काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही सहकारीको गल्तिका कारण समग्र सहकारी अभियाननै बदनाम भएको बताएका छन्।
राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना आजदेखि शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन्।
‘केही सीमित कमीकमजोरी र फ्रडका घटनाहरुले सहकारीप्रति अविश्वास भएको छ, तर समग्रमा सहकारी क्षेत्रले सर्वसाधारणको जीवनस्तर सुधारमा प्रभावकारी काम गरेको छ’, उनले भने।
महासम्मेलन उद्घाटन सत्रमा नेपालको अर्थतन्त्र र सहकारीको विषयमा मुख्य वक्ताको रूपमा गभर्नर अधिकारीले सम्बोधन गरेका हुन्। गभर्नर अधिकारीले सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताए।
गभर्नर अधिकारीले सहकारी क्षेत्रमा सहकारी क्षेत्रले सिमान्तकृत वर्गको स्तर सुधारका लागि धेरै राम्रो काम गरेको बताउँदै सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन गरी सिमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको बताए।