सार्वजनिक सेवामा उपसचिव पद हार्ट नसो जस्तै हो। सेवा प्रवाहमा चुस्तता प्रदान गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका उपसचिवको हुन्छ। यो जनतासँग नजिक भएर काम गर्न सकिने पद पनि हो। यस्तो बेलामा हाकिमले कुनै जिम्मेवारी दिँदा कुशलतापूर्वक गर्नुपर्छ। कुनै कामलाई कुशलतापूर्वक गर्दा ठूलो समारोहमा हाकिमले राम्रो कामको श्रेय दिँदा छाती गर्वले पुल्ने खालको बनाउनुपर्छ। निजामती सेवा निजी क्षेत्रमा काम गरेको जस्तो होइन। निजी क्षेत्रमा मुनाफाका लागि काम गरिन्छ। यसमा समाजको सुरक्षाका लागि काम गरिन्छ। यो तलब खाएर राष्ट्रको सेवा गर्न मिल्ने क्षेत्र हो। त्यसैले यो गर्भ गर्न योग्य जब हो। पहिले मानिसहरू सरकारको सिन्दूर लगाएको मानिसका रूपमा सरकारी कर्मचारीको चित्रण गर्थे।
निजामती सेवाप्रति अहिले जनताको धारणा राम्रो छैन। राजनीतिको धारणा पनि राम्रो छैन। व्यापारी र बुद्धिजीवीको धारणा पनि कर्मचारीप्रति राम्रो छैन। बुद्धिजीवीले यिनीहरूसँग ज्ञान नै छैन भन्छन्। निजी क्षेत्रले कर्मचारीलाई अवरोधकको रूपमा लिने गरेको पाइन्छ। नेताहरू हामीले स्वर्ग नै बनाउन खोजेको हो। तर, कर्मचारीले डुबाए भन्छन्। जनताले नेता र कर्मचारीमा कुनै फरक छैन भनेर व्याख्या गर्छन्। कर्मचारीलाई जनताले घुस्याको रूपमा हेरिरहेका छन्। कर्मचारी जीवन संघर्षका लागि लडिरहेका डाइनास्वर जस्तै छन्। मैले ४५ वर्ष यस सेवामा समय बिताएको छु। यो सेवाको माया लाग्छ। त्यसैले यो सेवा चुस्त हुँदै जनताले अपनत्व गर्न सक्ने खालको होस् भन्ने लाग्छ।
अन्य मुलुकमा राजनीति नपुग्ने ठाउँमा जनताको आवाज नसुने ठाउँमा प्रशासक पुग्नुपर्छ भन्ने अवधारणा आएको छ। माथिका राजनीतिज्ञको कुरा, नीति निर्माताको कुरा, प्राविधिज्ञको कुरा सार्वजनिक प्रशासनका कर्मचारीले जनतामा पुर्याइदिनुपर्छ भन्ने अवधारणा आएको छ। यस्तै जनताका आवाज नीति निर्मातासम्म ल्याइदिने काम कर्मचारी तन्त्रको हो भनिन्छ। के हामी त्यसमा सक्षम छौं। के हामीले त्यसमा विश्वास आर्जन गर्न सकेका छौं। पक्कै पनि छैनौं। हाम्रा व्यवहार र काम गर्ने शैली राम्रा छैनन्। हामीले शासनको शैलीमा जनतालाई सेवा दिइरहेका छौं। एक दुई जनाले राम्रो गर्दैमा सेवा राम्रो हुँदैन। कर्मचारीले जनतासँग कस्तो व्यवहार गर्छ भन्ने कुराले पनि अर्थ राख्छ।
भ्यालुहरूमा राजनीतिज्ञले काम गर्ने र जनताप्रति जबाफदेही राजनीतिज्ञले हुने हो भन्ने पहिले गलत भाष्य परिभाषित हुने भए पनि अब त्यो फेरिनुपर्छ। कर्मचारी पनि जनताप्रति जबाफदेही हुनुपर्छ। हामीले सचिव पनि जाँच लिएर प्रतिस्पर्धाबाट आउनुपर्छ भनेका थियौं। राजनीतिज्ञले मानेनन्। अहिले अवकाश भएरमात्र भनेको होइन। पहिले नै भनिरहेका थियौं। नेपालमात्र नभएर अन्य देशमा पनि केही कमजोरी होलान्। तर, त्यहाँ जनताको अति प्रिय बनाउने प्रयास भएका छन्। हाम्रोमा भने त्यो हुन सकेको छैन। यहाँ भ्रष्टाचार भयो। यो नैतिक संगठन हुन सकेन।
नयाँ जेनेरेसन भ्रष्ट छ। यो जानासाथ घुस खान्छ। अन्तरवार्तामा बस्दा हामीसँग देशको सेवा गर्न आएको भनेर भोलि पल्ट घुस खाने? यसले हामीलाई लज्जित तुल्याउँछ। करोडौंका घुस काण्ड आउँदा हामी लज्जित हुन्छौं। यसो हुँदा यसको विकल्प खोजिन्छ। विकल्प के भन्दा काउन्टर व्युरोक्रेसी। जनता भन्दा ठूलो कोही हुँदैन। अहिले पनि कतै विवाद हुँदा राजनीतिज्ञ हुनुभन्दा सिडिओ भए हुन्छ भन्ने छ। कर्मचारी जनतासँग नजिक छन्। नजिकको निकायसँग आसा हुन्छ र आसा अनुसार काम नहुँदा आक्रोश पनि हुन्छ। कर्मचारीहरूमा जानकारी आदानप्रदान गर्ने मानसिकता पनि छैन। सूचना अँठ्याएर राख्ने प्रवृत्ति राम्रो होइन। संसार भनेको व्यूरोक्रेसीमात्र हो भन्ने साँघुरो मानसिकता छ। अब यी कुरामा सुधार हुनुपर्छ।
मलाई पनि तपाईंले के गर्नुभयो भनेर प्रश्न गर्नुहोला। हामीले नसकेरै तपाईंहरूलाई भन्या हो। लेखेर पास हुँदैनमा कुशल प्रशासक भइँदैन। कार्य चुस्ततासँगै सिक्ने चाहना हुनुपर्छ। एक जना अमेरिकी लेखकले यु क्यान वेइन भन्ने पुस्तक लेख्नु भएको छ। त्यो पुस्तकमा एउटा मामा टेस्ट र अर्को बाबा टेस्टको बारेमा लेखिएको छ। र, अर्को हेडलाइन टेस्टका कारेमा उल्लेख छ। मामा टेस्ट भनेको तपाईंले गरेको कामबाट आमाको शिर निहुरिन्छ कि निहुरिँदैन? आमाले तिम्रो त राम्रै नाम आएको छ नि भनेर शिर ठाडो पार्नु मामा टेस्ट हो। बाबा टेस्ट भनेको आफूले गरेको काममा छोराहरूको शिर निहुरिन्छ कि निहुरिँदैन भन्ने हो। हेडलाइन टेस्ट भनेको बदनामित रूपमा समाचारका हेडलाइन आउनु हो। सार्वजनिक प्रशासनमा कोही हिरो हुँदैन। यो कानुन कार्यान्वयन गराउने ठाउँ हो।
(चैतन्य एकेडेमीले लोकसेवाबाट उपसचिवमा सिफारि भएकाहरूका लागि आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा मैनानीले राखेको धारणाको सम्पादित अंश)