अप्सरा दाहाल सिक्किममा रहेर नेपाली साहित्य सिर्जनामा तल्लीन नाम हो। पेसाले शिक्षाका रहेकी अप्सरा अविवाहित छन्। बुवा-आमाको निधन भइसकेको छ। उनकी भाउजूको पनि निधन भइसकेको छ। परिवारमा दाजु छन्। दाजुका तीन सन्तान। उनले आफ्नै घर बनाएकी छन्। उनी दुई दिदीका साथमा बस्दै आएकी छन्। अब अप्सरालाई बिहे गर्नु छैन। केवल उनलाई साहित्य सिर्जनामा तल्लीन हुने हुटहुटीमात्रै छ। सानैदेखि उनी काममा तल्लीन भइन्। घरमा बिहेका लागि थुप्रै प्रस्ताव आए। रूप राम्रै थियो। सरकारी जागिर थियो। ठूलो घरघरानाका मान्छेले पनि उनीसँग बिहेका लागि प्रस्ताव गरे। तर, अप्सराभित्र साहित्यमै केन्द्रित हुने सोच थियो। समाजले कुरा काट्यो। उनले प्रवाह गरिनन्। बरु त्यही समाजसँग मिलेर बसिन्। उनलाई धेरै पैसाको लोभ छैन। खान पुगोस् मात्रै चाहन्छिन्। हिँड्न पुगोस् र थोरै समाज सेवा गर्न पुगोस् भन्ने उनको चाहना छ। तीनै अप्सराले नेपालको साहित्यलाई कसरी बुझिरहेकी छन् त? उनै साहित्यकार अप्सरासँग चैतन्य खबरका लागि निर्मला कडायतले पहिलो प्रश्न गरेका छन्- सिक्किममा रहेर साहित्य सिर्जना गरिरहनुभएकी अप्सराले नेपालमा साहित्यको अवस्था र उर्वरता कस्तो पाउनु भएको छ?
नेपालले मलाई धेरै माया गरेको छ। नई प्रकाशनले मलाई धेरै माया गरेको छ। केही समय पहिले सुदूरपश्चिमले पनि मलाई सम्झियो। धनगढीस्थित सुदूरपश्चिमाञ्चल साहित्य समाजले बोलाएर मलाई सम्मानित गर्यो। सुदूरपश्चिमदेखि काठमाडौंसम्मको साहित्यको माहौल हेर्दा मलाई निकै खुसी लागेको छ। धनगढीले त झनै विश्व नेपाली नारी साहित्य महोत्सव नै गर्यो। नेपालले नारी स्रष्टाहरूलाई पनि निकै सम्मान गर्दो रहेछ। नेपाल साहित्यमा यसरी नै अगाडि बढ्यो भने निकै अगाडि बढ्ने छ। नेपालीमा सिर्जना भएका साहित्यिक रचना र कृतिको ओज निकै माथिल्लो तहको छ। र, नेपालमा हुने विभिन्न साहित्यिक गतिविधिले यहाँको साहित्यलाई विश्वव्यापी गर्नसमेत टेवा पुर्याउनेमा म विश्वस्त छु। नेपालको भाषा र शैली निकै माथिल्लो तहको छ।
तपाईं आफू चाहिँ साहित्यको कुन विधामा कलम चलाउनु हुन्छ?
म पहिलेदेखि नै कविता लेख्थे। मेरा चार कविता कृति प्रकाशित भएका छन्। ‘सम्झनाको देश’ मेरो पहिलो कविता कृति हो। त्यसले धेरै चर्चा बटुल्यो। दोस्रो ‘मनका कहरहरू’, तेस्रो ‘फूलका उमेरहरू’ र चौथो कविता कृतिका रूपमा अहिले ‘मनलाई मनको चिठ्ठी’ बजारमा ल्याएकी छु। मेरा केही कथा पनि संग्रहित भएका छन्। लेख रचनामा पनि मैले कलम चलाएकी छु। मानिसका संघर्षका पाटाहरूलाई उधिन्ने प्रयत्न गर्छु।
दार्जिलिङ, असाम, सिक्किममा रहेर साहित्य सिर्जना गरिरहनु भएका नेपाली भाषी साहित्यकारहरूको बजार कति फराकिलो छ?
