लोकसेवा उपयोगी सामग्री [५१] - Chaitanya News
  • 2026-05-09
  • 20:59:49
  • शनिबार,बैशाख २६, २०८३
  • १. गरिबी मापनका प्रचलित आधारहरु उल्लेख गर्नुहोस्। नेपालले गरिबी मापन गर्न प्रयेग गरेको आधार तथा विधि कुन हो ? छोटकरीमा उल्लेख गर्नुहोस्। (५+५) १०

    उत्तरः – सामान्य बुझाईमा गरिबी भनेको जीवन निर्वाहका लागि आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अवस्था हो, जसलाई सामान्यतः मौद्रिक शक्तिसँगको सापेक्षतामा हेरिन्छ।

    – तर गरिबी मापन र पहिचान कसरी गर्ने भन्ने विषयमा मत्यैक्यता छैन। विभिन्न सन्दर्भ, प्रयोजन र विकासको स्तर अनुसार गरिबीको मापन गरिन्छ। गरिबी मापनका प्रचलित आधारहरु तथा विधिहरु यी हुन् :

    – आधारभूत आवश्यकताको मूल्य (CBN): यसको लागि प्रतिव्यक्ति प्रतिदिन आवश्यक न्यूनतम् क्यालोरीको पूर्ति गर्न खाद्य खर्च र सोही अनुपातमा गैरखाद्य खर्च गर्नसक्ने गरी ‘आधारभूत आवश्यकताको मूल्यको हिसाब निकालिन्छ र यसैको आधारमा गरिबीको मापन गरिन्छ। प्रतिव्यक्ति प्रतिदिन २२२० किलोक्यालोरी बराबरको पोषणलाई चाहिने खाद्य खर्च र त्यही हिसाबमा आवश्यक गैरखाद्य खर्च गरी औसत रु. १९२६१ प्रतिव्यक्ति प्रतिवर्ष हुने उपभोग खर्च (सन् २०११ को मूल्यमा) लाई आधार मान्ने गरिएको छ।

    – बहुआयामिक गरिबी सूचक (MPI) : संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (अक्सफोर्ड गरिबी तथा मानव विकास प्रयासको मार्गदर्शन अनुसार) विभिन्न तीन समूहका दश सूचकका आधारमा गरिवी मापन गर्ने विधि एमपीआई हो। यसमा शिक्षा आयामका दुई परिसूचक (विद्यालयमा बिताएको औसत वर्ष र विद्यालय उमेरका बालबालिकाको विद्यालयमा हाजिरी), स्वास्थ्य आयामका दुुई परिसूचक (बालमृत्यु र अल्पवजन भएका बालबालिका) र जीवनस्तर मापक ६ परिसूचक (घरपरिवारमा बिजुलीमा पहुँच, शौचालयको सुविधा, बढीमा आधा घण्टाको दूरीमा उपलब्ध सुरक्षित खानेपानीको स्रोत, परिवार बस्ने घरको भित्ता वा भूइँ पक्की, ग्यास वा बिजुलीजस्ता स्वस्थकर खाना पकाउने इन्धन र रेडियो, टीभी, टेलिफोन, साइकल वा मोटरसाइकलजस्ता एकभन्दा बढी घरायसी सुविधाका साधन वा कुनै प्रकारको गाडी) को आधारमा गरिबीको दर र गहनता हिसाब गरी निकालिन्छ। यो आधारभूत आवश्यकता भन्दा माथिको सूचक हो।

    – प्रतिनिधि मान सूचक (PMT) : प्रत्येक घरपरिवारको महत्वपूर्ण परिसूचकहरूमध्ये उपभोग खर्चसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रतिनिधि सूचकहरू र गरिबी मापन सर्वेक्षणबाट प्राप्त परिसूचकहरूको तथ्याङ्कीय विधिबाट संयोजन गरी गरिब घरपरिवारहरूको पहिचान गरिन्छ। गरिबको पहिचान गरी राज्यले प्रदान गर्ने सेवा सुविधा तथा सहुलियतका लागि यो विधि विश्व ब्याङ्कको पहलमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रयोग गरिँदै आइएको छ। यो व्यक्तिको आर्थिक सामथ्र्यको आधारमा उसको योग्यता निर्धारण गरी राज्यले प्रदान गर्नसक्ने सहुलियतको किटानी गर्ने विधि हो। यसले कुनै घरपरिवार तथा व्यक्तिको विशेषता सम्पन्नताको अवस्थासँग कसरी सहसम्बन्ध राख्छ भन्ने विश्लेषण गर्दछ र त्यसैको आधारमा गरिब घरपरिवारको पहिचान गरिन्छ।

