अहम्को उपचार - Chaitanya News
  • 2026-04-30
  • 11:54:49
  • बिहिबार,बैशाख १७, २०८३
  • कहिलेकाहीँ ठूलो हावाहुरी, आँधी र तुफान आउँदा जङ्गलमा ठडिएर रहेका सालका अथवा अन्य वनस्पतिका ठूलाठूला रुखहरू जरैदेखि ढलेका देखिन्छन्, तर तिनै रुखको छेउछाउमा नजिकै रहेका बोटबिरुवाहरू, वनस्पति र झारपातहरू भने जस्ताको त्यस्तै ठडिरहेका हुन्छन्। वर्षौँदेखि अचल उभिएका त्यत्रा रुखहरू गल्र्यामगुर्लुम ढल्ने तर भर्खरैका मसिना झारपात र साना बोटबिरुवाहरू भने सानका साथ हावाको झोँकासँगै नाचिरहने, यिनलाई केही नहुने ! यो घटनालाई नजिकबाट नियाले पछि मेरो मस्तिष्कमा थुपै्र विचारहरू सलबलाए र मैले यो दृष्टान्तलाई मान्छेको अहम्सित पनि जोडेर विश्लेषण गर्न थालेँ।

    जङ्गलमा सालका ती रुखहरू एकदमै सोझो भएर ठडिएका हुन्छन्। ठडिँदा ठडिँदा यस्तो भइसकेका छन् कि तिनको लचकता पनि हराइसकेको छ। ती एकदम निश्चित र अचल भइसकेका छन्। सानोतिनो हावा र बतासले त केही हुँदैन, तर भयानक हावा र हुन्डरी चलेका बेलामा ती बोटहरू लचक हुन सक्दैनन्। उनीहरू हावा जता चलेको छ, उतै बाङ्गिन अथवा झुक्न सक्दैनन्, फलस्वरूप हावाको त्यो डरलाग्दो प्रवाहका कारण ती जरैदेखि उखेलिन बाध्य हुन्छन्।

    उता ती ठूला रुखको फेदमा अस्तित्वहीन जस्तै बाँचिरहेका सानासाना झारपातहरूलाई भने केही हुँदैन, किनकि ती हावा जता बग्छ, उतै बगिदिन्छन्, झुकिदिन्छन्, चलमलाइदिन्छन्, जसका कारण हावाले पनि केही गर्न सक्दैन। पहिल्यै हारेकालाई जित्न पनि कसैले चाहँदैन। सायद, हावा चल्नासाथ हामीले आत्मसमर्पण गर्‍यौँ भनेर ती झारपातले हावाको प्रवाहमा आफूलाई मोडिदिन्छन् र हावाले पनि उनीहरूलाई छोडिदिन्छ।

    तर, रुखहरूसित झुक्ने अभ्यास नै छैन, लचक हुने अभ्यास नै छैन। छ त केवल कठोर हुने, जटिल हुने, ठडिने अभ्यास छ। रुखहरू हावाहुरीको प्रवाहमा अलिकति पनि मोडिन तयार हुँदैनन, यदि भए पनि तिनका टुप्पाका सानासाना हाँगाबिँगा मात्रै हल्लन्छन्, पातहरू मात्रै चलमलाउँछन्, मूल शरीर भने कत्ति हल्लँदैन। धेरैबेर सम्म हावाहुरी र ती विशाल वृक्षका बीचमा कुस्ती चलिरहन्छ। धेरै पटक हावाहुरी नै हार्छ। तर, अन्ततः कुनै न कुनै एक दिन चल्ने विशाल आँधी र हावाहुरीले भीमकाय वृक्षलाई जरैदेखि उखेलेरै छाड्छ।

