चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1153
  • 2026-11-23
  • 04:03:59
  • आइतबार,मंसिर ०७, २०८३

About Author

अपराधीको डिजिटल निगरानी बढाउँदै प्रहरी, ३५ जनाको प्रोफाइल तयार

वीरगञ्ज — पर्सामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरीले आपराधिक पृष्ठभूमि भएका व्यक्तिमाथि निगरानी बढाएको छ। विगतका घटनामा संलग्नताका आधारमा प्रहरीले ३५ जनाको प्रोफाइल तयार पारेको छ भने एक महिनाको अवधिमा विभिन्न मुद्दाका फरार तथा प्रतिवादी गरी १२२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत कात्तिक महिनामा जिल्लामा विभिन्न प्रकृतिका ११८ वटा अपराधसम्बन्धी उजुरी दर्ता भएका छन्। सो अवधिमा आर्थिक अपराधका घटना सबैभन्दा बढी ४९ वटा रहेका छन्। त्यस्तै, सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीका आठ, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिको विगतको विवरण र घटनामा संलग्नताका आधारमा ३५ वटा प्रोफाइल तयार गरेको हो। अपराध न्यूनीकरण र सम्भावित आपराधिक गतिविधिमाथि निगरानी बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनले बताए। प्रहरीले कात्तिक महिनामा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका ८५ जनालाई समेत पक्राउ गरेको छ। उनीहरूबाट अदालतले ३२ लाख सात हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने फैसला गरेको थियो। यस अवधिमा कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक–एक, बैंकिङ कसुरका १४ तथा ठगी र मुद्रासम्बन्धी दुई–दुई वटा घटना दर्ता भएका छन्। लागुऔषध नियन्त्रणतर्फ प्रहरीले एक महिनामा १४ वटा मुद्दा दर्ता गरी संलग्नताको अभियोगमा १७ जनालाई पक्राउ गरेको छ। पक्राउ तथा अनुसन्धानका क्रममा ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुल पनि बरामद भएका छन्। लागुऔषध दुरुपयोग नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि प्रहरीले ३१ वटा कार्यक्रम सञ्चालन गरी ५१४ जनालाई सचेत गराएको छ। जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले प्रविधिको प्रयोग र निगरानीलाई समेत प्राथमिकता दिएको छ। विभिन्न स्थानमा सिसिटिभी जडान, क्युआर तथा डिजिटल निगरानी, सामाजिक सञ्जालको निगरानी, गोप्य सूचना सङ्कलन र नियमित गस्तीलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै, आकस्मिक घटनामा तत्काल परिचालन हुन मोबाइल क्विक रेस्पोन्स टोली खटाइएको छ। सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै रात्रिकालीन समयमा वरिष्ठ प्रहरी अधिकृतको कमान्डमा चेकजाँच गर्ने व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए। अपराधमा संलग्न व्यक्तिको पहिचान, विगतका गतिविधिको अभिलेख र निगरानीलाई व्यवस्थित गर्दै जिल्लामा सम्भावित आपराधिक घटना न्यूनीकरण गर्ने रणनीतिअनुसार प्रहरी सक्रियता बढाइएको कार्यालयले जनाएको छ।

News by अपराधीको डिजिटल निगरानी बढाउँदै प्रहरी, ३५ जनाको प्रोफाइल तयार :