    – खाद्य पर्याप्तता (Food Sufficiency) : परिवारमा ३ महिना, ६ महिना, ९ महिना र १२ महिना समूहमध्ये कुन समूहमा परिवार पर्छ भन्ने तथ्य र परिवारको सामाजिक संरचनाका आधारमा गरिब घरपरिवारको वर्गीकरण गर्ने यस विधिलाई गरिवी निवारण कोषले प्रयोगमा ल्याएको थियो।

    – लघु क्षेत्र अनुमान (Small Area Estimation : SAE) : यो उपभोगमा आधारित राष्ट्रिय गरिबीको रेखालाई क्षेत्रीय मूल्य सूचकाङ्कको आधारमा समायोजन गरिएको क्षेत्रीय गरिबीको रेखा (प्रतिव्यक्ति प्रतिवर्ष) अनुरुप गरिबीको निर्धारण गर्ने विधि हो। राष्ट्रिय सर्वेक्षणमा छानिएका घरपरिवारको नमूनाले जिल्ला, इलाका, नगरपालिका वा गाउँ.तहसम्मका विश्वसनीय अनुमानहरू प्रदान गर्नसक्ने बनाउन राष्ट्रिय जनगणना र जीवनस्तर सर्वेक्षणको संयोजनद्वारा लघु क्षेत्र अनुमानको विधिबाट तल्लो तहसम्म गरिबीका विश्वसनीय अनुमानहरू प्राप्त गर्न सकिन्छ।

    – मानवीय गरिबी सूचकांक (Human Poverty : HPI) : यस विधिलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले उपयोगमा ल्याएको हो। यस विधि अनुसार गरिबी मापन गर्दा यी आधारहरु लिइ सूचकांक निर्धारण गरिन्छ : (आयु : ६० वर्षभन्दा कम उमेर बाच्ने जनसख्याको प्रतिशत। साक्षरता : १५ वर्षभन्दा मुनिका बालबालिका जो विद्यालय जादैनन र दैनिक आवश्यकताका लागि सामान्य लेखपढ गर्न सक्तैनन्। जीवनस्तर : गरिबीको रेखामुनि रहेका जनसंख्याको प्रतिशत। औसत आयको ५० प्रतिशत। बञ्चितीकरण : १२ महनिादेखि काम नपाई बेरोजगार रहेका श्रमशक्तिको प्रतिशत।

    – यी बाहेक विश्व वैंकले अल्पविकसित मुलुकका लागि दैनिक १.९० यूएस डलर प्रतिदिन आम्दानीलाई अन्तराष्ट्रिय गरिबी रेखा (IPL) मानेको छ भने न्यूनमध्यम आय मुलकलाई ३.२० अमेरिकी डलर र न्यूनउच्च आय मुलुकलाई ५.५० यूएस डलरलाई गरिबीको रेखा मानेको छ। IPL लाई निरपेक्षा गरिबीको रेखा पनि भन्ने गरिन्छ।

    – नेपालले गरिबी मापन गर्नका लागि आधारभूत आवश्यकता लागतलाई आधार मानेको छ। नेपाल जीवनस्तर सर्वेक्षण २०६७ (NLSS 3) अनुसार १९२६१ लाई राष्ट्रिय गरिवीको रेखा मानिएको छ।

    – चालू पन्ध्रौ योजना तर्जुमा क्रममा पनि तेस्रो जीवनस्तर सर्वेक्षणका समयमा लिइएको आधारलाई प्रवृत्ति विश्लेषण गरी गरिबीको रेखामुनिका जनसंख्या १८.७ भएको निष्कर्ष निकालिएको छ।

    २. आर्थिक बृद्धि भन्नाले के बुझ्नु हुन्छ ? आर्थिक बृद्धिका लागि के कस्ता पूर्वशर्त चाहिन्छ? नेपालको सन्दर्भमा उल्लेख गर्नुहोस्। (५+५) १०

    उत्तर : – अर्थतन्त्रमा सेवा बस्तुको उत्पादन खास अवधिभित्र बढ्न जानु नै आर्थिक बृद्धि हो।

    – आधार वर्षमा भन्दा चालू वर्षमा आर्थिक गतिविधि (लगानी, उत्पादन, रोजगारी आदि) विस्तार भएमा आर्थिक बृद्धि भएको मानिन्छ।

    – उत्पादित सेवा बस्तुको मूल्यलाई मौद्रिक मूल्यमा मापन गरिन्छ।

    – आर्थिक बृद्धिले सेवा वस्तुको उत्पादन बढाउने कुरासँग मात्र सरोकार नराखी उत्पादनस्तर र उत्पादकत्वलाई पनि सरोकार राख्दछ। आर्थिक बृद्धि भन्नाले अर्थतन्त्रको भौतिक परिणामको बढोत्तरी हो।