    हार भनेकै यही हो, मूलदेखि नै समाप्त हुनु। ती स्थिर र कठोर विशाल वृक्षहरू अलिकति लचक हुन सकेका भए सायद आफ्नो पूरा आयु बाँच्न सक्ने थिए। मैले अर्को पनि एउटा बोटलाई भयानक हुन्डरीका बीचमा देखेको छु। त्यो वृक्ष हो : बाँस। बाँस कहिल्यै पनि जरैदेखि उखेलिन्न, जस्तोसुकै हावाहुरीका बीचमा पनि। मैले आजसम्म कतै पनि हावाहुरीले बाँसको रुखलाई जरैदेखि उखेलेको देखेको छैन, सायद यहाँले पनि देख्नुभएको छैन। कहिलेकाहीँ हाँगाबिँगा भाँचिन्छन्, बीचबाट पनि भाँचिन सक्छ, तर बाँसलाई जरैदेखि उखेल्ने हावाहुरी यो संसारमा अहिलेसम्म चलेको छ जस्तो लाग्दैन।

    किन होला, बाँसलाई हावाहुरीले जरैदेखि उखेल्न नसक्ने ? एकछिन सोच्नुस् त। हावाजस्तो चल्छ, हुरीबतास जस्तो चल्छ, बाँस त्यसरीलाई आफूलाई लचक तुल्याउँछ। जस्तो हावा चल्छ, उसैगरी बाँसले आपूmलाई समायोजित गर्दछ। पूर्वतिर हावा चले पूर्व फर्कन्छ, पश्चिमतिर हावा चले पश्चिम फर्कन्छ। हावाजस्तै बनिदिन्छ, हावाजस्तै बगिदिन्छ, त्यसैले हावाले पनि आफ्नै साथी ठान्छ बाँसलाई र केही गर्न सक्दैन। बाँसको लचकतामा हावा पनि हार्न बाध्य हुन्छ।

    हावाहुरी, बाँस, सालको रुख र झारपातको सन्दर्भ प्रस्तुत गरेर उल्लेख गर्न खोजेको कुरा सायद यहाँले बुझिसक्नुभयो। कुनै पनि कुरामा अडिएर बस्ने, परिस्थिति र समयानुसार आफूलाई ढाल्न नसक्ने मानिसलाई समयको प्रवाहले कुनै न कुनै एक दिन अवश्य ढालिदिन्छ। तर, समयसितै आफूलाई ढाल्न सक्ने मान्छेसित समय आफैँ ढल्न बाध्य हुन्छ।

    मान्छेलाई के लाग्छ भने झुक्नु राम्रो होइन, अर्काका कुरा मान्नु राम्रो होइन, लचक हुनु राम्रो होइन, समयसित चल्नु राम्रो होइन। तर, यो बानी कति प्रत्युत्पादक हुँदोरहेछ भन्ने कुरा जब समस्या आउँछ, अनि बल्ल थाहा हुन्छ। अथवा यसो भनौँ, समस्या भन्नु नै लचक हुन नसक्नुको परिणाम हो, समय—परिस्थितिसित एकाकार हुन नसक्नुको नाम हो, समयलाई स्वीकार गर्न नसक्नुको परिणाम हो।

    सालको रुख बर्षौँ सानका साथ ठडिइरह्यो, हावाको प्रवाहसित प्रवाहित हुन चाहेन र हावाहुरीसित सङ्घर्ष गर्दै रह्यो। धरै वर्षसम्म हावाले उसलाई केही गर्न पनि सकेन, तर अन्ततः जीवनको मूललाई समाप्त पार्दै धर्तीबाटै बिदा लिन बाध्य भयो। त्यसो त यो संसारका सबैले बिदा लिनु त छँदै छ, तर पनि त्यो बिदाइ जति प्राकृतिक भयो, उति नै सुन्दर हुन्छ।

    झुक्नु हार्नु हो भन्ने विचार नै गलत छ, किनकि जित केवल जित मात्रै होइन। कतिपय जितहरू पनि हार हुन्छन् भने कतिपय हारहरू पनि जित हुन्छन्। समय परिस्थितिलाई स्वीकार्नुलाई यदि कसैले हार मान्छ भने त्यो हार विजयको हार हो। कतिपय लडाइँ हारेर पनि जितिन्छ। बाँसले जितेको जित उसले धेरै पटक हारेर जितेको जित हो।

    बाँसले हावाको प्रवाहसितै आफूलाई मोड्छ, तर आफ्नो मूललाई भने कहिल्यै मोड्दैन। आफ्नो आधारभूत अस्तित्वलाई कहिल्यै पनि उसले छोड्दैन। बाँसको जरो यति बलियो हुन्छ कि त्यसलाई सजिलै उखेल्न सकिँदैन, गारो हुन्छ।

