‘ॐ श्री परमात्मने नमः।’
हामी गुरु गोरखनाथका दिव्य वाणीहरूको अध्ययन गरिरहेका छौँ। दिव्य वाणी सुन्नुपर्छ तर सुनेर मात्रै पुग्दैन। त्यसलाई संस्मरण पनि गर्नुपर्छ। कतिपय अवस्थामा हामी आफैसँग भएका वस्तुको समेत आपत्कालमा प्रयोग गर्न भुल्छौँ। हाम्रो राम्रो साथी छ तर आपत्कालमा उसको याद भएन के काम ? हुनु र नहुनुको। त्यसैले सुनेको कुराको संस्मरण हुनु आवश्यक छ। Whenever you need someone or something you have to be able to recall that, you have to remember that. जब श्रवण र संस्मरण हुन्छ, त्यसलाई सही अनुसरण गर्न सकिन्छ।
तपाईंलाई थाहा छ, सेवा गर्नुपर्छ, सहन सक्नुपर्छ तथा प्वाक्क बोल्नु हुँदैन, घमण्ड धेरै गर्नुहुँदैन, बोल्ने बेलामा नौटङ्की गर्नुहुँदैन आदि। तपाईंलाई थाहा छ, कतै मैले गल्ती गरें कि ? धेरै बोलें कि ? बोल्न नहुने शब्द बोलें कि ? बोल्ने बेला कसैलाई होच्याएर बोलें कि ? हो, तपाईंलाई श्रवण गरेको विषयको संस्मरण भयो तर अनुसरण गर्न सकिएन भने के अर्थ ? If you can not apply good things, If you can not implement any good message, any good formula, so whats the point of knowing? गुरु गोरखनाथका दिव्य वाणीको श्रवण, संस्मरण र अनुसरण गर्न सिकौँ। किनकि जीवन अत्यन्तै महत्त्वपूर्ण छ। मानव जीवन एक अनुपम वरदान हो।
‘मनुजदेहमिमं भुवि दुर्लभं, समधिगम्य सुरैरपि वाञ्छितम्।
विषयलम्पटतामपहाय वै, भजत रे मनुजा कमलापतिम्।।’
अर्थात्- संसारमा देवताहरूले पनि पाउन खोज्ने यो मानव चोला अति दुर्लभ छ। त्यसैले हे मानिसहरू, विषयभोगको लालसालाई त्यागेर कमलापति भगवान्लाई भजन गरिराख।
मनुष्यको जीवन अत्यन्तै दुर्लभ छ, यो अति नै महत्त्वपूर्ण छ। यसको उच्चतम सदुपयोग गर्नुपर्छ। त्यसै कारण मानिसले सुमार्गमा हिंड्नुपर्छ, असल बोली बोल्नुपर्छ र असल शास्त्र पढ्नुपर्छ। पढ्नुको अर्थ घोक्नु मात्रै होइन, परिपालन पनि हो, मनन गरौँ। विद्याले विनयी बनौँ। विद्याले अमरता दिन्छ भनिएको छ। अमरता भनेको सधैँ संसारमा रहिरहने भनेको होइन। संसारबाट गएपछि पनि आफ्नो प्रसिद्धि रहिरहने भनिएको हो। घोकेर त्यो कुरा पाइन्न; मनन गरौँ-
‘विद्या ददाति विनयं विनयात् याति पात्रताम्।
पात्रत्वात् धनमाप्नोति धनात् धर्म ततः सुखम्।।’
अर्थात्- विद्याले विनम्रता दिन्छ, विनम्रताले योग्यता हुन्छ। योग्यताले धन प्राप्त हुन्छ। धनबाट धर्म र त्यसबाट सुख हुन्छ।
सत्पात्र वा असल मानिस बन्न विद्या आवश्यक छ। विद्यामा संलग्न हुनु मानिसको एक विशेषता नै हो। मानिसको जीवन कर्मशील छ। अरु प्राणीले प्रकृतिले दिएका स्वभाव र क्षमताबाट जीवन निर्वाह गर्छन्। मानिसले शिक्षाका बलमा असीमित काम गर्न सक्छ र त्यसबाट व्यक्तित्व विकास गर्न सक्छ। काम नगर्ने मानिस र पशु उस्तै हो भन्दा फरक पर्दैन। पशुले काम गरेको छ तापनि मानिसले बाध्य पारेर गरेको हो। पशुलाई सत्पात्रका रूपमा परिचय खोज्ने आवश्यकता छैन। मानिस पात्रता खोज्दैन भने ऊ पनि पशु समान हो तर मानिस स्वक्रियात्मक हुनुपर्छ। प्रसङ्ग अब गोरखवाणीको:-