    – सर्वसाधारणले बुझ्ने भाषामा भन्दा अघिल्लो आर्थिक बर्षका तुलनामा सेवा तथा बस्तुको उत्पादन बढाउनु आर्थिक बृद्धि हो। उदाहरणका लागि गत आर्थिक बर्षमा नेपालको अर्थतन्त्रमा रु ३१०० अर्वको सेवा बस्तु उत्पादन भएको थियो भने यस आर्थिक बर्षमा रु ४१०० अर्वको सेवा बस्तु उत्पादन हुने आँकलन गरिएको छ। यस अर्थमा नेपाली अर्थतन्त्रको आर्थिक बृद्धि सकारात्मक रुपमा भएको छ भन्न सकिन्छ।

    – सर्वसाधारण आर्थिक बृद्धिलाई नै विकासको सूचक मान्ने गर्दछन्।

    – आर्थिक विकासको सवैभन्दा महत्वपूर्ण आधार पनि आर्थिक बृद्धि हो।

    – नेपालजस्तो मुलुकका लागि आर्थिक बृद्धिदर उच्च, फराकिलो र दिगो बनाएर नै गरिबी निवारण गर्न सकिन्छ।

    – कूल गार्हस्थ उत्पादनको बृद्धि कुनैपनि मुलुकको आर्थिक अवस्था सुधारको सवैभन्दा महत्वपूर्ण परिसूचक हो। तर यसले अर्थतन्त्रको गुणत्मकता र सामाजिक न्यायको प्रतिनिधित्व भने गर्न सक्दैन।

    – आर्थिक बृद्धि मापनका तीन बिधिहरु छन्, उत्पदान, उपभोग र लगानी।

    – कुनै पनि अर्थतन्त्रको आर्थिक बृद्धिलाई दुई प्रकारका कारकले प्रभाव पार्दछन्। आर्थिक कारक र गैरआर्थिक कारक। आर्थिक कारकले प्रत्यक्ष्य प्रभाव पार्दछ भने गैरआर्थिक कारक त्यति प्रत्यक्ष नहुन सक्छ।

    आर्थिक कारक

    – प्राकृतिक साधनहरु (जलश्रोत, खनिज, बन जंगल, भूमि)।
    – आर्थिक साधन (बचत, पूजी, आर्थिक मध्यस्थताका सस्ंथाहहरु)।
    – सांगठनिक अवस्था (आर्थिक तथा सामाजिक संगठन जसले उत्पादनका अन्तरसम्बन्ध निर्धारण गर्दछ)।
    – प्रविधि र खोज (नवसिर्जना, अन्वेशण, खोज, आविस्कार, सुधार)।
    – श्रम विभाजन, विशेषज्ञता, उत्पादन परिणाम, बजार अवस्थिति।
    – संरचनात्मक पक्ष (परम्परा÷कृषिबाट आधुनिकीकरण÷औद्योगिकीकरण, श्रममूकलबाट पूजीसघन÷ज्ञानमा आधारित उत्पादन प्रणाली)।

    गैरआर्थिक कारक

    – सामाजिक कारक (आनीवानी, मूल्य, व्यवहार, संस्कृति र परम्परा,मनोविज्ञान जसले उत्पादन प्रणालीलाई प्रभाव पार्दछ)।
    – मानव संसाधन (सीपको स्तर, जनशक्तिको आकार, जनसांखिक संरचना)।
    – राजनैतिक पक्ष (सहभागीता, सुशासन, मानव अधिकार, जवाफदेहिता)।
    – प्रशासनिक कारक (सकारत्मकता, पविर्तनवोध, ग्रहणशीलता, विश्वास, क्षमता)।

    नेपालमा आर्थिक तथा गैरआर्थिक कारक अनुकुल नहुँदा आर्थिक बृद्धि हुन नसकेको अर्थशास्त्रीहरुको विश्लेषण छ।

    साथै आर्थिक बृद्धिका लागि यी पाँच पूर्वशर्तहरुले वातावरण बनाउने गर्दछ :

    – राजनैतिक स्थिरता
    – उच्च तहको बचत र लगानी
    – नीति वातावरण
    – संस्थागत
    – दर्हिलो र कार्यमूलक प्रशासन
    – सामाजिक मूल्य संस्कृति

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal
    New Baneshwor, Shankhamool, Kathmandu
    Contact No. 01-4792427, 9851246100, 9851146100