    मान्छेको जीवन पनि बाँसको जस्तै लचक र विनम्र हुनुपर्दछ। त्यस्तो विनम्र जीवनबाट मात्रै मानिसले खोजेको प्रसन्नता, गौरवबोध र खुसी प्राप्त गर्न सक्दछ। बाँसहरूले जस्तै हामीले आफ्नो मौलिकता गुमाउनुहुँदैन, आफ्नो विचार र अस्तित्व गुमाउनुहुँदैन। समय र परिस्थितिसितै मिलिदियौँ भने समय र परिस्थितिले पनि हाम्रो मूलको सम्मान गर्दछन्, हाम्रो अस्तित्वलाई अझ बलियो पार्न सहयोग पुर्‍याउँछन्।

    बाँसको अर्को दर्शन भनेको विनम्रताको दर्शन हो। झुकेर नै झुकाउन सकिन्छ, परास्त गर्न सकिन्छ। जितेर पछार्नुभन्दा हारेर पछार्नुको मजा बेग्लै हुन्छ। ठूलाठूला हावाहुरी चल्दा बाँसले कहिल्यै पनि सङ्घर्ष गर्दैन, लड्न खोज्दैन, हावासितै मिलिदिन्छ। बाँसको यो मेलमिलाप र हावाको स्वीकृतिलाई हावाले पनि स्वीकार गरिदिन्छ र उसले पनि बाँसको दीर्घजीवनका लागि मद्दत गर्न थाल्छ। बाँसको जरोलाई छुने कल्पना पनि हावाहुरीले गर्दैन होला, सायद!

    हाम्रा पूर्वजहरूले प्रकृतिको यो दर्शनलाई हजारौँ वर्ष पहिले बुझेका थिए। उनीहरूले बाँसलाई बलियो मूलमा विनम्र उभिएको देखेर नै होला हामी पनि त्यसरी नै झुकेर बाँच्नुपर्छ भनी सिकाएका। प्रकृतिको यो अध्ययनबाटै उनीहरूले हामीलाई नमस्कार गर्न सिकाएका हुन सक्छन्। नमस्कार बाँसजस्तै झुकेर संसारलाई झुकाउने एउटा सुन्दर सभ्यताको नाम हो।

    नमस्कार गर्दा शरीरका मूलतः तीन अङ्गहरूको विशेष प्रयोग भएको हुन्छ : मस्तक, हृदय र हात। मस्तिष्क ज्ञानको प्रतीक हो, हात कर्मको प्रतीक हो भने हृदय प्रेमको प्रतीक हो। नमस्कार गर्दा एकैसाथ हामीले कर्म, ज्ञान र प्रेमको दर्शनलाई अभ्यास गरिरहेका हुन्छौँ। मान्छेको सिर झुक्नका लागि हो, ठडिनका लागि होइन। के तपाईँले बाँसको सिर सधैँ निहुरिएको देख्नुभएको छैन? हाम्रा कविशिरोमणिले पनि लेखे : उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र! जसले जानेको छ, बुझेको छ र वास्तवमा उपकारी स्वभावको छ, ऊ जहिले पनि नम्र हुन्छ, विनयी हुन्छ र सरल हुन्छ। उसले सधैँ सबैलाई नमस्कार गर्छ र सबैको नमस्कार पाउँछ। नमस्कार गर्नु भनेको हृदयलाई प्रेमपूर्ण बनाउनु हो, विनयशील हुनु हो र मिहिनेती एवम् कर्मशील बन्नु हो।

    हरेक व्यक्ति प्राप्तिमा खुसी हुन्छ। सबैले केही न केही पाउन चाहन्छन्। हामी सबै जसले दिन्छ, उसैतिर आकर्षित हुन्छौँ। अरु पनि हामीले केही दिँदासम्म मात्रै आकर्षित हुन्छन्। यसलाई अन्यथा मान्नुहुँदैन, किनकि शक्ति र सामथ्र्यको पूजा गर्नु प्राणीमात्रको विशेषता नै हो। फेरि हामी कसैलाई केही दिन नसक्ने पनि त छैनौँ। अरुले हामीलाई दिन सक्छन् भने हामीले सक्दैनौँ भन्ने पनि त हुँदैन। त्यसैले, हामी प्राप्तिमा प्रसन्न हुन्छौँ भने अरु पनि प्राप्तिमा प्रसन्न हुन्छन् भन्ने सत्यलाई कहिल्यै बिर्सनुहुँदैन।

