्यही भएर गुरु गोरखनाथ भन्नुहुन्छः- मनलाई स्थिर बनाऊ। त्यही कुरा भगवान् श्रीकृष्णले ५२४५ वर्ष पूर्व भन्नुभयो-
‘असंशयं महाबाहो मनो दुर्निग्रहं चलम्।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते। गीता अध्याय ६/३५।।’
अर्थात्- हे अर्जुन, यसमा कुनै सन्देह छैन कि मन चञ्चल छ तर नियमपालना वा अभ्यास गर्नाले एवं वैराग्य भावले यसलाई वशमा राख्न सकिन्छ, यो असम्भव छैन।
मन नै मानिसको शक्ति हो। मानिस मनको दुविधामा परेको हुन्छ। असल विषयहरू सुन्नमा अभ्यस्त रहेको मानिसले दुविधामा परेका बेला लिएको निर्णय पनि सकारात्मक हुनसक्छ। सकारात्मक कुरा सुन्ने अवसर नपाएको मानिसले द्वन्द्वमा रहँदा लिएको निर्णय हानिकारक हुनसक्छ। ‘विनाशकाले विपरीतबुद्धिः’ भन्ने अवस्था सकारात्मक दिशामा मनलाई उन्मुख गराउन नसकेका मानिसको हुन्छ।
मनको नियन्त्रण गाह्रो छ। Yes It’s difficult but Is’t Not impossible. त्यसो भए मनको नियन्त्रण कसरी गर्ने त ? भन्ने क्रममा भगवान्श्रीकृष्ण दुई तरिकाले सकिन्छ भन्नुहुन्छ; अभ्यासले र वैराग्यले मनलाई नियन्त्रण गर्न सम्भव छ। अभ्यास गर्नुस् अर्थात् जप, तप, ध्यान, भजन, योग, मन्त्र, स्वाध्याय, सेवा आदि मध्ये कुनै एकको भए पनि निरन्तर अभ्यास गर्नुस्। Do something very constantly. It doesn’t matter what you follow but please follow something sincerely and consistantly. अभ्यास र वैराग्यबाट संसारप्रतिको हाम्रो जुन आसक्ति छ त्यसलाई कम गर्न सकिन्छ। संसारको मोहमाया बन्धनको कारण हो। त्यसलाई बुझेर, ज्ञान जगाएर, वैराग्य जगाएर, अनासक्त भएर मनलाई जित्न सकिन्छ। यही विषयलाई ‘योगसारावली’ मा अत्यन्तै सुन्दर तरिकाले व्याख्या गरिएको छ-
‘चित्तेन्द्रियाणां चिरनिग्रहेण श्वासप्रवाहे शमिते समस्ते।
निर्वातदीपा इव निस्तरङ्गा मनोन्मनी सा सम सन्निधत्ताम्।।’
अर्थात् निरन्तर अभ्यासद्वारा चित्तनिग्रह हुन्छ, मृत्यु शून्य हुन्छ, वृत्ति शून्य हुन्छ, समस्त श्वासप्रवाह प्रशान्त हुन्छ। अनि यसरी निर्वात दीपको शिखाझैं मन निश्चल हुन्छ, उन्मनी अवस्थामा रहन्छ। याद राख्नुहोस्, जबसम्म ज्ञान हुँदैन तबसम्म वैराग्य हुँदैन। वैराग्य भनेको के हो ? ज्ञानको Outcome हो। वैराग्य भनेको ज्ञानको प्रतिफल हो। त्यही भएर गीता, वेद, गुरु गोरखनाथ, नानक, बुद्ध आदिका सुन्दर वाणी, उपदेश र वचनहरूलाई पढेर, सुनेर, स्मरण गरेर, अनुसरण गरेर हामीले आफ्नो जीवनलाई विकसित (Cultivate) गर्नुपर्छ।
