काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले चैत २९ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वारहरुले ५० प्रतिशत भन्दा बढी मत नपाए भोलिपल्टै चैत ३० गते निर्वाचन हुनेछ।
महासंघको निर्वाचन समितिले प्रकासित गरेको सुचनामा कुनै पनि वरिष्ठ उपाध्यक्षका उम्मेद्वारले ५० प्रतिशत भन्दा बढी मत नपाए चैत ३० गते विहान ११ बजेदेखि मतदान सुरु हुने उल्लेख रहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत २९ गते पहिलो चरणको निर्वाचन हुनेछ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंको सम्पूर्ण कम्पाउण्ड एरियालई मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन अवधिभर मतदान केन्द्रभित्र कुनै पनि उम्मेदवार वा समूहको फ्लेक्स, ब्यानरहरु टाँस्न, झुन्ड्याउन र भड्किलो प्रदर्शन गर्न निशेष गरिएको छ।
मतदान गर्न जाँदा मत संकेत गर्ने कोठामा मोबाइल, क्यामेरा तथा सलाइ, लाइटर, प्रज्वलनशील पदार्थ र तरल पदार्थ लिएर जान निषेध गरिएकाले आफ्नो मोबाइल, क्यामरा, झोला लगायतका वस्तुहरु आफन्त वा सुरक्षा कर्मीलाई बुझाउनुपर्ने बताइएको छ।
यस्तै, जिल्ला÷नगर तथा वस्तुगत संघ समूहको मतदान केन्द्रका लागि केन्द्र–१, वस्तुगत समूहको लागि केन्द्र–१ र एसोसिएट तर्फका मतदान केन्द्र–३ कायम गरिएको बताइएको छ। निर्वाचन कार्यालयका अनुसार जिल्ला÷नगर समूहका सबै पदका लागि रातो रंगको मतपत्र, वस्तुगत समूहका सबै पद (बरिष्ठ उपाध्यक्ष सहित) का लागि निलो रंगको मतपत्र र एसोसिएट समूहका सबै पद (बरिष्ठ उपाध्यक्ष सहित) का लागि सेतो रंगको मतपत्र निर्धारण गरिएको छ। प्रदेश सदस्य र संस्थागत समूह सदस्य पदको मतपत्र भने पहेँलो रंगको हुनेछ।
मत गणना स्थलमा मादक पदार्थ सेवन गरी प्रवेश गरी होहल्ला गर्न शान्ति सुव्यवस्था खलल पार्न निषेध गरिएको छ। यस्तो क्रियाकलाप भए गरेको पाइएमा सुरक्षा कर्मीको सहायताले हल बाहिर पठाउन सकिने निर्वाचनको कार्यालयले जनाएको छ।
यस्तै, मतपत्र दिनु अघि हस्ताक्षर गरी आफ्नो परिचय पत्रमा मतदान गरेको संकेत स्वरुप परिचय पत्रमा प्वाल पारिने भएकोले सो समेत गराई मत पत्र रुजु गरी बुझी लिन र पद अनुसारका अलग अलग मत पेटिका राखिएकोले कुन मत पत्र कुन मत पेटिका खसाल्ने हो सो समेत यकिन गरी सम्बन्धित मतपेटिकामा खसाल्नु पर्ने बताइएको छ।
![]()