    अरुले नमस्कार गरून्, मचाहिँ स्वीकार मात्रै गरिरहूँ भन्नु सबैभन्दा ठूलो अहम्। यसो गर्दा हाम्रो प्राप्तिको बाटो खुल्नुको साटो बन्द हुन पुग्छ। कमाउनका लागि त लगानी पो गर्नुपर्दछ त। तपाईँले कसैलाई नमस्कार गर्नुभयो भने उसले पनि त तपाईँलाई नमस्कार गर्‍यो त। बरु अन्य क्षेत्रमा गरिएको लगानी नउठ्न सक्छ, तर नमस्कारको लगानी ९९ प्रतिशत उठेरै छोड्छ।

    नमस्कार गर्ने कुरा कतिपयका लागि एकदमै सामान्य हुन सक्छ, तर यो निकै विशिष्ट कला र सभ्यताको नाम हो। यो हचुवाका भरमा विकसित भएको पद्धति होइन। मान्छेले बरु पैसा नहुँदा दुःखी हुन्न, घर, भोजन र वस्त्रमा पनि सम्झौता गर्न सक्छ, तर आत्मगौरव र स्वाभिमानमा कहिल्यै पनि सम्झौता गर्न सक्दैन। हरेक व्यक्ति सम्मानित भएर बाँच्न चाहन्छ। सानासाना बालबालिकाले पनि ठूला मान्छेसित झगडा गर्दछन्, ढिपी गर्दछन्। यसको अर्थ त्यहाँ उनीहरूले अभिभावसित आफ्नो आत्मसम्मानका लागि सङ्घर्ष गरिरहेका हुन्छन्।

    मान्छेलाई आत्मसम्मान प्रदान गर्ने र प्रसन्न तुल्याउने सबैभन्दा प्रभावकारी र सुन्दर विधिको नाम हो : नमस्कार। हाम्रो एउटा सानो नमस्कारले व्यक्तिभित्रको हामीप्रतिको धारणा नै बदलिन सक्छ। कसैले आफूलाई नमस्कार गर्दा मानिसले आफ्नो अहम् तृप्तिको अनुभव गर्न पुग्दछ।

    हामी प्रत्येक मानिसभित्र अहम् छ, जुन जन्मैदेखि बोकेर हामी आएका छौँ। एउटा ६, ७ महिनाको शिशु पनि चर्को स्वरमा उसलाई गाली गरेको सुन्यो भने रुन थाल्छ। उसको यो प्रतिक्रिया अहम्मा चोट लाग्नुको सङ्केत हो। हामीले सामान्य कुरा पनि नबुझेको जस्तो गर्नुहुँदैन। यदि कसैले हामीबाट नमस्कारको अपेक्षा गर्छ भने अन्यथा सोच्नुहुँदैन, किनकि त्यस्तो अपेक्षा हामी सबैले गरेका हुन्छौँ। हरेकको अहम्को सम्मान हुनुपर्दछ भनेर नै हाम्रा ऋषिमुनिहरूले यो विशिष्ट पद्धतिको विकास गरेका हुन्।

    सम्मान चाहनेले सम्मान दिन पनि जान्नुपर्दछ भन्ने भनाइ हामी सबैलाई थाहा छ। यो कुरा साँचो हो। यो दुनियाँमा मलाई सम्मान चाहिँदैन, म त अरुलाई मात्रै सम्मान गर्छु भन्ने कोही पनि हुँदैन। यसो भने पनि उसले नयाँ तरिकाले आफ्नो इगो अर्थात् अहम्लाई शान्त पार्न खोजेको हुन्छ।