‘धाये न खाइबा, भूखे न मरिबा, अहनिसि लेबा ब्रम्ह- अगनि का भेवं।
हठ न करिबा, षड्या न रहिबा, युं बोल्या गोरषदेवं।।’
अर्थात्- धेरै नखानू, भोकै बसेर नमर्नू, रातदिन चिन्तन गर्नू, जिद्दी नगर्नू, उभिई मात्रै नरहनू भनेर गोरक्षदेवले बताउनुभएको छ।
जताततै कुदी कुदी धेरै खानु हुँदैन र खानपीनको व्यवस्था हुँदा पनि अल्छी गरेर भोकै बस्नु हुँदैन। सधैँ अन्नको जतन गर्नुपर्छ। अन्न नै भगवान् हुन्। यसलाई हामीले बनाउन सक्तैनौँ। आफैँ मात्रै जान्ने भनेर जिद्दी पनि नगरौँ र बिना काम उभिएर समय नबिताऔं भन्ने यस भनाइका प्रत्येक पद सफल जीवनका महामन्त्र हुन्।
‘धाये न खाइबा’ धेरै खानु हुँदैन। जति यो संसारमा मानिसहरू खान नपाएर मरे त्यसभन्दा धेरै खान नजानेर, धेरै खाएर अथवा खाने कुरा नखाएर। नखाने कुरा खाएर पनि धेरै मानिस मरेका छन्। भोजनको सम्बन्धमा ५ कुरामा ध्यान दिनुस्, १. के खाने? २. कहिले खाने? ३. कसरी खाने ? ४. कति खाने? ५. किन खाने? मानव शरीर धारण गरेपछि खानु त पर्यो, धनी होस् या गरीब होस्। खानुस् तर खाने बेला माथिका ५ प्रश्नलाई बारबार चिन्तन गर्नुहोस्। विकसित भनेका देशमा अहिलेको प्रमुख समस्या यही हो। It’s all because they don’t know what to eat ? And how to eat? Junk Food को दुनियाँमा आज जुन समस्या छ त्यो सबै आफ्नै कारणले हो। त्यही भएर हाम्रो शास्त्रले भन्छ सात्विक भोजन गर, शाकाहारी भोजन गर। भोजन कस्तो होस्? सात्विक र शाकाहारी होस्। त्यही भएर हाम्रा सारा शास्त्रहरूः- वेद, उपनिषद्, पुराण, गीता सबैमा सात्विक र शाकाहारी भोजनमा जोड दिइएको छ।
खानु भन्ने शब्दको नेपाली भाषामा धेरै अर्थ लाग्छन्। फलानाले जागीर खायो। अमुकले भन्सारको जागीरमा छँदा खानु खायो। ढिम्काकी छोरीले राम्ररी घर खाएकी छे। आज बिहानको छाक त खायौँ। यी सबै वाक्यमा खाने कुरा नै छ। तर प्रत्येकको अलग अलग अर्थ छ। पहिलेका वाक्यहरूको अर्थ अन्य अन्य छ तर अन्तिम वाक्यको अर्थ भने पेट भर्नका लागि खाएको हो। बाँच्नका लागि नियमित रूपमा पेट भर्नुपर्छ अर्थात् खानुपर्छ। यसरी खानेकुराले जीवन बाँच्ने हुनाले खाद्यको गुणदोषको प्रभाव जीवनमा पर्छ। मानिसले खाएका कुराको केवल शरीरमा मात्रै प्रभाव पर्छ भन्ने होइन। यसको प्रभाव मन, बुद्धि र चेतनामा पनि उस्तै पर्दछ। यस विषयमा गीतामा स्पष्ट व्याख्या गरिएको छ-
“आयुः सत्व बलारोग्य सुख प्रीति विवर्धनाः,
रस्याः स्निग्धाः स्थिराः हृद्याः आहाराः सात्विकप्रियाः।१७।८।।