हाम्रो बजार फराकिलो नै छ। नेपाली भाषी साहित्यकारहरू विश्वको जुन कुनामा छन् त्यहाँसम्म हामीहरूको बजार छ। साहित्य समर्पित भएर सिर्जना गर्नुपर्छ। रहरलेमात्रै पुग्दैन। नेपाली भाषाको बजार निकै उर्लिएर गएको छ। नेपाली भाषाका कृतिहरू विश्वका विभिन्न भाषामा अनुवाद हुने क्रम पनि बढ्दो छ। जसले गर्दा हाम्रा सिर्जना विश्वव्यापी करण हुने क्रम बढिनै रहेको छ। म आसावादी मान्छे हुँ। हामी आसावादी हुनुपर्छ। बलियो सिर्जना भयो भने त्यो विश्वका लागि नै आवश्यक हुन्छ। केही कमजोरी पनि होलान्। हामीले कमजोरीलाई सुधार्दै लैजानुपर्छ।
नेपाल सरकारले हामीहरूलाई निकै सम्मानजनक व्यवहार गरेको छ। मैले ‘भानुभक्त काव्य पुरस्कार’ नेपाल सरकारबाटै प्राप्त गरेकी हुँ। दार्जिलिङ, असाम, सिक्किममा रहेका थुप्रै साहित्यकारलाई नेपाल सरकार र यहाँका साहित्यिक संस्थाले सम्मान गरेका छन्। हामीहरूले नेपाल र नेपालीको अपार माया पाइरहेका छौं। नेपाल सरकारले हाम्रो लेखनीमा ऊर्जा थप्ने काम नै गरिरहेको छ। म धनगढी पुग्दा त्यहाँका साहित्यकारहरूको विचार निकै माथिल्लो पाए। उहाँहरूले देखाउने आत्मीय व्यवहार र मिलेर गर्ने साहित्यिक गतिविधिले मलाई निकै लालायित तुल्यायो।
नेपालबाट यस्तो सहृदयता पाउँदै गर्दा दार्जिलिङ, असाम र सिक्किमले नेपाललाई के दिनुपर्छ र के दिइरहेका छौं झैँ लाग्छ?
हामीले त त्यस्तो धेरै ठूलो केही दिन सकेका छैनौं। हामीलाई नेपाल राम्रो लाग्छ। यहाँको भाषा, साहित्य, कला र संस्कृति मन पर्छ। साहित्य सिर्जना गरेर थोरै भए पनि नेपाली साहित्यको श्रीवृद्धिमा इट्टा थप्ने काम गर्न सकियोस् भन्नेमा हामी पनि उद्धत भने छौं।
त्यहाँ बसेर साहित्य सिर्जना गरिरहनु भएका स्रष्टालाई सम्झिनुपर्दा कसरी सम्झिनु हुन्छ?
म अहिले सिक्किमको लोवर बर्मिक माध्यमिक विद्यालयमा प्रावि तहमा अध्यापनरत छु। रिटायर भइसकेपछि एउटा संस्था खोलेर साहित्य कर्ममा नै तल्लीन हुने सोच छ। त्यहाँ रहेका साहित्यकारहरूलाई त्यो संस्थाका माध्यमबाट सबैलाई बोलाएर विभिन्न साहित्यिक गतिविधि गर्ने सोच छ। हामीले जहाँ रहेर भए पनि आफ्नो भाषा, साहित्यलाई माया गर्नुपर्छ। म कोरियोग्राफर पनि हो। मैले दुई/तीन सय कार्यक्रममा जजको भूमिका निर्वाह गरिसकेकी छु। मेरो गीति एल्बम पनि छ। मैले आकाशवाणी गानको कल्पकुञ्ज कार्यक्रममा तीन/तीन महिनामा एक पटक कविता वाचन पनि गर्छु। मैले एक/दुई डकुमेन्ट्री तयार पारेकी छु। नाटकमा पनि अभिनय गरेकी छु।
मलाई सबैको सपोर्ट छ। परिवारका सदस्यको सपोर्ट छ। स्कुलबाट प्रिन्सिपलले पनि साहित्यिक गतिविधिमा सहभागी हुँदा राम्रोसँग जानु भनेर प्रेरणा दिनु हुन्छ। अनुकूलता अनुसार बिदा मिलाइदिनु हुन्छ। म उहाँहरूले पठाउँदा दिएको बिदा अनुसार नै चल्ने गर्छु।
भावी जीवनका अन्य लक्ष्य के-के छन्?
अहिले नै के भनौं र खै? समाजसेवा गर्ने मन छ। मेरो लेखाइ ग्रामीण परिबेसका विषयवस्तु केन्द्रित हुन्छ। मलाई परिवेश पनि त्यस्तै मन पर्छ। म प्रकृतिवादी हुँ। कतिपय साहित्य सिर्जना वास्तविकतामा आधारित पनि छन्। मैले ठूलो सेवा गर्न नसके पनि लुगाफाटो किनिदिने, खानेकुरा किनिदिने गर्ने छु।
अन्त्यमा नेपाल यसरी नै अगाडि बढोस्। देश-विदेशका साहित्यकारहरूलाई अगाडि बढाउन सक्नु ठूलो काम हो। मलाईमात्र नभएर अरू पनि म जस्ता स्रष्टालाई नेपालले माया गरेकोमा खुसी छु। मेरो ठाउँमा साहित्यकार छैनन्। म पश्चिम सिक्किमको पल्लो छेउमा छु। मैले साहित्यकारहरूसँग सम्पर्क गर्न फोनै गर्नुपर्छ। अब नेपालसँग मेरो साधिन्यता बढेको छ। मैले राम्रोसँग साहित्य सिर्जना गर्न सके भने नेपालले मलाई सम्झिरहने छ भन्ने लाग्छ।