    कुनै पनि कुराको सुरुआत हामी स्वयम्बाट हुनुपर्दछ भन्ने कुरा हजारौँ वर्षपूर्व नै हाम्रा पूर्वजले हामीलाई सिकाएका छन्। संसार विजयको यात्रा स्वयम् विजयबाट सुरु हुन्छ। त्यसैले, नमस्कार पनि हामीले आफैँबाट सुरु गर्नुपर्दछ। चाहे साना होऊन्, चाहे ठूला होऊन्, चाहे दलित होऊन्, चाहे ब्राह्मण होऊन, सबैलाई नमस्कार गर्नुपर्दछ। नमस्कार गर्नु भनेको हार्नु होइन, पराजित हुनु पक्कै होइन। बरु, नमस्कार गर्नु सारा हृदयमाथि विजय प्राप्त गर्नु हो।

    नमस्कार गर्ने व्यक्ति कहिल्यै पनि घमण्डी हुँदैन, कठोर हुँदैन र अल्छी हुँदैन। उसमा प्रेम, करुणा, भक्ति, कर्मशीलता र विनयजस्ता गुण खचाखच भरिएका हुन्छन्। प्रत्येक दिन एक जना नयाँ मान्छेलाई नमस्कार गर्ने बानीको विकास गर्न सक्ने हो भने एक वर्षमा हामीले ३६५ जना आफन्त र शुभेच्छुक कमाउन सक्छौँ। नमस्कार त्यस्तो मान्छेले मात्रै गर्न सक्छ, जो सरल हुन्छ, कोमल हुन्छ र लचक हुन्छ। सालको रुखजस्तै ठडिने स्वभाव भएको रुखो मान्छेले कहिल्यै पनि नमस्कार गर्न सक्दैन। उसको अहम् जम्मा भएर बसेको हुन्छ, अन्तस्करणमा। अहम्को पत्रपत्र नखुले सम्म नम्रता फूल्न गाह्रो हुन्छ।

    यदि अहम् घटाउने इच्छा छ भने नमस्कारको कसरत नै सबैभन्दा ठूलो कसरत हो। नमस्कार गर्दा हामीले दुई तरिकाले अहम् घटाउने काममा सहयोग गरिरहेका हुन्छौँ : एक आफूभित्रको अहम्, अर्को जसलाई नमस्कार गर्छौँ, उसभित्रको अहम्। हामीले नमस्कार गर्दा अर्को मानिसले पनि मैले गर्नुपर्दछ भन्ने सोच्छ। यति सोच्नु भनेको उसले नमस्कार गर्नु हो र त्यसरी नमस्कार गर्दै जाँदा अहम् घटेर उसभित्र सरलताको प्रकाशन हुनु हो।

    मनोविद्हरूले पनि अध्ययन गरेका छन् र निष्कर्ष के निकालेका छन् भने नमस्कार गर्ने मान्छेको हृदयघातको सम्भावना पनि निकै कम हुन्छ भने कहिल्यै सिर नझुकाउने र हात नजोड्ने मानिसको हृदयघातको सम्भावना पनि बढी हुन्छ। हृदयघात लचक हुन नसक्दा हुने समस्या हो। विचारमा सरलता, जीवनशैलीमा सरलता, नम्रता, अरुको अस्तित्वलाई सम्मान गर्ने बानीले व्यक्तिको रक्तप्रवाहको गति पनि सन्तुलित र स्वस्थ बन्न पुग्छ, फलस्वरूप हृदयघातको सम्भावना कम भएर जान्छ।

    सामान्यतया महिलाहरूमा हृदयघातको सम्भावना कम देखिन्छ। निकै थोरै महिलालाई मात्रै यो समस्या हुन्छ। उता हृदयघातको सम्भावना पुरुषहरूमा भने निकै धेरै हुन्छ। यसको सूक्ष्म निरीक्षण गर्दा के देखिन्छ भने महिलाहरू कुनै पनि कुरामा एकदम रिजिड भएर बस्दैनन्, अर्थात् उनीहरू परिस्थितिसितै समायोजित हुन सक्छन्। सारै दुःख भयो भने रुन्छन् र हृदयभित्रको मनोवैज्ञानिक दोष आँसुले धुन्छन्। तर, रुनु भनेको नामर्द हुनु हो, कमजोर हुनु हो भन्ने पुरुषको सोच हुन्छ। जसले गर्दा भित्रको मैलो पखालिन पाउँदैन। त्यो मैलोले अन्ततः हृदय प्रदेशको स्वाभाविक गतिलाई नै अवरोध पुर्‍याउन थाल्छ र हृदयघातको सम्भावना पनि बढेर जान्छ।