अर्थात्- आयु, बुद्धि, बल, आरोग्य, सुख र प्रेम बढाउने रसयुक्त, उचित चिल्लोपना भएको, स्थिर, मनले रुचाउने खालको हितकारी भोजन सात्विक हो।
‘कट्वम्लल वणात्युष्ण तीक्ष्ण रूक्ष विदाहिनः।
आहारा राजसस्येष्टा दुःख शोकामयप्रदाः।१।९।।’
अर्थात्— धेरै तीतो, अमिलो, नुनिलो, तातो, पिरो, रुख्खो, जलन हुने राजसी आहारले दुःख, शोक र रोग बढाउँछ।
‘यातयामं गतरसं पूति पर्युषितं च यत्।
उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम्।१७।१०’
अर्थात्— बासी, रस उडेको, दुर्गन्धी, कुहिएको, जुठो, अपवित्र, स्वास्थ्य बिगार्ने, तामसी भोजन अप्रिय हुन्छ।
धेरै खाने पनि होइन, भोकै मर्ने पनि होइन। म त व्रत, ध्यान, तपस्या, योग, धर्म गर्ने मान्छे भनेर भोकै मर्ने पनि होइन। गीतामा भनिएको छ- ‘समत्वं योग उच्यते।’ (गीता २/४८) समता, सन्तुलन नै योग हो। धेरै खाने पनि होइन, कम खाने पनि होइन; सन्तुलन मिलाएर खाने हो। आहार, विहार, आराम, कर्मचेष्टा, स्वप्न, जागरणमा सन्तुलन भएको मानिस दुःखमुक्त हुन्छ, योगी समान हुन्छ भन्ने विषयमा श्रीमद्भगवद्गीतामा स्पष्ट भनिएको छ-
‘युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु।
युक्त स्वप्नावबोधस्य योगो भवति दुःखहा।।’ गीता ६।१७।।
अर्थात्- दुःख नाश गर्नका लागि उचित समयमा खानपीन, समुचित कर्म, उचित समयमा जाग्नु र सुत्नुपर्छ।
तपाईंको हरेक क्रियाकलापमा सन्तुलन होस्। यसरी सन्तुलनपूर्वक रहँदा नै तपाईंको साधना हुन्छ। यसरी नै तपाईं शारीरिक, भौतिक, मानसिक, भावनात्मक दुःख सबैबाट मुक्त हुनुहुन्छ। तपाईंले चिन्तन, अध्यात्मचिन्तन, आत्मचिन्तन अहोरात्र गर्नुपर्छ। आत्मचिन्तनलाई अलग्गै गर्ने होइन। तपाईं गाडी चलाउँदै गर्दा कुरा गर्नुहुन्छ, दायाँबायाँको दृश्य हेर्नुहुन्छ, खानुहुन्छ, सङ्गीत सुन्नुहुन्छ, फोन गर्नुहुन्छ आदि। यति गर्दागर्दै पनि तपाईंको मूल ध्यान गाडी चलाउनमा नै हुन्छ। ठीक त्यसै गरी हरेक क्रियाकलापमा चिन्तनलाई मूलमा राखेर कर्म गर्नुपर्छ।
तपाईंले दिनभर गरेका सबै क्रियाकलाप महत्वपूर्ण नहुन सक्छन्; जस्तैः दिनभर भिन्न- भिन्न व्यक्तिसँग बोलेको, सुनेको, दिनभर देखेका दृश्य आदि। तर चिन्तन, आत्मचिन्तन भने अत्यन्तै महत्वपूर्ण छ। म को हुँ ? कहाँ जानु छ ? कसरी गर्नु छ ? मैले मेरो मनको भावना शान्त राखें कि राखिन? Am I Happy ? Am I Balanced Myself ? Am I Holding myself ? Am I Doing Good Things Today ? Am I Maintaining Today My Positive Spirit? यी महत्वपूर्ण विषय हुन्। त्यही कुरा कविशिरोमणि लेखनाथ पौड्याल भन्नुहुन्छ:-
कहाँ थियो वास, अघि म को थिएँ,
कसो हुँदा यो पिंजरा लिँदो भएँ।
कहाँ छ जानू कुन साथ लीकन,
तँलाई मालुम् छ कि यो कुरा मन?