आफ्ना गोप्य विषय र भेद अर्कोलाई नभन्नु होला। हामी कहिलेकाहीँ बोल्छौँ, खोल्छौं गोप्य विषयहरू पनि। संसारमा, जीवनमा, आमाबुवा, पतिपत्नीसम्म त गोप्य कुरा बाँड्नु ठिकै होला तर यदि हामीले आफ्ना रहस्यमय कुरा, भेदहरू अरुलाई व्यक्त गरेमा भोलि कुनै कारणले सम्बन्ध तलमाथि पर्यो भने त्यही कुराले तपाईंको सामाजिक, पारिवारिक जीवन नष्ट हुन सक्छ। हाम्रो गाउँघरमा एउटा भनाइ छ नि- सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ तर आफ्नो जीवनमा गम्भीर असर पार्ने गोप्य कुराको भेद भने खोल्नु हुन्न। (यं यं पश्यसि तस्य तस्य पुरतः मा ब्रुहि दीनं वचः) यस्ता गोप्य कुरा बढीमा तपाईंको गुरु, आमाबुवा, पतिपत्नीसम्म मात्रै सीमित रहोस्। अन्यथा कहिलेकाहीं ‘घर का भेदी लंका ढावे।’ भन्ने जस्तो अवस्था सृजित हुन सक्छ।
अर्को अर्थमा भन्नुपर्दा भेदभाव नगर्नुहोस्- ‘भेद न कहिणां।’ जातीय भेद, साम्प्रदायिक भेद, क्षेत्रीय भेद, वर्र्गीय भेद, धार्मिक भेद आदि गर्नु तुच्छ बुद्धि हो। हाम्रो मति वा बुद्धि त अभेदवादी हुनुपर्छ। हामीले जातजाति, सम्प्रदाय, धर्म, वर्ण, क्षेत्र, बाहुन, क्षेत्री आदिको नाममा किन भेदभाव गर्ने? किन नकारात्मक काम गर्ने? Why Do You Do all These Kinds Of Nonsense Discrimination? जबसम्म तपाईंमा भेदभावको मति हुन्छ तबसम्म तपाईंको उन्नति हुँदैन, मानवीय भावको जागरण हुँदैन। जबसम्म मानवीय भावको जागरण हुँदैन, तबसम्म तपाईंमा आध्यात्मिक जागरण हुँदैन। गुरु गोरखनाथले अमृतवाणी, अमरवाणी, प्रेमवाणी भनेर बारबार भन्नुभएको छ। बोलीको प्रभाव मानिसका लागि मात्रै होइन, समस्त प्राणीको लागि पनि हो किनकि सबै प्राणीहरू सद्वाणीको, सद्व्यवहारको अपेक्षा गर्छन्। नीतिशास्त्रले यसरी भनेको छ-
‘प्रियवाक्यप्रदानेन सर्वे तुष्यन्ति जन्तवः।
तस्मात् तदेव वक्तव्यं वचने का दरिद्रता।।’
अर्थात्- प्रिय वाक्य बोलिदिँदा सबै प्राणी खुसी हुन्छन्। त्यसैले त्यस्तै बोलौँ। बोलीमा पनि कन्जुसी किन गर्नु र ? मीठो, पवित्र र सत्य वाणी बोल्नुहोस्। यस्ता वाणी बोल्न लोभ नगर्नुहोस्, जुन सबैका लागि प्रिय छन्। गोस्वामी तुलसीदास भन्नुहुन्छः-
‘तुलसी मीठे वचन ते सुख उपजत चहुँ ओर।
वशीकरन इक मंत्र है परिहरू बचन कठोर।।’
अर्थात्- मीठो वचनले चारैतिर सुखको उपस्थिति हुन्छ, यो नै वशीकरणको मन्त्र हो। त्यसैले कठोर वचनलाई परित्याग गरौँ भनेर सन्त तुलसीदासले भनेका छन्।
