चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 775 of 1156
  • 2026-11-24
  • 09:51:14
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

प्रचण्डको अभिव्यक्तिमाथि अपव्याख्या भयो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो अभिव्यक्तिबारे संसद्‍मा बोल्ने मौकासमेत नदिई एकपक्षीय रूपमा प्रचारप्रसार गरिएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको छ। बिहीबार प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले विज्ञप्ति सार्वजनिक गर्दै संसद्प्रति जवाफदेही प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न नदिई भनाइको आशयविपरीत प्रचार गर्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन्। प्रेस सल्लाहकार आचार्यले व्यवसायी प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएको बताएका छन्। 'प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०८० असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'सम्मानित संसद्‍बाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसद्प्रति जवाफदेही हुनुहुन्छ। संसद्‍मा प्रष्टिकरणको मौकासमेत नदिई उहाँको भनाइको आशयविपरीत एकपक्षीय ढंगले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण छ। दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट 'केही हुँदैन' भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा 'गरे हुने रहेछ' भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ।' प्रितम सिंहसँग दाहालको पारिवारिक सम्बन्ध रहेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । पुस्तक विमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रूपमा संसद् अवरोध गर्दा मिटरब्याजीहरूलाई कारबाही गर्न ल्याइएको विधेयक संसद्‍बाट पारित नभई निस्क्रिय भएको आचार्यको विज्ञप्तिमा उल्लेख छ । विधेयक पारित हुन नसक्दा मिटरब्याजपीडित लाखौं नेपाली किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको भन्दै प्रधानमन्त्रीको सचिवालयले दुःख व्यक्त गरेको छ। प्रेस सल्लाहकार आचार्यले प्रधानमन्त्री दाहालको राजीनामा माग्नु 'संकुचित राजनीतिक मानसिकता' भएको उल्लेख गर्दै यसले सरकारले चालेका कदमको विरोध र सिंगो संसद्कै अपमान हुने समेत बताएका छन्।

News by प्रचण्डको अभिव्यक्तिमाथि अपव्याख्या भयो : प्रधानमन्त्रीको सचिवालय :