संसारको जुनसुकै स्थानमा जसरी बसे पनि हठ नगर्नू, घमण्ड नगर्नू- ‘हठ न करिबा।’ धेरै जसो सम्बन्ध हठको कारणले बिग्रन्छ। त्यस्तो बानी छोडेर सहज रहन सक्नुपर्छ। यस्तै त हो नि संसार ! मैले गरेर के हुन्छ र ? भनेर निराश नबन्नुहोस्, आफ्नो कर्तव्यबाट विमुख नहुनुहोस्, अगाडि बढ्नुहोस्, निरन्तर सत्कर्म गर्नुहोस्। कर्म गर्ने बेलामा हठको भावना नराख्नुहोस्।
व्यवहारमा नरम र नम्र बन्नुहोस्- ‘षड्या न रहिबा।’ ठाडोपनबाट हामी कसैलाई जित्न सक्दैनौं। बरु उल्टै सम्बन्ध, मित्र गुमाउँछौं, शत्रु कमाउँछौं। खडापन, ठाडोपन र जिद्धीपनले हाम्रो मूर्खताको परिचय दिन्छ, विद्वत्ताको होइन, दुर्बलताको परिचय दिन्छ, सामथ्र्यको होइन। धेरै परिश्रम, दौडधूप पनि अतिवाद हो। यही अतिवादलाई, अति परिश्रमलाई, खडापनलाई गुरु गोरखनाथले बाधक मान्नुभएको छ जीवन यात्रामा किनकि मानिसलाई विश्राम पनि चाहिन्छ, समुचित विहार चाहिन्छ, सन्तुलित प्रयास चाहिन्छ तर आज मानिसलाई Art of living थाहा छ, Art of life भने थाहा छैन। तसर्थ गुरु गोरखनाथको दिव्य वाणीको स्मरणले व्यस्त जीवनलाई मस्त बनाउँछ। यो नै Art of life हो। यसका मद्दतले जीवनलाई सुन्दर, समृद्ध, सामथ्र्यवान् बनाउन सहज हुन्छ।
वास्तवमा कुनै पनि विषयवस्तुमा, क्रियाकलापमा र सम्बन्धहरूमा धेरै- थोरै, घटी- बढी आदिको खास महत्व हुँदैन। महत्व त केवल प्रयोगको हुन्छ, उपयोगको हुन्छ, व्यवहारको हुन्छ। हामीले संयमपूर्वक सही- सही तरिकाले उपयोग गर्न जान्यौं भने थोरै पनि धेरै बराबर हुन सक्छ र असहज पनि सहज बन्न सक्छ। छिटो हिंड्नुस् वा ढिलो हिंड्नुस् तर हिंडिराख्नुस्। धेरै पढ्नुस् वा थोरै पढ्नुस् तर पढिराख्नुस्। धेरै सुन्नुस् वा थोरै सुन्नुस् तर सुनिराख्नुस्- सद्वाणीहरू। धेरै गर्नुस् वा थोरै गर्नुस् तर गरिराख्नुस् सुकर्महरू। धेरै दिनुस् वा थोरै दिनुस् तर दिइराख्नुस्- धन, अन्न, ज्ञान आदि। मूल विषय यहाँ सन्तुलनको छ, सद्ज्ञानको छ। सद्ज्ञानको जगलाई अत्यन्तै बलियो बनाएर सही सन्तुलनसहित कर्म गर्दै गयौं भने दुर्गम्य, दुर्लभ्य एवं दुर्बोध्य केही पनि छैन। बस्, यात्रा चलिरहोस्, सहज यात्रा, गोरख वाणी यात्रा।
जय गुरु गोरखनाथ।।