काठमाडौँ– निजी इन्टरनेट सेवा प्रदायकले सुपथ मूल्यका कम गतिको इन्टरनेट प्याकेज बिक्री बन्द गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले हाल उपलब्ध प्याकेजको मूल्य नबढाउने भएको छ। टेलिकमले ग्राहकलाई दिइरहेका इन्टरनेट प्याकेज निरन्तर सञ्चालन हुने जनाएको छ। इन्टरनेट सेवा प्रदायक संघ नेपालले इन्धन, फाइबर तथा इलेक्ट्रोनिक चिपसेटको मूल्यवृद्धि, मुद्रास्फीति र एआईको बढ्दो प्रयोगका कारण सञ्चालन खर्च बढेको भन्दै गत सोमबारदेखि सस्ता प्याकेज उपलब्ध गराउन नसक्ने घोषणा गरेको थियो। त्यसपछि निजी सेवा प्रदायकका सस्ता प्याकेज बन्द हुँदा उपभोक्तामाझ इन्टरनेट शुल्क बढ्ने चिन्ता देखिएको छ। तर नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले अहिले ग्राहकले प्रयोग गरिरहेका प्याकेज निरन्तर रहने र मूल्य बढाउने योजना नरहेको स्पष्ट पारे। उनका अनुसार टेलिकमले अन्य सेवा प्रदायकको तुलनामा सर्वसुलभ दरमा वार्षिक तथा दुई वर्षे फाइबर इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ। टेलिकमले घरायसी ग्राहकका लागि ५० एमबिपिएस इन्टरनेट एक वर्षका लागि रु. ८ हजार ४९९ र दुई वर्षका लागि रु. १४ हजार ९९९ मा उपलब्ध गराउँदै आएको छ। त्यस्तै, ७५ एमबिपिएसको वार्षिक शुल्क रु. १० हजार ४९९, १०० एमबिपिएसको रु. ११ हजार ४९९, १५० एमबिपिएसको रु. १२ हजार ९९९ र २०० एमबिपिएसको रु. १६ हजार ४९९ रहेको छ। वार्षिक शुल्क एकैपटक भुक्तानी गर्ने ग्राहकले दैनिक ६०० एमबी मोबाइल डाटा निःशुल्क पाउने व्यवस्था रहेको टेलिकमले जनाएको छ। दुई वर्षको प्याकेज खरिद गर्दा वार्षिक प्याकेजको तुलनामा झन्डै १५ प्रतिशतसम्म सहुलियत हुने कम्पनीको दाबी छ। एक महिने र तीन महिने प्याकेजसमेत सञ्चालनमा छन्। टेलिकमका अनुसार गत साउन मसान्तसम्म फाइबर इन्टरनेटका ग्राहक चार लाख दुई हजार ११० पुगेका छन्। हाल फाइबर सेवा ७७ जिल्लाका झन्डै ४०० पालिका तथा पालिका केन्द्रसम्म विस्तार भएको छ। ग्राहकलाई सेवा लिन सहज बनाउन टेलिकमले कार्यालयमै पुग्नुपर्ने बाध्यता हटाएको जनाएको छ। इन्टरनेट जडानका लागि १९८ नम्बरमा फोन गरेर ‘डिमान्ड’ लिन सकिने व्यवस्था गरिएको छ। सार्वजनिक बिदा तथा चाडपर्वमा समेत सेवा सहज बनाउन काउन्टर सञ्चालनमा राखिएको कम्पनीले जनाएको छ। फाइबर सेवा नपुगेका दुर्गम तथा अतिदुर्गम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार भइरहेको टेलिकमले जनाएको छ। कम्पनीका अनुसार एउटै फाइबरमार्फत उच्च गतिको इन्टरनेट, टेलिफोन, टेलिभिजन र मोबाइल डाटासँग जोडिएका सुविधा लिन सकिने भएकाले यसलाई ‘थ्री प्लस वान’ अवधारणामा सञ्चालन गरिएको छ। सेट टप बक्सबिनै स्मार्ट टिभीमा एनटीटिभी: यसैबीच, टेलिकमले एनटी फाइबरअन्तर्गतको एनटीटिभी सेवा थप सहज बनाउन एन्ड्रोइड स्मार्ट टिभीमा सेट टप बक्सबिनै टेलिभिजन हेर्न सकिने सुविधा सुरु गरेको छ। असोज १५ गतेदेखि एन्ड्रोइड टिभीका लागि ‘भर्चुअल सेट टप बक्स’ उपलब्ध गराइएको हो। ग्राहकले गुगल प्लेस्टोरबाट ‘स्मार्ट एनटीटिभी’ एप इन्स्टल गरी आफ्नो एन्ड्रोइड स्मार्ट टिभीमा सेवा प्रयोग गर्न सक्नेछन्। आगामी दिनमा सबै प्रकारका स्मार्ट टिभीमा चल्ने गरी सेवा विस्तार गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ। नयाँ प्याकेज खरिद गर्दा भर्चुअल सेट टप बक्ससहितको प्याकेज लिने ग्राहकलाई रु. एक हजार छुट दिने व्यवस्था गरिएको छ। वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डाटासमेत उपलब्ध हुने टेलिकमले जनाएको छ।


