काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत्र) सम्ममा विभिन्न भन्सारबाट नेपालमा १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ। उक्त अवधिमा विभिन्न भन्सार नाका हुँदै १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँको वस्तु बाहिरिएको छ।
भन्सार विभागका अनुसार नौ महिनाको अवधिमा २७ वटा नाकामध्ये सबैभन्दा धेरै विरगञ्ज नाकाबाट ४ खर्ब ४३ अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ। विरगञ्जपछि सबैभन्दा धेरै भैरहवा भन्सार नाकाबाट १ खर्ब ७६ अर्ब ७५ करोडको विभिन्न वस्तु नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। त्यस्तै ड्रेपोट नाकाबाट १ खर्ब ५२ अर्ब ३५ करोड, विराटनगर नाकाबाट १ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने चैत्रमसान्तसम्ममा १ खर्ब १९ अर्ब ८८ करोड रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ।
अर्ब रुपैयाँ बरारको वस्तु भित्रिएका भन्सार नाकाहरु?
अर्ब रुपैयाँ बराबरको वस्तु भित्रिएका नाकाहरुमा सबैभन्दा अगाडि जनकपुरबाट ८७ अर्ब रुपैयाँ बराबरको वस्तु भित्रिएको छ। त्यसपछि गौरबाट ८३ करोड, नेपालगञ्जबाट ४९ अर्ब ७३ करोड, मेचीबाट ३५ अर्ब २० करोड, कैलालीबाट १९ अर्ब ८५ करोड, रसुवा १९ अर्ब ५१ करोड, कृष्णनगर भन्सार नाकाबाट १४ खर्ब ६६ करोड, तातोपानी ८ अर्ब ६२ करोड, जलेश्वर ६ अर्ब १९ करोड, सुनसरी ४ अर्ब ७८ करोड, सुठौली ३ अर्ब ४ करोड, सर्लाही १ अर्ब ७२ करोड र कञ्चनपुर भन्सार नाकाबाट १ अर्ब ८ करोड रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको हो।
करोड रुपैयाँ बराबरको वस्तु भित्रिएका भन्सार नाकाहरु?
करोड रुपैयाँ बराबरको वस्तु भित्रिएका नाकाहरुमा चोभार ४७ करोड, गौतम बुद्ध एयरपोर्ट २८ करोड, सती २३ करोड, भरतपुर १९ करोड, महेशपुर ३१ करोड, सिराहा १७ करोड, राजविराज ५ करोड, थाडी ५ करोड रुपैयाँ बरारबरको वस्तु भित्रिएको छ। त्यस्तै त्रिवेनी भन्सारबाट २७ लाखको वस्तु भित्रिएको विभागको तथ्यांक छ।