    पुरुषहरू प्रायः हलुका हुन चाहँदैनन्। म ठूलो मान्छे, ठूलो पदको व्यक्ति, सानासित बोले भनेँ मेरो इज्जत जान्छ, भन्ने विचार आजको धेरै पुरुषको सोच हो। यो रुखको सोच हो, तर महिलाहरूको सोच भने बाँसको जस्तै हुन्छ। महिलाहरू बाँसजस्तै परिस्थितिसित मिल्न सक्छन्, तर मूल छोड्दैनन्। पुरुष जति मर्द भए पनि बाहिर मात्रै हो, घरभित्र हरेक स्त्रीहरू बलिया हुन्छन्। कारण, उनीहरू परिस्थितिसितै बगेर परिस्थितिलाई नै आफूअनुकूल बनाउन सक्दछन्।

    सिर झुकाउनु भनेकोे त मरेसरह हो भन्नु अत्यन्त गलत विचार हो। तर, शिर झुक्न थालेपछि मात्रै व्यक्तिको सफलताको यात्रा सुरु हुन्छ। हातलाई हृदयमा जोडेर सिर झुकाइ नमस्कार गर्दा मात्रै हामीभित्रको मनुष्यता पुष्पित हुन सक्छ। बारम्बार नमस्कार गर्ने व्यक्ति जत्तिको धनी यो दुनियामा अर्को को होला?

    हाम्रा ऋषि महर्षिले सबैलाई आफूजत्तिकै महत्त्वपूर्ण देख्न सक्नुपर्दछ भनेर नमस्कार गर्न सिकाएका हुन्। हरेक व्यक्ति साक्षात् परमात्माको विम्ब हो, प्रतिनिधि हो। रहेकभित्र दिव्यताको वास हुन्छ। हरेक आत्मा परमात्माको सन्तान हो। त्यसैले, जसलाई जति पटक नमस्कार गरे पनि हुन्छ। नमस्कार गर्नका लागि ठूलै मान्छे हुनुपर्दछ, अथवा मान्यजन नै हुनुपर्दछ भन्ने होइन। हरेकभित्र परमात्मा भएपछि सकिगो त। परमात्माभन्दा ठूलो को छ र?

    यसप्रकार, नमस्कार आस्तिकताको पनि संस्कार हो। आस्तिक भनेको सबैको अस्तित्वलाई स्वीकार गर्नुको नाम हो भने नास्तिक भनेको आपूmबाहेक कसैको पनि अस्तित्वलाई नस्वीकार्नुको नाम हो। यदि हामी छौँ भने अरु पनि छन्, यदि हामी सम्मानित हुने हो भने अरु पनि सम्मानित हुनुपर्दछ, यदि मलाई अरुले नमस्कार गर्नुपर्दछ भने मैले पनि उनीहरूलाई नमस्कार गर्नुपर्दछ भन्नु नै आस्तिकता हो। नमस्कारले यसरी हामीलाई आस्तिक हुनका लागि पनि प्रेरणा प्रदान गर्दछ।

    माथिका विभिन्न सन्दर्भहरूले के स्पष्ट हुन्छ त भन्दा नमस्कार संसारकै दिव्य सभ्यता हो, स्वस्थ र समुन्नत सभ्यता हो। आउन्स्, अब हामी पनि नमस्कार गरौँ र अहम्लाई कम गर्ने महायज्ञमा सरिक बनौँ। हामी प्रत्येकसित दुईटा सगरमाथा छन् : एउटा हिमालय र अर्को अहम्को सगरमाथा। हिमालयलाई .राख्नुपर्छ, तर अर्को हृदयमा बन्दै गएको अहम्को सगरमाथालाई भने सतहमा झार्नु छ र स्वस्थ हिमालयजस्तै हाँसेर बाँच्नु छ। आजैदेखि नमस्कार गरौँ र हृदघातबाट बचौँ, किनकि नमस्कार हृदयघातबाट बचाउने ओखती हो। बाँसबाट हामीले लिने प्रेरणा यही हो।