अन्य प्राणीका आवश्यकता सीमित हुन्छन्। उसको बोली तिनै सीमित आवश्यकता पूरा गर्न प्रयोग हुन्छ। उसका बोलीको प्रभाव तत्काल सकिन्छ। मानिसका आवश्यकता असीमित छन् र पूरा गर्नका लागि बोलीका सङ्केत पनि असीमित हुन्छन्। एक समयमा मानिसले बोलेको बोली जति लामो समयसम्म प्रभावशाली रहन्छ, उसै रूपमा मानिसको बुद्धिमत्ता प्रमाणित हुन्छ। अर्थात् छोटो समयका लागि प्रभाव पार्न बोल्ने मानिस दूरद्रष्टा पटक्कै होइन।
हामीले कटु वचनको प्रयोग कहिल्यै गर्नुहुँदैन। बोलिसकेर पछुताउनु भन्दा कृपया केही समय लिनुहोस् कम्तीमा तीन पटक लामो श्वास लिनुहोस्। आस्थावान् हुनुहुन्छ भने ॐ को उच्चारण गर्नुहोस्। वाणीमा शक्ति हुन्छ, सम्मोहन हुन्छ, वाणीमा परिवर्तन गर्न सक्ने क्षमता हुन्छ। यदि तपाईंको अगाडिको मानिस आगो जस्तो प्रचण्ड रिसाएको छ भने पनि तपाईं पानी बन्नुहोस् अर्थात् नरम रहनुहोस्। वैरलाई वैरद्वारा समाप्त गर्न सकिंदैन। वैरलाई समाप्त गर्नुछ भने मित्रता, करुणा चाहिन्छ-
‘नहि वेरेण वेराणि सम्मन्तीह कुदाचन।
अवेरेण व सम्मन्ति एस धम्मो सनंतनो।।’ धम्मपद
यही नै सनातन धर्म हो। सत्य एक छ, सनातन छ, त्यसैलाई अनुसरण गर्नाले शान्ति प्राप्त हुन्छ।
चर्को बोल्नु, अप्रिय बोल्नु, अभद्र बोल्नु, अशिष्ट बोल्नु, भेद खोल्नु, कुरा काट्नु, कुरा लगाउँदै हिंड्नु, कुराका पछि, हल्लाका पछि कुद्नु आदिले के सिद्ध गर्छ भने तपाईंको मन स्थिर छैन, शीतल छैन, शान्त छैन, सहज छैन र सन्तुलित छैन। मनोविज्ञानको हिसाबले भन्ने हो भने तपाईंले आफै आफ्नो मनको गति, स्वभाव, वृत्तिलाई थाहा पाउन सक्नुपर्छ। थाहा पाउनु नै सबैभन्दा महत्वपूर्ण विषय हो। थाहा पाउँदै जाँदा, त्यसैमा गहिरिंदै जाँदा र त्यसैमा अभ्यास बढाउँदै जाँदा एक दिन मनलाई पनि सहज भावले शमन गर्न सकिन्छ। त्यसकारण जुन- जुन बेला तपाई रिसाउनुहुन्छ, अभद्र, अप्रिय, अशिष्ट बोल्नुहुन्छ, त्यही बेला थाहा पाउनुहोस्, तपाईंको मन शान्त, सहज र शुद्ध छैन। गाडी चलाउँदा घ्याघ्र्यार् गर्यो भने गाडी खराब छ। कुनै मशिन प्रयोग गर्दा अनावश्यक आवाज हुन्छ भने थाहा पाउनुहोस्, मसिनमा कतै खराबी छ। तपाईं पनि अनावश्यक अमर्यादित बोल्नुहुन्छ भने थाहा पाउनुहोस्, तपाईंभित्र केही खराबी छ। तपाईंको मनमा कतै गाँठो परेको छ, कतै रोग बल्झेको छ, कतै भित्रभित्रै काम, क्रोध, लोभका बीज बढ्दै छन, सावधान बन्नुहोस्। मनलाई खोज्नुहोस्, बुझ्नुहोस्, संवाद गर्नुहोस्, सकारात्मक सम्बन्ध विकसित गर्नुहोस्। दूध उम्लिंदा उम्लिंदै सकियो भने ? पानी उम्लिएर नै सकियो भने? मन पनि उम्लिएर, तात्तिएर, बाफिएर सकियो भने के गर्ने? त्यसैले ‘मन मैं रहिणां, भेद न कहिणां, बोलिबा अमृत वाणी।’
जय गुरु गोरखनाथ।।